काठमाडौं । हिन्दूहरुको महान चाड दशैं–तिहार र छठ नजिकिँदै छ । नेपालीलाई दशैंको चटारोले छोपिसकेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका घर–आँगन दशैंको स्वागतका लागि सिँगारिँदै छन् । सर्वसाधारणदेखि भिआइपीसम्मलाई पुलकित बनाउने दशैंको रौनकबाट नेपाली खेलकुदका हस्तीहरू पनि अछुतो छैनन् । झन् यो समयमा उनीहरुको दैनिकी वर्षभरीको भन्दा फरक हुनेछ । हरेक दिनको दौडधुप बिसाउँछन् उनीहरु । रिफ्रेस हुन्छन् । खेलाडीले फरक–फरक ढंगले दशैं मनाउने योजना बुनिरहेका छन् । कोहि घुम्न जाने, कोहि मामाघर जाने । यस्तै प्लान बनिरहेको छ खेलाडीहरुको । अनि सधै खेलाडीको अधिपछी मात्र हिँड्ने र नियमित अभ्यास गराउने नेपाली प्रशिक्षकहरुको दशैं योजना के छ त ? लोकपथको सम्पर्कमा रहिरहने केहि प्रशिक्षकसँग जिज्ञाशा राखेको थियो ।
“व्र्रत बस्छु, खेलाडीलाई ट्रेनिङ गराउँछु, एकजना प्रशंसकले अन्नपूर्ण वेस क्याम बोलाएका छन् । जान्छु कि !“ : कुमार राई प्रशिक्षक, न्यु डायमण्ड भलिबल एकेडेमी
दशैं स्पेशल भनेको नयाँ खेलाडीलाई प्रतिभावान बनाउने हो । एक दुई जना नयाँ खेलाडीलाई टिममा पार्ने हो । त्यही अनुसार ट्रेनिङ गराइरहेको छु । अरु बेलामा स्कुल पनि लाग्ने हुनाले खेलाडीहरूलाई धरै ट्रेनिङ गराउन पाइँदैन । स्कुल विदा भएको मौका छोपेर अभ्यास गराइरहेको छु । एक दुई जना खेलाडीको खेल कौशल तिखार्नु छ । यसअघिको रेकर्ड हेर्ने हो भने पनि रमिला तण्डुकार र प्रतिभा मालीलाई पनि दशैकै विदामा निखारेको थिएँ । यसपटक पनि एक–दुई जना खेलाडीलाई राम्रो बनाउने योजनामा छु ।
विजयादशमी र एकादशीमा मात्रै मेरो एक सय प्रतिशत छुट्टी हो । कोही टिका लगाउन आएमा टिका लगाई दिन्छु । यो पटक न्यु डाइमण्डको एक जना खेल प्रशंसकले अन्नपूर्ण वेस क्याम बोलाएका छन् । सायद त्यतैतिर पनि जान सक्छु ।
ठूलाबडा कोही भेटेमा टिका लाउँछु । घटनास्थापनादेखि अष्टमीको दिनसम्म व्रत हो । नवमीको दिनदेखि मात्रै मेरो खानपिन चल्छ । कुमार राईको दशै स्पेशल भनेको व्र्रत बस्ने र खेलाडीलाई ट्रेनिङ गराउने हो । दशैं लगतै न्य डाइमण्डले बुटललमा हुने यू—१९ भलिबल प्रतियोगिता खेल्दैछ, त्यसैको तयारी पनि गरिरहेका छौँ । साथै, यहि कातिकमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेल्ने तयारी पनि गरिरहेका छौँ ।
“यो दसैँमा नेपाली फुटबलकै हितमा म एउटा ठुलो काममा खटिन्छु । बच्चाबच्चीलाई घुमाउन लानुपर्ला“: कुमार थापा प्रशिक्षक, नेपाली महिला फुटबल टोली
दशैं भन्ने बित्तिकै रमाइलो लाग्छ । सधैं जस्तै हो मेरो यो पटकको दशैं । खास स्पेशल छैन । घरैमा बसिन्छ ।
ठूलाबडाको हातबाट टिका लगाउने, आशिर्वाद थाप्ने त्यही हो मेरो प्लानिङ । साथीभाईसँग भेट्ने रमाइलो गर्ने यसरी नै वित्छ । नानीबाबुलाई घुमाउनु पर्छ । सबै जना काठमाडौंमै छौँ । मन्दिरमा पूजा गर्नु पर्ने छ । आम नेपालीले कसरी दशैं मनाउँछ, मेरो पनि त्यस्तै हुन्छ ।
दशैंमा काठमाडौं सुनसान हुन्छ । केही दिन काठमाडौं शान्त हुँदा रमाइलो लाग्छ । तर, दशैमा सबै पसलहरू बन्द हुने भएकोले सामान किन्न निकै गाह्रो हुन्छ ।
दशैं तिहार निकै लामो विदा छ । तर म चाहिँ काममा निकै ब्यस्त हुनेछु । एउटा ठूलै काममा लागि परेको छु । म अहिले त्यहि काममा ब्यस्त छु । यो काम नेपाली फुटबलकै हितमा हो । पछिल्लो समयमा फुटबलमा महिलाको खेल ठप्पै छ । कुनै गतिविधि भएको छैन । यसले नेपाली महिला खेलाडीहरूलाई पनि असर गरेको छ । तत्काल नेपाली महिला फुटबल टोलीले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने छैन ।
“सानो छँदा आफै रमाईन्थ्यो, अहिले अरु रमाएको हेरेर रमाउनुपर्छ,९० वर्षीय हजुरआमाबाट टिका लगाउने हो”: दीपक श्रेष्ठ प्रशिक्षक, कराँते
यो पालिको दशैं धुमधामका साथ मनाउने तयारी गरिराखेका छौँ । संयोग नै भन्नुपर्छ यस पालिको दशैंमा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु छैन । पहिले दशैंकै दिन कहिले कुन देशमा खेल खेल्दै हुन्थ्ये, ट्र्ेनिङ गराउँदै हुन्थेँ । यो पाली भने त्यस्तो केही छैन ।
९० वर्ष पुग्नुभयो हजुरआमा । हजुरआमाको हातबाट टिका लगाउने, आशिर्वाद थाप्ने योजना छ । मूल घर गोदावरी नगरपालिका चापागाउँ हो । त्यही हामी सबै जना भेला भएर दशंै मनाउँछौ । परम्परागत रुपमा टिका लगाउने, आफन्तजनसँग भेटघाट गर्ने यसरी नै मनाउने हो दशैं ।
सानो छँदाको दशै र अहिलेको दशै निकै फरक छ । त्यतिबेला आफू हाँसी खुसी भएर नयाँ लुगा लगाएर मामा घर गएर दशंै मनाइन्थ्यो । अहिले अरु रमाएको हेरेर दशैं मनाउनु पर्छ । सानो हँुदा दशै आयो की खुशी असाध्यै खुशी भइन्थ्यो । त्यो सम्झिदा खुशी लाग्छ ।
यसपालि तिहारमा जापानबाट बहिनी पनि आउदैछिन् । यो पटक दशैं तिहार नै धुमधामका साथ मनाउने हो । नेपाल ओलम्पिक कमिटीले बनाएको भिजन २०२० को छनोट समितीको सदस्यमा नियुक्त भएको छु त्यसका साथै राष्ट्रिय खेलको तयारी पनि दशैं पछाडि गदैछु । गतवर्षमा हातमा ठेला उढ्ने गरेर छोरीलाई पनि खेलाए र मैले पनि खेले । काठमाडौं बाहिर घुम्नजादा कतै पिङ भेटे भने खेल्न छाड्दिन ।
“फूर्सद निकालेर हाँसिमजाक गर्ने भनेकै दशैँमा हो” : पुष्पराज ओझा प्रशिक्षक, एथ्लेटिक्स
परिवारसँग बसेर मनाउने योजना छ । परिवारसँग फूर्सद निकालेर हाँसिमजाक गर्ने भनेकै दशैँमा हो । अरु बेलामा त सबैजना आ आफ्नो काममा । हासी माजक गर्ने हो । आफूभन्दा सानोलाई आशिर्वाद दिएर आफूभन्दा ठूलोबाट आशिर्वाद लिएर मनाइन्छ । दुर्गा माताले सबैलाई रक्षा गरुन् आशिर्वाद दिउन् । काठमाडौंमा नै मनाउँदै छौ । धुम्बाराहीमा ठूलो दाई हुनुहुन्छ । त्यही मनाउने हो दशै ।
प्रशिक्षक काम भनेकै खेलाडीहरुलाई प्रशिक्षण दिनु हो, दशैंको खेलमा केही दिनको लागि भए पनि रेस्ट हुने भो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया