केराखेतीप्रति किसानको बढ्दो आकर्षण

भीमदत्तनगर ।  झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै सफल केरा उत्पादक किसानमा पर्दछ । 

नगदे बालीका रुपमा २०५२ सालबाट साउँदले केरा खेतीलाई निरन्तरता दिँदै आएका छन् । “सजिलो र आम्दानीको राम्रो स्रोत बनेपछि केरा खेतीलाई नै व्यावसायिक बनाउदै लगेँ”, किसान साउँदले भने, “केरा खेतीबाट नाम र दाम दुबै पाउन सफल भएको छु ।” 

एक कठ्ठाबाट केरा खेती थालेको उनले हाल १५ बिगाहा जमीनमा व्यावसायिक केरा खेती गरिरहेका छन् । “अहिले जमीन लिजमा लिएर पनि केरा खेती बढाउँदै लगेको छु”, साउँदले भने “केरा खेती गर्ने विभिन्न प्रविधि र तरिकालाई पनि आत्मसात् गर्दा राम्रो परिणाम आएको छ ।” 

उनले करीब पाँच बिगहा जमीनमा थोपा सिँचाइ प्रणाली ‘इजरायली प्रविधि’ र दश बिगहामा गरी १५ बिगहा जमीनमा केरा खेती गरिरहेको छ । केरा खेतीबाट आफूले वैदेशिक रोजगारीको भन्दा राम्रो आम्दानी गरेको बताउँदै उनले खेती किसानमा ध्यान दिए घर छाड्नु नपर्ने धारणा राखे । 

केरा खेतीको खर्च कटाएर वार्षिक १० लाखदेखि १५ लाखसम्म आम्दानी भइरहेको साउँदको भनाई छ । 

“केरा खेती गर्ने जिल्लाभरका किसान सङ्गठित भएर सहकारीसमेत सञ्चालनमा ल्याएका छौँ”, उनले भने “सहकारीमा जिल्लाभरका ५ सय ५० जना केरा खेतीमा आवद्ध किसान छन् ।” कञ्चनपुरमा हाल ४ सय  हेक्टरमा केरा खेती हुँदै आएको छ। 

इजरायलको थोपा सिँचाइ प्रणालीबाट भीमदत्तनगरपालिका, कृष्णपुर र पुनर्वास नगरपालिकामा किसानले केरा खेती शुरु गरेका छन् । त्यसैगरी भीमदत्तनगरपालिका–१० तिल्केनीकै किसान पार्वती साउँद पनि सफल केरा खेती गर्ने किसानमा आउँछिन् ।

२०५४ सालबाट केरा खेती थालेकी उनी धान, गहुँ खेती छाडेर केरा खेतीमा लागेको बताए । 

“धान, गहुँभन्दा त केरा खेतीमा बढी मुनाफा रहेछ”, उनले भने, “केरा बिक्रीबाटै घर खर्चका साथै छोरा÷छोरीका लागि अध्ययन खर्च जुटाउँदै छु ।” उनले केरा खेतीबाट भएको आम्दानीले छोरीलाई वैदेशिक अध्ययनका लागि डेनमार्क पठाएको पनि उनले स्मरण गरे । 

केरा खेतीमा उनलाई श्रीमान्ले समेत सघाएका छन् । “दुवै जना खेतीमै लागेर खर्च चलाएका छौँ”, उनले भने “मेहनतअनुसारको फल पाएकै छौँ ।” कृषिलगायतका सम्बन्धीत सरकारी निकायबाट विभिन्न उपकरणसँगै अनुदानसमेत मिलेकाले खेतीमा थप सहजता थपिएको पार्वती साउँदको भनाई छ । 

जिल्लामा केराको उत्पादन बढिरहेको छ तर बजारको समस्या यथावत रहेको गुनासो किसानको छ । 

थोपा सिँचाइ प्रविधिले सहजता ल्याइयो 

व्यावसायिक केरा खेती होस् वा तरकारी खेती, थोपा सिँचाइ प्रणालीले कृषकलाई व्यवसायमा सहज बनाएको छ । 

थोपा सिँचाइ प्रविधि अर्थात् इजरायली प्रविधिले व्यवसायमा सहजता ल्याएको केरा कृषक पार्वती साउँद बताउँछिन् । “यो प्रविधिले समय र लगानी दुबैको बचत गरेको छ”, उहाँले भन्नुभयो, “केरा खेतीमा आबद्ध किसान उक्त प्रविधिबाट थप हौसिएका छन् ।” 

कञ्चनपुरमा थोपा सिँचाइ प्रणाली शुरु भएको एक वर्ष मात्रै भएको छ । नेपालमा २०५५ सालदेखि थोपा सिँचाइ प्रविधि शुरु भएको थियो । उक्त प्रणालीमा प्लाष्टिक पाइपबाट बिरुवाको जरामा थोपाथोपा गरेर पानीको आवश्यकता पूरा गरिन्छ ।

यो प्रविधिले सतह सिँचाइको तुलनामा ८० प्रतिशत पानी बचत गर्छ । यसले थोरै पानीबाट धेरै सिँचाइ गर्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?