काठमाडौं । आगामी मंसिर पहिलो साताबाट काठमाडौंमा पहिलो राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता तीन दिनसम्म चल्ने सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै बक्सिङ संघका अध्यक्ष राम अवालले जानकारी दिए । साथै, उनले पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताले प्रतिभावन खेलाडीको उदय हुने बताए ।
नोभिस प्रतियोगितामा यसअघि औपचारिक बक्सिङ प्रतियोगिता नखेलेका महिला र पुरुष खेलाडीहरुले सहभागी हुन पाउने छन् । प्रतियोगितालाई यू–१९ र यू–२२ वर्षमुनि गरी दुई उमेर समुहमा विभाजन गरिएको छ । यू–१९ वर्षमुनिको महिला र पुरुषतर्फ ५/५ वटा तौल समुह रहेका छन् ।
महिलातर्फ ४८ केजी, ५१ केजी,५४ केजी,५७ केजी र ६० केजी तौल समूह समावेश गरिएको छ । त्यस्तै पुरुषतर्फ ४९, ५२, ५६, ६० र ६४ केजी तौल समूह रहेका छन् । यु–२२ वर्षमुनिको महिलातर्फ ६ वटा र पुरुषतर्फ ८ वटा तौल समुह रहेका छन् ।
महिलातर्फ ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी ६० केजी र ६४ केजी तौल समूह समावेश गरिएको छ । यू–२२ वर्षमुनीको पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजी तौल समावेश गरिएको छ । संघका वरिष्ठ उपाध्यक्ष अर्जुनवहादुर केसीले देशभरबाट लगभग १ सय ८० खेलाडीको सहभागिता रहने जानकारी दिए ।
महिला र पुरुष यु–१९ तथा महिला र पुरुष यु–२२ गरी ४ वटै उमेर समुहमा टिम च्याम्पियन ट्रफी प्रदान गरिने प्रतियोगिता संयोजक केसीले जानकारी दिए ।
प्रतियोगिताको लागि अनुमानित बजेट २२ लाख ११ हजार रहेको केसीले बताए । पत्रकार सम्मेलनमा बडा दशैंको शुभकामना आदान–प्रदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
सो अवसरमा बक्सिङका भिष्मपितामह सुरेश सिंह आले, राखेप पुर्व सदस्य नारायणप्रसाद पौडेल, बक्सिङका अग्रज मथुरा दास नेवा, मुवाथाईका अध्यक्ष नवराज भण्डारी, हप्कीडोका अध्यक्ष कालीवहादुर घर्तीलगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया