पोखरा प्रिमियर लिग  ‘पिपीएल’लाई ग्राण्डी अस्पतालको साथ

काठमाडौं ।  क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा.लिको आयोजनामा हुने पोखरा प्रिमियर लिग ‘पिपीएल’ टी–२० क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल रहने भएको छ । 

आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि आयोजित कार्यक्रममा आयोजक क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामा र ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । 

सम्झौताअनुसार उक्त अस्पतालले ‘पिपीएल’का लागि आवश्यक पर्ने चिकित्सकसहित फिजियोथेरापिस्टका साथै खेल सञ्चालन हुने मैदानमा पनि स्वास्थ्यकर्मीसहित औषधि र अन्य उपकरण उपलब्ध गराउनेछ । 

उक्त अस्पतालका मेडिकल डाइरेक्टर डा पाण्डेले विगत लामो समयदेखि आफूहरूले घाइते खेलाडीको उपचार गर्दै आएको र पिपीएलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । 

आयोजक क्विन्सका प्रबन्ध निर्देशक लामाले क्रिकेट खेलाडीको उपचारमा उक्त अस्पतालले उल्लेखनीय सहयोग गरेको बताए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ‘कप्तान’ पारस खड्काले ग्राण्डी अस्पतालले लामो समयदेखि राष्ट्रिय टोलीका खेलाडीको सफल उपचार गरी खेल मैदानमा फर्काउन सफल भएको बताए । 

उक्त प्रतियोगितामा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?