प्युठानमा पत्रकार र वडा अध्यक्षबीच स्वर्गद्वारी नगरपालिका भित्रै हातपात

प्युठान । प्युठानमा पत्रकार र वडा अध्यक्षबीच हातपात भएको छ । 

सोमबार दिउँसो ३ः३० बजे स्वर्गद्वारी नगरपालिका भित्रै स्वर्गद्वारी माडी मिडिया ग्रुप प्रा.लिका अध्यक्ष तथा माडी अबर साप्ताहिक पत्रिकाका सम्पादक केन्द्र प्रकाश विक र स्वर्गद्वारी नगरपलिका वडा नं. ७ का वडा अध्यक्ष टेकबहादुर भट्टराईबीच कार्यकक्षमै हातपात भएको हो । 

विकको टाउकोमा र भट्टराईको अनुहारमा चोट लागेको छ । 

विक विप्लव नेतृत्वको क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य समेत हुन भने भट्टराई तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष जितेका थिए । 

उपचारका लागि पत्रकार विक सोमबार राति नै बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचार गराउन पुगेका थिए भने वडा अध्यक्ष मंगलबार बिहान मात्रै उपचारको लागि बुटवल पुगेका थिए । 

त्यस्तै सोमबार नै क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष डिल्लीराज रावतले विज्ञप्ति जारी गर्दै घटना प्रति गम्भिर ध्यानाकषर्ण भएको बताए । 

रावतले जारी गरेको विज्ञप्तिमा विकमाथि वडा अध्यक्षले खुकुरी प्रहार गरेको आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी निर्मल बुढाथोकीका अनुसार स्वर्गद्वारी नगरपालिकाको गिट्टी बालुवाको टेन्डरमा कमिसनको विषयमा कुरा नमिलेपछि दुवैबीच कुटाकुट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?