दशैँको समयमा पूरै मुलुक यसको चहल–पहलमा रमाउँछ । काठमाडौंमा भएकाहरु पनि घर र्फकने क्रम जारी छ । विदेशमा भएकाहरु पनि दसैंको लागि भनेर स्वदेश र्फकने गरेका छन् । दशैँको बेलामा गाउँघर मुस्कुराए जस्तै देखिन्छ । गाउँको चौतारीमा बुढाबुढिको हाँसोमा लोली मिलाउनको लागि युवाहरु पनि चङ्गसहित पुग्छन् । चौरमा केटाकेटिहरु दौडिरहेको दृश्यले पनि मनमा छुट्टै खुसी मिल्छ । त्यसै पनि रमाइलो यो चाडलाई अझ रमाइलो बनाएका हुन्छन् विभिन्न थरीका परिकारले । अरू बेला जति मासु खाए पनि दशैँमा मासुको विशेष महत्व छ । दशैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु पनि छन् ।
यो सबैको घरमा बोका, बंगुर, बँदेल वा राँगा बलि दिने अर्थात् मार हान्ने विशेष अवसर पनि हो । मासुका विभिन्न परिकार अचार, चिउरा अनि विभिन्न पेय पदार्थहरू दसैंमा बढी खपत हुन्छन् ।
दशैँमा हामी अरू बेलाभन्दा अलि बढी मासु खान्छौं साथै हिजोआज धेरैले मासुसँग अल्कोहलजन्य पेय पदार्थ पनि लिन्छन् । अत्यधिक मासु, अचार तथा चिल्लो–पिरो र त्यसमाथि मद्यपान एवम्ं धूम्रपान गरिने भएका कारण दसैंमा स्वास्थ्य समस्या पनि उत्पन्न हुन सक्छ, जसका विषयमा सबैजना सचेत हुनु आवश्यक छ ।
मासुलाई राम्रोसँग पकाउन जानेमा सबै भिटामिन सुरक्षित हुन सक्छ । मासु प्रोटिनको राम्रो स्रोत हो । प्रोटिन, फलाम र फस्फोरस जस्ता खनिज तत्व पनि पाइन्छ । भिटामिन बी समुह फायमिन, नायोसिन र रिपोफेविन पाइन्छ । मासुलाई राम्रोसँग संरक्षण गर्न जानेन भने भिटामिन बी नष्ट हुन सक्छ तर प्रोटिन भने नष्ट हुँदैन । कलेजोमा फलाम र कार्बोहाइड्रेट पाइन्छ । हड्डीमा क्याल्सियम पाइन्छ । मासु गलाएर पकाएको खण्डमा क्याल्सियम पनि पनि प्राप्त हुन्छ । मासुको कुुर्कुरे हड्डीमा क्याल्सियम पाइने हुनाले हड्डीसहित गलाएर पकाउनु राम्रो मानिन्छ ।
मासु कसरी पकाउने ?
ताजा मासुलाई राम्रोसँग पकाउनु उत्तिकै आवश्यक छ । मासु टुक्रा पार्नुभन्दा अघि नै पखाल्नुपर्छ । टुक्रा पारेपछि सकेसम्म पखाल्नु हुँदैन । टुक्रा पारेर पखाल्दा मासुको स्वाद र भिटामिन खेर जान्छ । मासु आफै चिल्लो हुने भएकोले कम तेल राखेर सानो तापमा बिस्तारै छोपेर पकाउनु पर्छ । मसला ठिक्क राखेर पकाएको मासु स्वस्थ मान्छेले दैनिक ६० ग्राम मात्र खानु उचित मानिन्छ । चाडपर्वको बेला मात्र खानेले भने २ सय ग्राम सम्म खाँदा असर गर्दैन । शारीरिक श्रम गर्नेले भने ९० ग्राम सम्म खान सक्छन् । मिर्गौला, मुटु, कलेजो, मधुमेहका दीर्घरोगीले भने मासु सकेसम्म अत्यन्त कम खानु पर्छ ।
मासुलाई कसरी स्वास्थ र सुरक्षित राख्ने ?
हामीले खाने मासु आफैँमा स्वस्थ भएन भने हामीलाई विभिन्न रोग लाग्न सक्छ । मासु विभिन्न कारणले अस्वस्थ हुनसक्छ । उचित तरिकाले नपकाउँदा वा सुरक्षित र व्यवस्थित ढंगले नराख्दा पनि मासु बिग्रन सक्छ । र विभिन्न जीवाणु, विषाणुले मासु कुहिने सम्भावना बढि हुन्छ ।
सफा र स्वच्छ वातावरणमा पशुवध गरिएन र तयार मासुलाई सही ढंगले राखिएन भने कुहिन, बिग्रन सक्छ ।
मासु काट्ने औजार, वधस्थल, मासु काट्ने मानिस पनि सफा हुनु अत्यन्त जरुरी हुन्छ । मासुलाई लामै समयसम्म पनि सुरक्षित रूपमा सञ्चय गर्न सकिन्छ । तर, अनन्तकालका लागि भने होइन । मासुलाई जिरो डिग्री फरेनहाइट वा त्योभन्दा कम तापक्रममा राखियो भने सुरक्षित हुन सक्छ । यस अवस्थामा मासुजन्य तन्तुमा हुने सबैखाले गतिविधि निष्क्रिय पार्छ र मासुको गुणस्तर बिग्रन पाउँदैन । यसरी चिस्याएर राखेको मासु बासीजस्तो पनि लाग्न सक्छ । तर, स्वस्थ भने हुन सक्छ । फेरि पनि मासुलाई अलि बढी तापक्रममा प्रेसर कुकरमा पकाउँदा राम्रो हुन्छ ।
बिग्रेको मासुमा देखिने लक्षण
मासु सञ्चय गर्दा उपलब्ध अक्सिजनका आधारमा मासुको स्वरुपमा आउने परिवर्तन अनुसार मासु बिग्रेको थाहा पाउन सकिन्छ । अक्सिजन उपलब्ध भएको अवस्थामा जीवाणुको विकास हुन्छ । जसले मासु चिपचिपे बनाउँछ, मासुको रंग स्वाभाविक नभएर फिक्का वा कालोनीलो बनाउँछ, गन्धमा फरक आउँछ, बोसो पग्लग्छ । त्यस्तै, अक्सिजन उपलब्ध नहुँदा पनि बाँच्न सक्ने जीवाणुले मासु बिगार्न सक्छ । यस्तो मासु प्रयोग गर्नुहुँदैन ।
मासुको बढी प्रयोगले के कस्ता समस्या आउन सक्छ ?
मासुको बढि प्रयोगले युरिक एसिडको समस्या आउँछ । रेडमिटले त क्यान्सर नै बनाउन पनि सक्छ । रातो मासुले नकारात्मक नै असर गर्छ । बोसो तथा छालारहित मासु खाने गरेमा हानी कम हुन्छ । बध गर्नासाथ मासु पकाएर खानु पनि उपयुक्त होइन । रगत पकाएर रक्ती बनाएर खाने चलनलाई पनि त्यति उपयोगी मानिदैन । यस्तो मासुको प्रयोगले खाएको केही समयभित्र नै झाडापखाला चल्ने, अपच हुने, ग्याट्रिक बढ्ने समस्या हुन सक्छ । मासुबाट रोगहरु सर्न सक्ने कुरामा सधैं सचेत हुनुपर्छ ।
कस्तो मासु नखाने ?
त्यसको क्वालिटी कस्तो छ नहेरी मासु प्रयोग गर्दा शरीरले दुःख पाउँछ । बजारमा बेच्न राखिएको मासु हल्का गुलावी रंगको छ भने त्यसमा खराबी छ भन्ने बुझ्नु जरुरी छ । अनि मासु हरियो तथा प्याजी रंगको भएमा त्यो खान अयोग्य भईसक्यो भनेर बुझ्नु पर्छ । मासुबाट अमिलो, बिग्रिएको, नमीठो गन्ध आएको छ भने त्यस्तो मासु खानु हुँदैन, पसलमा झुण्ड्याएर खुल्ला रुपमा राखिएको मासुमा पनि व्याक्टेरियाको संक्रमण हुन्छ । दशैंको लागि खसी किन्दा पनि सिंगान बगेको, मेडिकल डक्टरले स्वस्थ्य छ, भनेर चिन्ह नलगाएको अस्वस्थयकर हुन्छ ।
मासु बढी मात्रामा खानु स्वास्थको हिसाबले राम्रो मानिँदैन । नियमित रुपमा अधिक मासु खाएमा त्यसको असर तुरुन्त नदेखिए पनि पछि गएर पाचन प्रणाली, मुटु, मिर्गौला, कलेजोको रोग लाग्ने चिकित्सक बताउँछन् । रातो मासुमा कोलेस्ट्रोल हुने भएकोले खसी, रांगो जस्ता रातो मासुहरु सकेसम्म कम प्रयोग गर्नुपर्छ ।
चिकित्सकहरु पनि दशैँको बेलामा खानपानको विशेष ध्यान दिन आग्रह गरेका छन् । दशैँको बेलामा खानपिनमा ध्यान नदिएका कारण सयौं व्यक्ति अस्पतालको बेडमा पुग्ने गरेको पाइएको छ । चिकित्सक पनि रमाइलो र भेटघाट छाडेर बिरामीका जिज्ञासा र अस्पतालबाट आउने बोलावटले हैरान बन्ने गरेका छन् ।
स्वस्थ्य रहनुस् व्यस्त रहनुस् ।
दशैँको शुभकामना !!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया