काठमाडौं । हिन्दुहरुको महान चाड हो, दशैँ । मुलत कार्तिक महिना दशैँ तिहार र छठ जस्ता महत्वपूर्ण चाडपर्वले भरिएको महिना पनि हो । यी चाडपर्वले एउटा छुट्टै आनन्दको अनुभूति दिलाएको आभास हुन्छ । त्यसैले टाढीएका आफन्तहरु आफ्ना गाउँमा जान्छन् । भेटघाट गर्छन् अनि दसै मनाउँछन् । हर्ष, उल्लासका साथ वर्षका एक पटक आउने चाडपर्व धुमधामका साथ मनाउछौँ । दशैमा टिका, जमरा र पिङको मज्जालाई छुट्टै अर्थका रुपमा लिइन्छ । दसैँले नेपालीहरुमा हर्ष उल्लासको वर्षासँगै धार्मिक, साँस्कृतिक प्रभावको पनि संकेतको सूचना दिएको हुन्छ । त्रेता युगमा यहि दिनमा सीताको हरण गर्ने रावणको श्रीरामले बध गरेको सम्झनामा यस चाडलाई विशेष मनाइन्छ । श्रीरामले दशैँ दिनमा रावणमाथि विजय हासिल गरेको भएर दशैलाई वडादशैँ एवम् विजयदशमीको नामले पूकारिन्छ ।
यद्यपी चाड एउटै भएपनि सबैले फरकफरक ढंगले यसलाई मनाउँछन् ।
नियमित अभ्यास गर्नु, प्रतियोगिताका लागि तयारी, दौडधुप तथा खेलमा उत्कृष्ट खेल्दै मेडल जित्ने खेलाडीहरुले कसरी मनाउँदै छन् त २०७५ सालको दशैं ?
छतबाट मामाघर देखिन्छ : कान्छिमाया कोजु, एथ्लेटिक्स
“दशैँ भन्ने वित्तिकै मलाई निक्कै रमाइलो लाग्छ । म नेवार समुदाय जन्मिएकाले पनि हाम्रो घरमा अरुको तुलनामा धेरै नै पुजा पाठहरु हुन्छ । दशैंमा परिवारको सबै सदस्यहरु भेटघाट हुने भएकोले पनि मेरो लागि स्पेशल छ । दशैंको बेलामा हामीहरु खासै बाहिर निस्कदैनौँ । घरमा नै सबै जना भेटघाट हुने भएकोले रमाइलो हुने भएकोले पनि बाहिर निस्किने माहोल नै हुँदैन ।
हामी नेवार जातीहरुमा ६—६ महिनामा भोज खान जाने र बोलाउनु पर्ने चलन छ । त्यसैले घरको परिवारसँग बेला बेलमा भेटघाट भइरहन्छ । त्यसपनि मेरो घरको छतबाट मामाघर देखिन्छ । पहिले सानोमा हुँदा मामा घर जाने भनेपछि निक्कै उत्साहित हुन्थे तर, अहिले बढ्दो उमेरसँगै त्यो उत्साह पनि घट्दै जाने रहेछ ।दशैंमा पिङ खेल्नुको मज्जा नै बेग्लै हुन्छ ।
सानो छँदा धेरै नै पिङ खेलिन्थ्यो भने अहिले फेसबुकमा फोटो हाल्नको लागि मात्रै भएपनि पिङ खेल्ने गरिन्छ । हामी खेलाडीहरु दशैंकै बेलामा कुनै बेला अन्तर्राष्ट्रिय मैदानमा खेल खेलिरहेका हुन्छौँ । त्यतिबेला आज दशैं हो भनेर कहिल्यै दुःखमन गर्दिन । मेरो जहिले पनि खेलमा राम्रो खेल्दै मेडल जित्नु नै पहिलो प्राथमिकता हो । त्यहि अनुसार खेल पनि खेल्छु । अहिले मेरो ‘मेन टार्गेट’ भनेकै नेशनल गेम्समा उत्कृष्ट खेल्दै स्वर्ण पदक जित्नु हो ।”
“दशैँ रेस्ट गर्ने मौका हो, परिवारसहित मुस्ताङ ट्रिपमा जाँदैछौँ : सिमोन खत्री, वादोरियो कराँते खेलाडी
“खेलाडीको जिन्दगी भनेको जहिल्यै प्रेसरमा हुन्छ, बिहान नियमित अभ्यास गर । त्यसपछि च्याम्पियनसिपमा राम्रो प्रर्दशन गर । त्यसैले दशँै भनेको खेलाडीहरुको लागि रेस्ट गर्ने समय जस्तै हो । यति बेला कुनै अभ्यास पनि हुँदैन, गेम्सहरु पनि आयोजना हुँदैन । यो समयमा म आफैलाई अलि फ्री भएको महसुस गर्छु । दशैंमा पुजा पाठ गर्नु टिका लगाउनु पहिलेदेखि नै गर्दै आइरहेको हो ।
दशैँको बेलामा आफु भन्दा ठुलाहरुबाट आशिर्वाद लिन म यसपाली आफ्नो परिवार मा टिकाटालो सकेर मामाघरमा पनि जान्छु । दशैँको बेला परिवारका अन्य सदस्यहरु एकै ठाउमा भेट हुने भएकोले पनि मलाई यो बेला एकदमै स्पेशल लाग्छ । म प्राय दशैंमा आफ्नो गुरुहरुको हातबाट पनि टिका ग्रहण गर्दै आइरहेको छु ।
नेपालमा पहिलेदेखि नै चलि आएको परम्परा र संस्कृतीलाई हामीले पनि पच्छाउँदै आइरहेका छौँ र त्यहि अनुसार नै दशैंलाई विशेष महत्वका साथ मनाउँदै आइरहेका छौँ । यस पालिको दशैंमा मेरो बुवाको दाई भाउजु दुवईबाट आउँदै छन् । जे होस यो पालिको दशैं ब्लास्ट तरिकाले मनाउनेछौँ ।
दशैं लगतै म परिवारसहित मुस्ताङ ट्रिपमा जाँदैछौँ । हामीहरु हरेक वर्ष दशैँ र तिहारको बीचको समयमा नेपालको विभिन्न रमणिय ठाउहरुमा घुम्न जान्छौँ । कहिले पोखरा, कहिले मनाङ जान्छौं। यसपटक भने हामी मुस्ताङ जाने तयारी गरिरहेका छौँ ।
म खेलाडी भएकोले कहिले पनि मादक पदार्थ पिउदिन, र अरु खेलाडी साथीहरुलाई पनि नपिउन आग्रह गर्छु । खेलाडी भएर मादक पदार्थ पिउन स्वास्थ्यको लागि फाइदाजनक छैन । किनभने खेलाडीहरु भनेको राष्ट्रको गहना हो, त्यसमा पनि कुन बेला गेम्स खेल्नुपर्छ त्यतिबेला स्वास्थ्यले साथ दिएन भने आफैलाई घाटा हुन्छ ।”
कुल देवतालाई घन्टी चढाउन परिवारसहित डडेल्धरा जाँदैछौँ : आयशा शाक्य, तेक्वान्दो ‘साफ गोल्ड मेडलिस्ट’
यस पटकको दशैँमा श्रीमान ‘दिपक विष्ट’ र दुई छोरा ‘आदेश, आधार विष्ट’सहित पहाडको घर डडेल्धुरा जाँदैछौं । हामीहरुले विवाह गरेको वर्षदेखि नै हाम्रो कुल देवतालाई घन्टी चढाउने भनेको थियौं । यसपालि वर्षोकौ सपना पुरा गर्न जादैछौ । यसपटकको दशैं डडेलधुरमा नै बित्छ । त्यहाँ मेरो श्रीमान ‘दिपक विष्ट’ पट्टिको आफन्तहरु धेरै छन् । त्यतै टिका थाप्ने, रमाइलो गर्ने हो । एक साताको ट्रिप बनाएका छौँ । जे होस् काठमाडौंमा जन्मिएकी छोरीले पहाडमा दशैं मनाउने हुँदा उत्साहित छु ।
मेरो माइतीतिर चाहि दशैँ खासै मनाइदैन । हामीहरु बुद्धिस्ट हौँ, त्यसैले पहिलेदेखि नै दशैँ मनाइदैन । तर, टिकाको दिन चाही सबै परिवारका सदस्यहरु गुह्ेश्वरी मन्दिरमा पुजा गर्न जान्छौँ । मामाघर त किन नजानु, तर दशैंको एक—दुई दिनपछि जाने गथ्यौ । यो पटक चाहि डडेलधुराबाट फर्किपछि मात्र घर र मामाघरमा जान्छु ।
साईतमा टिका लगाउने अवसरै पा‘को छैन, मामाघर जान्छु कि : सरिता मगर, क्रिकेट खेलाडी
यो पालि बुवा पनि फ्रान्सबाट आउनु भएको छ, सबै परिवारसँग बसेर दशैँ मनाउँदै छु । दशैको समयमा धेरै रमाइलो मुमेन्टहरु हुन्छ, टिका थाप्ने, तास खेल्ने, दक्षिणा गन्ने । त्यहि भएर होल दशैँ मलाई चाडपर्वहरु मध्ये मन पर्ने पर्व हो । दशैंको लगतै पोखरामा जाने प्लान गर्दैछु ।
मेरो मामाघर संखुवासभामा छ, अहिलेसम्म गएको छैन । मामाघर जान मन छ, त्यहाँ जाने कहिले जुर्छ थाहा छैन । गतवर्षको दशैँमा स्वयम्भुमा खुब पिङ खेलिएको थियो । तर, यसपालि भने पिङ त्यतिधेरै थापेको देखिन, कतै भेटेभने खेल्न चाँही बाँकी छोड्दिन । साइतमा नै टिका लगाउन अहिलेसम्म पाएको छैन । बुवा प्रया जसो देश बाहिर नै हुने भएकाले त्यस्तो अवसर अहिलेसम्म पाएकी छैन् तर टिका चाँही लगाएकी छु ।
दशैँ भनेकै पिङ खेल्नस हो : प्रतिभा मालि भलिबल खेलाडी
दशैँले अहिले माहोल नै रमाइलो लाग्ने खालको भएको छ । तर, यसपाली मेरो दशैं खल्लो छ । मेरो हजुरवुवा वितेका कारण यसपाली हामीहरु दशैँ मनाउँदैनौं । हजुरवुवा बित्नुभएको सात महिना मात्रै भएको छ, यो वर्ष यस्तै हो, अर्को वर्ष चाही दशैं धुमधामका साथ मनाउँछौं । मामाघर जान मात्र पाँच मिनेटमा समय लाग्छ, त्यसैले खासै त्यस्तो रमाइलो लाग्दैन् । घरको सदस्यहरु बेला बेलामा भेटघाट भइरहेने भएकाले पनि रमाइलो गर्न चाडबाड नै आउनुपर्छ जस्तो लाग्दैन् । मलाई पहिले पिङ थापेपछि मात्र दशैं आएजस्तो हुन्थ्यो, पहिले मज्जाले पिङ खेलिन्थ्यो तर अहिले चाहि अलि कम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया