जापानी प्रधानमन्त्री आबे पाँच दिने भ्रमणका लागि युरोप प्रस्थान

टोकियो । जापानी प्रधानमन्त्री सिन्जो आबे युरोपको पाँच दिने भ्रमणका लागि मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका छन् । 

उनी यस भ्रमणका क्रममा स्पेन, फ्रान्स र बेल्जियम पुग्नुहुने छ । प्रधानमन्त्री आबेले यसै भ्रमणकै क्रममा बेल्जियममा आयोजना हुन लागेको एसिया युरोप बैठकमा पनि सहभागी हुने बताइएको छ । 

त्यस भ्रमणका लागि स्पेन लाग्नुअघि प्रधानमन्त्री आबेले यस क्रममा एसियाली र विश्वकै अर्थतन्त्रका विविध पक्षहरुमा द्धिपक्षीय र बहुपक्षीय बैठकहरुमा कुराकानी हुने जानकारी दिएका थिए । 

प्रधानमन्त्री आबे यस भ्रमणको क्रममा पहिला स्पेन पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ उनले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गगर्ने छन् । 

त्यसैगरी उनले स्पेनका राजा फिलिप छैठौँसँग पनि शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको जापानी विदेश मन्त्रालयले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । 

फ्रान्समा उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँग औपचारिक तथा द्धिपक्षीय भेट गर्नुहुने छ । सो भेटका क्रममा जापान र फ्रान्ससम्बन्धी व्यापारिक विभिन्न विषयमा पनि कुराकानी हुने जनाइएको छ । 

सो भेटका क्रममा जापान फ्रान्स व्यापारिक सम्झौता हुने पनि जनाइएको छ । त्यस क्रममा जापान युरोपियन युनियन स्वतन्त्रता व्यापार सम्झौताका बारेमा पनि उनीहरुबीच कुराकानी हुनेछ । 

प्रधानमन्त्री आबे बिहीबार बेल्जियमको राजधानी ब्रसेल्स पुग्ने छन् । ब्रसेल्समा आयोजना हुने दुई दिने एसिया युरोप बैठकमा उनी सहभागी हुनुहुने कार्यक्रम रहेको पनि उनको भ्रमणसम्बन्धी तालिकामा जनाइएको छ । 
यस बैठकमा एसिया र युरोपका नेताहरुको सहभागिता रहने बताइएको छ । त्यहाँ सहभागी विभिन्न देशका नेताहरुसँग पनि उहाँले द्धिपक्षीय वार्ताहरु गर्ने छन् ।  

यस वर्षको उक्त एसिया युरोप बैठकमा विभिन्न एजेण्डाहरु रहेका छन् । तीमध्येका यस पटकको बैठकका प्रमुख एजेण्डामा साइबर सुरक्षा, महिलाको सशक्तिकरण र जलवायु परिवर्तन र यसको असरबाट बच्नसक्ने उपायहरु रहेका छन् । 

उक्त सम्मेलन आगामी बिहीबार र शुक्रबारका लागि आयोजना गरिएको छ । प्रधानमन्त्री आबे उक्त बैठक समापनपछि शनिबार स्वदेश फर्किनुहुने कार्यक्रम रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?