फौजीलाई के दसैँ के तिहार

किन आउँछ दसैं र तिहार किन बिदा बार
फौजीलाई कुन हो दसैं कुन हो चाड तिहार …

सशस्त्र प्रहरी बल (एपीएफ) का प्रहरी निरीक्षक दीपक कोइरालाको शब्द र सशस्त्रकै डीएसपी गैरे सुरेशको संगीत रहेको यो गीतले हरेक दसैँमा फौजीहरुको चसक्क मुटु छुन्छ । दसैँमा प्रहरीहरुले नपाउने बिदा र ब्यारेकको रमाइलोलाई समावेस गरेर बनाइएको यो गीतले आम सर्वसाधरणको समेत दिल छुन्छ । एक पटक सोचौ न जसले दसैँमा बिदा नपाएर ब्यारेकमै दसैँ मनाउँनेहरुलाई घरपरिवारको यादले कति पिरोल्ला ?

जब महान चाडपर्व नजिकिन्छन् तब फौजीहरुलाई घर जान पाउने हो कि होइन भन्ने कुराले पिरोल्छ । दसैँमा छुट्टी पाएर घर जानेहरुले आफूलाई भाग्यमानी सम्झन्छन् किन भने दसैँमा बिदा धेरैले पाउँदैनन् । मानिसहरु टीका र जमरा लाएर हिँडडुल गर्दा उनीहरुको मन कटक्क खान्छ ।

हो, यतिबेला देश दसैँमय भइसकेको छ । रेडियो, टिभीमा बज्ने मालाश्री धुनले त्यसको छनक दिइसके । घरमा ताल्चा लगाएर धेरैजसो गाउँघरतिर उक्लिसके । सहर सुनसान भइसकेको छ । तर, यही सुनसान सहरमा बढ्न सक्ने आपराधिक क्रियाकलापलाई रोक्न प्रहरीहरु तैनाथ छन् ।

उपत्यका प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार जयराम जमकटेल महान पर्व दसैँमा पनि ड्युटीमा व्यस्त छन् । प्रहरी सेवामा २१ वर्ष बिताइसकेका जमकटेललाई दसैँमा ड्यूटी गर्नु परेको यो पहिलो पटक भने होइन । कुनै कुनै दसैँमा मात्रै बिदा पाएको उनको अनुभव छ ।

‘दसैँमामात्र हैन हामी प्रहरीहरु यस्ता चाडपर्वहरुमा बिदा भन्दा पनि अग्रपङ्तिमा खटिनुपर्छ,’ उनले भने, ‘देशको सेवाका लागि प्रहरीको बर्दी लगाएका कारण बिदा पाइएन भनेर दुखी मन गर्न हुन्न । सबै ब्यारेकहरुमा घरमा मनाएकै जसरी दसैँ मनाउने व्यवस्था मिलाइएको हुन्छ । धेरै दसैँ मैले ब्यारेकमै मनाएको छु ।’
तर, मान्छेको मन नै त हो । वर्षमा दिनको चाडमा परिवारसँग नहुँदाको पीडा त हुन्छ नै । उनलाई पनि सेवा सुरु गरेको केही वर्ष परिवारसँग चाडवाडमा टाढा हुनुपर्दा दिक्क लाग्थ्यो । ‘अब त बानी परिसक्यो,’ उनी भन्छन्, ‘जनताको सेवामा खटिँदा आनन्द लाग्छ ।’

त्यस्तै, प्रहरी सहायक निरीक्षक मिलन थापा मगरको पनि कथा उस्तै छ । उनले नेपाल प्रहरीको सेवा सुरु गरेको ३ वर्ष भयो तर, उनले कुनै दसैँमा पनि छुट्टि पाएका भने छैनन् ।
हाल उनी विशालबजारको प्रहरी वृत जनसेवामा कार्यरत छन् । देश र जनताको सुरक्षाका लागि बर्दी लगाएकोमा उनी गर्व गर्छन् ।

‘टिकाको दिन अरु टिका लगाउने तयारीमा हुँदा आफू कार्यालयका लागि तयार हुनुपर्दा अलि–अलि दुःख त लाग्छ,’ उनले भने, ‘हामीजस्तै प्रहरीले सुरुक्षा नदिए अरु आम जनताहरुले निर्धक्क भएर हिँड्न पाउँदैनन् भन्ने कुराले चित्त बुझाउँछु ।’ फौजी भएपछि दसैँमा मात्रै होइन अरु कुनै चाडपर्वको दिन पनि बिदा पाइँदैन । ‘भर्ती भएको सुरुको वगाए बिदा नपाउँदा त साह्रै दुःख लागेको थियो,’ उनले भने, ‘अब भने बानी परिसक्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?