यस्तो छ सेलिब्रेटी कलाकारको दशैँ योजना

काठमाडौं । दशैँको रौनकले नेपालीलाई ढपक्कै ढाकेको छ, जसरी काठमाडौंलाई वर्षैभरि धूलोले ढाकेको हुन्छ । दशैँको बेलामा कलाकार अझ बढी व्यस्त हुने गर्छन् । जतिसुकै व्यस्त हुँदा पनि कलाकारले दशैँका लागि आफ्नो समय छुट्याएका हुन्छन् । दशैँलाई सक्दो स्मरणीय बनाउने प्रयास गरिरहेका हुन्छन् । यसैबीच हामीले केही कलाकार तथा सेलिब्रेटीलाई दशैँ कसरी मनाउँदै हुनुहुन्छ? भनेर सोधेका थियौँः

स्वस्तिमा खड्का, नायिका

ठूलोबाट टीका थापी आशीर्वाद लिएर र सानोलाई टीका लगाइदिएर दशैँ मनाउने गर्छौँ । यसपटक चाहिँ फिल्म पनि दर्शकमाझ आएर दशैँ विशेष बनेजस्तो लागेको छ ।

दशैँ अरु बेलाजस्तै हुन्छु । यसपालिको दशैँ चाहिँ केही फरक हुँदैछ । फिल्मको कामले व्यस्तताले घटस्थापना पनि भुलेछु । यसपालिको दशैँ जय भोलेमय भएको छ । जय भोलेलाई एकदमै समय दिएको छु । एउटा फिल्मलाई समय दिनुपर्छ ।

दशैँको बारेमा केही भन्नुपर्छ भन्ने लाग्दैन । दशैँ आउनेबित्तिकै फरक अनुभूति हुन्छ ।

अनुपविक्रम शाही, अभिनेता

दशैँको रमाइलो पक्ष चाहिँ के लाग्छ भने दशैँमा दाजुभाइदेखि सबै आफन्तसँग भेट हुने मौका पाइन्छ । यो क्षण मलाई निकै रमाइलो लाग्छ । बच्चामा चाहिँ उत्तिकै चंगा उडाइन्थ्यो । अहिले चाहिँ आकाशमा एकदम कम देखिन्छ । सानो हुँदा दश रुपैयाँ पाइन्थ्यो । त्यो पैसा जम्मा आफूलाई मन लागेको किनिन्थ्यो । लङ्गुर बुर्जा चाहिँ एकदमै कम खेलाइन्छ ।

पहिलेजस्तो थियो, चंगा चेट हुन्थ्यो । त्यस्तो अहिले छैन ।

दशैँको रौनक कम हुँदै गएको हो कि भन्ने लाग्छ । मलाई बलि प्रथामा पनि विश्वास गर्दिन । आफूले काटमार चाहिँ गर्दिन ।

सौगात मल्ल, अभिनेता

अहिले फिल्म ‘जय भोले’ कै प्रचारमा व्यस्त छु । तर दशैँमा चाहिँ म पनि दशैँमा घर जाँदैछु । दशैँको बेलामा हामीले गाउँ परासीमा रमाइलो गर्छौँ । दशैँमा रमाइलो गर्ने आ–आफ्नो तरिका हुन्छ । विचार गरेर अरुलाई र आफूलाई हानी नहुने गरी दशैँ मनाउन सबैलाई अनुरोध गर्छु । अहिले भने आशीर्वाद नै दशैँमा ठूलो कुराजस्तो लाग्छ । अहिले ठूलो हुँदै गएपछि दशैँमा भेटघाट र आशीर्वाद ठूलो लाग्छ । यसपटक पनि दशैँको बेला पारेर भेटघाट र रमाइलो गर्नेछु ।

अहिले मलाई कपडामा पनि नयाँ लगाउने भन्ने लाग्न पनि छोड्ने आशीर्वाद चाहिँ महत्त्वपूर्ण लाग्छ । नेपाली अहिले त्यति खुशी हुनुहुन्न झैँ लाग्छ । यसपालिको दशैँमा सबैलाई सुख र शान्ति दिओस् ।

वर्षा राउत, नायिका

यसपटकको दशैँमा परिवारसँग जन्मघर सिन्धुली जाँदैछु । दशैँमा खासै विशेष त केही पनि छैन । तर आफन्तको हातबाट टीका ग्रहण गरेर रमाइलो चाहिँ गर्छौँ । काठमाडौंमै जन्मे हुर्केको भएर सिन्धुलीमा मेरो कोही साथी छैन । त्यसैले पनि त्यहाँ औपचारिकता जस्तो हुन्छ । घुम्ने या अरु गर्ने भन्ने हुँदैन । पोहोर साल जुठा परेको थियो । यसपालि सिन्धुलीबाट टीकाको भोलिपल्ट काठमाडौं फर्केर साथीहरुसँग कतै घुम्न जाने योजना बनाएका छौँ ।

हरिवंश आचार्य, वरिष्ठ अभिनेता

दशैँमा रमाइलो हुन्छ । गरिन्छ । उमेरले पनि ठूलो भएकाले मकहाँ धेरै टीका लगाउन आउनुहुन्छ । म पनि टीका थाप्न जान्छु । हाम्रो घरमा काटमार गर्न मिल्दैन । बरु मासु किन्छौँ । परिवारसँग रमाइलो गर्ने हो । दशैँमा जे होस्, रमाइलो हुन्छ ।

केकी अधिकारी, नायिका

यसपटकको दशैँमा टीका चाहिँ छैन । काठमाडौंमै हुन्छु । दशैँको छुट्टै किसिमको महत्त्व हुन्छ । हरेक कुराले दशैँलाई स्पेशल बनाएको हुन्छ । दशैँमा रमाइलो लाग्छ । तर, यसपटक चाहिँ हामीले दशैँ मनाउँदैनौँ ।

कोमल वली, गायिका/राष्ट्रियसभा सांसद

अहिले व्यस्तता अलिक बढी नै छ । यतिबेला भने दशैँकै सिलसिलामा जन्मघर दाङ आएकी छु । दशैँ मेरा लागि पनि विशेष रमाइलो लाग्ने चाड हो । अहिले त्यति फुर्सद नपाएकाले साथीहरुसँग भेट्ने अवसर पनि दशैँले जुराएको छ । दशैँको टीका थापेर अर्को दिन चाहिँ काठमाडौं फर्कर्ने योजना छ ।

खड्ग गर्बुजा, लोकगायक

मेरा लागि चाहिँ दशैँ सामान्य हो । यो दिन मलाई खासै विशेष दिन लाग्दैन । घरमै बस्छु । कतै निस्कन्न । बुबा र मलाई सम्झेर कोही घर आयो भने टीका लगाइदिन्छौँ । बरु अफिसले दिएको पाँच दिन विदा मनाएर घर नै बस्छु । बुबाले मलाई सेतो टीका लगाइदिनुहुन्छ । मेरो लागि दशैँ खासै ठूलो चाडजस्तो लाग्दैन ।

नवल खड्का, कलाकार

दशैँ मेरा लागि विशेष पर्व हो । फिल्मको लोकेशन हन्टका कारण केही व्यस्त भए पनि दशैँमा आफन्तबाट टीका थाप्ने योजना छ । ससुराली पनि जान्छु । जे होस्, दशैँलाई स्मरणीय बनाएर मनाउने योजना छ ।

माधव वाग्ले, फिल्म निर्माता

यसपटक दशैँ नमनाउने योजना बनाएको छु । मन नै खुशी नभएपछि दशैँ मनाउन मन नलाग्ने रहेछ । मेरो जिन्दगीमा नराम्रो घटना घट्यो, जसका कारण मलाई अहिले दशैँ मनाउन मन लागेन । नेपालीको प्रहरी प्रशासन हो । जति बेला पनि बोलाउन सक्छ । जिन्दगीको सबैभन्दा नरमाइलो दशैँ यही हुने भयो ।

(माधव वाग्ले नक्कली नोट प्रकरणमा प्रक्राउ परेर धरौटीमा रिहा भएका छन्, उनीमाथि अहिले पनि मुद्दा चलिरहेको छ ।)

निखिल उप्रेती, नायक

दशैँमा खासै त्यस्तो केही योजना छैन । म शाकाहारी भएकाले पनि दशैँ मलाई खासै लाग्दैन । पेटमा समस्या देखिएकाले यो दशैँमा घरमै बस्छु जस्तो छ । अरुबेला झैँ टीका र जमरा लगाउन र बुबा–आमाको आशीर्वाद लिन दशैँमा सर्लाही जाने योजना चाहिँ छ । नयाँ फिल्मको पनि योजना बनाइरहेको छु ।

सीताराम कट्टेल (धुर्मुस), हास्यकलाकार, अभियन्ता

गएका दुई वर्ष जुठा परेकाले दशैँ मनाउन पाइएन । यसपटक चाहिँ काठमाडौंमा सबै परिवार जम्मा भएर दशैँ मनाउने योजना बनाएका छौँ । पहिले जन्मघर झापा गएर उतै मनाउने चलन थियो । यसपालि भने यतै मनाउने कि भनेर काठमाडौं नै मनाइने भइयो । यो बाहेक खासै त्यस्तो ठूलो योजना चाहिँ केही छैन । घरमा प्रायः सबैले मासु खान्छन् ।

मासु खाने, टीका लगाउने, घरका सबै परिवार बसेर दशैँ मनाउने योजना छ । परिवारसँगै रमाइलो गर्ने योजना छ ।

पूजा शर्मा, नायिका

दशैँ यस्तै हो । आफूभन्दा ठूलासँग गएर टीका लगाउने योजना छ । यसपालि पनि दशैँ मान्न सिन्धुपाल्चोकको गाउँ पुग्छु । बरु टीकाको अर्को दिन परिवारसँग बैंकक घुम्न जाने योजना बनाएका छौँ ।

आस्था राउत, गायिका

भएभरका कार्यक्रम यही दशैँको बेलामा आइदिन्छन् । एक्लो ज्यान कताकता पुग्नु? यसपटक नयाँ ठाउँमा पुगौँ भनेर रौतहट र धनुषा गरी दुई ठाउँमा कार्यक्रमका लागि जाँदैछु । दशैँको दिन हामीले टीका लगाउनु हुँदैन । हजुरआमा बितेकाले दशैँ केही खल्लो भएको छ । तर, दशैँको दुई दिनपछि चाहिँ हामीले टीका लगाउँछौँ होला । केही वर्ष भयो, टीका लगाउन पाएका छैनौँ । हजुरबुबा–हजुरआमा नभएपछि दशैँ पहिलेभन्दा यसै खल्लो हुने रहेछ ।

अभिमन्यु निरवी, लेखक

सधैझैँ यसपटक पनि दशैँमा हेटौँडा जान्छु । झण्डै एक हप्ता हेटौँडामै साथीहरुसँग भेटघाट हुन्छ । रमाइलो हुन्छ । यसपटक मेरो आफ्नै स्किृप्टका लागि पनि गाउँमा भएको बेला अध्ययन गर्नुपर्ने छ । यही स्किृप्टका लागि गाउँमा केही व्यक्तिलाई भेट्नु पनि छ ।

आलोक श्री, संगीतकार

यसपटक मैले दशैँ मान्दिन । बुबा–आमा बित्नुभएकाले दशैँ मनाउन मिल्दैन । काठमाडौंमै हुन्छु । त्यस्तो केही योजना छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?