ललितपुर महानगरपालिकाले पाँच ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । 

महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल युथ क्लब र च्यासल युथ क्लबलाई वार्षिक चार लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको महानगरका सूचना अधिकारी रुद्र गौतमले जानकारी दिए । 

त्यसैगरी जिल्लाका ‘बी’ डिभिजनका क्लबलाई वार्षिक ३ लाख र ‘सी’ डिभिजन क्लबलाई वार्षिक दुई लाख उपलब्ध गराउने निर्णय महानगरले गरेको उनले जानकारी दिए । 

नगर परिषद्को बैठकले फुटबल विकासमा लागेका शीर्ष डिभिजनका क्लबलाई आर्थिक सहयोग गर्न प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई महानगरको बोर्ड बैठकले पारित गरेको हो । त्यसैगरी जिल्लाका ‘ए’ डिभिजन क्लबहरुले राष्ट्रियस्तरको कुनै पनि प्रतियोगिता जिते उपाधि पिच्छे थप चार लाख महानगरले उपलब्ध गराउनेछ । 

बोर्ड बैठकले थ्रीस्टार क्लबलाई २८ लाख आर्थिक सहयोग समेत उपलब्ध गराउने निर्णय गरेको छ । गत वर्ष सात वटा प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै महानगरले प्रत्येक उपाधि बापतको चार लाखका दरले २८ लाख क्लबलाई दिने निर्णय गरेको हो ।

यसअघि काठमाडौँ महानगरले जिल्लाका ६ वटा ‘ए’ डिभिजन क्लबलाई वार्षिक १० लाख दिने यसअघि नै घोषणा गरिसकेको छ । 

फुटबलको विकासका लागि स्थानीय तहहरुले अग्रसता देखाउनु सकारात्मक भएको बताउँदै एन्फा महासचिव इन्द्रमान तुलाधरले भने, “खेलकूदको विकासका लागि राजनीतिक अग्रसरता हुनु सरहानीय छ ।” 

सहयोग बढाउँदै लैजान्छौँ– महानगर प्रमुख महर्जन 

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फुटबलको विकासका लागि महानगरले सहयोग उपलब्ध गराएको बताए ।

“खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्सहानका लागि नगरसभाबाट पारित गरी हामीले सहयोग उपलब्ध गराएका हौँ, सहयोगले फुटबलको विकासमा लागि मद्दत पुग्छ ” उनले थपे ।  

अहिले ए डिभिजन लिगसमेत शुरु भएको बताउँदै उनले महानगरको सहयोगले ती क्लबलाई लिगमा सहभागिता जनाउन थप सहज भएको प्रतिक्रिया दिए । 

 लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा राजनीति र खेल क्षेत्र टाढा भएको बताउँदै अबका दिनमा सहयोग निरन्तर जारी रहने महानगर प्रमुख महर्जनले बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?