वर्षा र हिमपातले जोखिम बढ्ने भन्दै पदमार्गबाट फर्किन थाले पर्यटक

लोकपथ
35
Shares

लमजुङ । वर्षा र हिमपातपछि अन्नपूर्ण पदमार्गमा पुगेका पर्यटक फर्किन थालेका छन् । वर्षा र हिमपात भइरहेको समयमा पदमार्ग जाँदा जोखिम बढ्न सक्ने भन्दै स्वेच्छाले र केही एक्यापको आग्रहमा फर्किएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार याकखर्क, मनाङ, पिसाङ, चामेलगायतका ठाउँमा रहेकाहरू फर्किएका छन् । एक्यापका अनुसार शुक्रवार २० जनाले जानकारी गराएर जिल्ला छाडेका छन् । शनिवार १५ जना फर्किएका छन् । मौसमले साथ नदिएकाले माथिल्लो क्षेत्र जान जोखिम हुने भन्दै पर्यटकलाई एक्यापले सचेत गराएको छ । कति एक्यापको अनुरोधलाई नमानी आफू खुसी पनि माथिल्लो क्षेत्र पुगेका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार पर्यटकीय सिजनको समय पर्यटक आउने र यो समय जोखिम भएकाले सचेत रहन अनुरोध गरिएको छ ।

हिउँ र बर्सातलाई ख्याल गरी मौसम, बाटोको अवस्था पूर्व जानकारी लिएर मात्र सुरक्षित साथ यात्रा गर्न अनुरोध गरिएको छ भने वर्षा भइरहेकाले नदी तटमा रहेका बस्तीका बासिन्दालाई पूर्व सावधानी एवम् सतर्कता अपनाउन, कोही पर्यटक कतै अलपत्र अवस्थामा रहेको भए तत्काल नजिकको प्रहरी कार्यालय वा एक्याप, एक्यापको चेकपोस्टमा खबर गर्न भनिएको छ ।

एक्याप मनाङका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार मौसम प्रभावित भएपछि पदमार्ग आएका पर्यटक फर्किएका छन् । शुक्रवार १०० जना जति र शनिवार १५० जना जति फर्किएको बताए । कतिपय ठाउँमा पहिरो गएर बाटो बिग्रेको र धेरै ठाउँमा जोखिम भएकाले पर्यटक फर्किएका हुन् ।

याकखर्क, मनाङ, पिसाङ, चामे, दानाक्यूबाट पनि पर्यटक फर्किएका छन् । केही पैदल हिँडेर फर्किएका छन् । केही हेलिकप्टरमार्फत फर्किएको बताए । जोखिमका बाबजुद पनि पदमार्गमा पर्यटक आइरहेका छन् ।

लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुङ्गिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?