असत्यको जीत ! एसिडले जलेर छोरी गुमाएको साल आमाले रुँदै भनिन्, न्याय खै ?

दशैँको माहोल छ । सबैजना खुसी छन् । वर्षौंपछि विदेशबाट घर आएको छोरालाई अङ्कमाल गर्न पाउँदा, शहर पढ्न गएकी छोरी दशैँ मनाउन मुस्कुराउँदै घर आउँदा आमाहरु दङ्ग छन् । ती खुसी आमाहरुका बीचमा केही यस्ता आमाहरु पनि छन् जसलाई दशैँले छोएको छैन । मृत छोरीको आत्माले उनीहरुलाई बेलाबेला घच्घचाइरहन्छ ‘आमा मैले न्याय पाइन’ भन्दै ।

निर्मला बलात्कार तथा हत्या प्रकरणको ८५ दिन पूरा भयो । अपराधी अझै गुमनाम । यता अपराधी दशैँमा टिका लाएर आशीर्वाद थाप्ने तयारी गर्दै गर्दा उता पीडित पक्ष भने यताउता भौतारिरहेको छ न्यायको खोजीमा । यस्तै अवस्थाबाट गुज्रिरहेकी अर्की आमा हुन्, धनमाया मोक्तान दास ।

वि सं २०७५ साल भदौ २६ गते तीजको दर खाने दिन रौतहट एसिड आक्रमणमा परेका दास दिदीबहिनीकी आमा जो छोरीहरुसँग त्यस्तो घटना हुँदा विदेशमा थिइन् । विगत साढे ४ वर्ष देखि तामाङ रोजगारका लागि मलेसिया भासिएकी हुन् । यस दौरान उनी एकपटक विदामा आएर फेरि फर्किएकी थिइन् । विदेश जानुअघि घरको अवस्था, विदेश जानलाई पार गरेका कठिनाइ आफ्नै ठाउँमा छन् तर, यतिबेला उनलाई आफ्नी जेठी छोरी सम्झनाको एसिड आक्रमणका कारण भएको दर्दनाक मृत्यु, कान्छी छोरीको टिठलाग्दो अवस्था र अपराधीको सजाय सुनुवाइमा भइरहेको ढिलाइ देखेर उनी झस्किरहन्छिन् ।

दुखसुख गर्दै गाँस काटेर हुर्काएको फूलको कोपिला जस्तै मासुम, कोमल एक छोरीलाई मृत्युको शैंयामा र अर्कीलाई हरेक दिन तड्पिरहेको देखेका उनका आँखा अब दशैँको रमझम देख्न चाहँदैनन् । हुन त अन्तरजातीय विवाह गरेकाले माइतीसँग बिग्रिएको सम्बन्ध र दास परिवारमा दशैँ मनाउने चलन नभएकाले उनले विवाहपछि खासै दशैँ मनाउन पाएकी थिइनन् । यद्यपी, माइतीसँग केही हदसम्म सम्बन्ध सुध्रिएपछि अघिल्लो वर्ष आफ्ना तीन छोराछोरी लिएर उनी टिका थाप्न माइत पुगेकी थिइन् । ‘अघिल्लो वर्ष दशैँमा तीन छोराछोरीकी आमा थिएँ । अहिले एउटीले छोडेर गइहाली । अर्कीको अवस्था यस्तो छ । अब त खै दशैँ न तिहार ।’ सुकसुकाउँदै उनले बताइन् । 

तामाङलाई चाडवाडको रौस छैन । उनको मातृहृदयले निरन्तर दुईवटा कुरा जपिरहेको छ: कान्छी छोरीको शीघ्र स्वास्थ्य सुधार र अपराधीलाई आजीवन सजाय । 

सुस्मिताको उपचारका लागि अहिले उनी काठमाडौंको डल्लुस्थित ‘हार्टबिट’ नामक संस्थाको एउटा कोठामा करिब १ महिनादेखि थन्किएकी छिन् । उपचार निःशुल्क भइरहेको छ । 

हामी त्यहाँ पुग्दा धनमाया सुस्मिता(कान्छी छोरी) नजिकै बसेकी थिइन् । सुस्मिताका भाइ सागर भने बिग्रेको चङ्गा मर्मत गर्नमा व्यस्त थिए । दशैँले धेरथोर उनलाई छोएजस्तो लाग्यो । दिदीहरुसँग भएको अमानवीय घटनालाई उसको बाल मनले धेरथोर बिर्सिसके जस्तो लाग्यो ।  

‘आमाको मन न हो, आइहालेँ’

घरको आर्थिक अवस्था नाजुक भएकाले रोजगारका लागि धनमाया विदेश गइन् । उनले जदोलाल(श्रीमान) लाई विदेश जान आग्रह नगरेकी होइनन् तर, जदोलालले विदेश जान नमानेपछि उनले आफै यो कदम चालिन् । ३ वर्षको विदेश बसाइपछि छुट्टिमा घर फर्कदा धेरै कुराहरु परिवर्तन भइसकेको थियो । खासगरी पतिसँगको उनको सम्बन्ध । त्यसमाथि जदोलालले कान्छी श्रीमती ल्याएर छुट्टै घर बसाएपछि  उनको अधिकार भाँजियो, मन भाँडियो ।

धनमायाले घर नगइ बाहिरबाहिरै बसेर छोराछोरीलाई आफूसँग ल्याउने योजना बुनिन् । तर, जेठी छोरी सम्झनामात्रै आमासँग बस्न राजी भइन् । भाइबहिनीलाई आमाले शहर लगेर बेच्छे भनेर ‘ब्रेनवाश’ गर्न बुबा जदोलाल सफल भए । तामाङले सम्झनालाई काठमाडौं राखेर पढाउने व्यवस्था समेत मिलाएकी थिइन् । सम्झनाले पनि आफ्नो खुट्टामा आफै उभिने प्रयत्नका साथ भर्खरै काम गर्न शुरु गरेकी थिइन् । सबै चाँजोपाँजो मिलाएर धनमाया विदेशतिर लागिन् । कान्छी आमाको ‘डेलिभरी’का लागि आमाबुबा नै अस्पताल जानु पर्ने भएकाले सम्झना भाइबहिनीको रेखदेख गर्न रौतहट पुगिन् । त्यसपछि उनको धनमायासँग सम्पर्क भएन ।

रौतहट गएपछि पनि केही समय त हाम्रो कुराकानी भइरहेको थियो । त्यसपछि ५ महिनासम्म उसँग कुरा भएन । किन यति लामो समयसम्म सम्पर्कविहीन भइ छोरी भनेर बुझ्न रामबाबु(अपराधी) लाई फोन गरेँ । छिमेकी त्यसमा पनि सानैदेखि सम्झना, सुस्मितालाई आफ्नै छोरी जस्तै गर्ने मान्छे । यस्तो कालो मन छ भन्ने थाहा थिएन त्यो बेला फेरि अरु कसैको नम्बर पनि थिएन मसँग । उसले बताएअनुसार सम्झनाको फोन बिग्रेको थियो । यो कुराकानीपछि एकैचोटी मलाई मेरो ममीले घटना भएको रात फोन गर्नुभयो । खबर सुनेर म बेहोस् भएँ । ज्यान विदेशमा, मन यहीँ घुमिरह्यो । अस्पताल ल्याएपछिको पहिलो रात उसँग कुरा गर्दा आवाज राम्रै सुनियो, लाग्यो छोरी निको हुन्छे । तर, जति उपचार हुँदै गर्दा झन्झन् उसको अवस्था नाजुक भएपछि टिकट मिलाउन केही समय लाग्यो तर, आमाको मन न हो कहाँ मान्छ र ! १ हप्तामा आइपुगिहालेँ नि ।’

धनमायाले त्यो कहालीलाग्दो क्षणलाई एक सासमा बताइसकिन् ।  

‘आँखा खुल्ला थिए तर, कुनै भाव थिएन’

सम्झना बाँचिनन् । उनको शरिरको आधाभन्दा बढि भाग जलिसकेकाले पनि उनको बाँच्ने सम्भावना न्यून भएको चिकित्सकहरुको भनाइ थियो । यद्यपी जाँदाजाँदै उनले आमा धनमाया संग केही थान कुरा गर्न आफ्नो अनुभूति पिडा सेयरगर्न भ्याइन् । ‘शायद मलाई भेटेर मात्र प्राण त्याग्न लेखेको रहेछ । हुे हार दैव नटार भन्थे हो रहेछ ।’ धनमायाको आँखाबाट आँसुको ढिका खस्यो । थप्प । 

धनमाया नेपाल ल्यान्ड हुनासाथ अस्पताल पुगेकी थिइन् । सम्झनालाई राखेको कक्षमै पुग्न चाहिन् । सम्झनाले ‘आमा’ आएको चाल पाइनन् त्यसैले बोलाइन् ‘सिस्टर’ । धनमायाले उसको हात सुम्सुम्याउँदै भनिन्, “नानी म तिम्रो ममी ।”

“कहिले आउनुभयो ?”

“भर्खरै”

“अब कहिले नजानु ल ?”

“नानी जान्न । म तिम्रो लागि त आको  ।”

यस्तै सामान्य कुराकानी हुँदै गर्द सम्झाना  आवाज अस्पष्ट भयो । ‘सर्जरी’ गरेको केहि समय त्यस्तै हुने भएकाले, नर्सले उसलाई रेस्ट गर्न दिन आग्रह गरे धनमायाले स्वीकारिन् । 
भोलिपल्ट  भने उनीहरु वीच राम्रै कुराकानी भयो । सम्झना आफूलाई यस्तो गर्ने अपराधी ‘रामबाबु पास्वान’ भएको शङ्का व्यक्त  गरिन् । पास्वान निकै समयदेखि आफसँग गरिरहेको दुव्र्यवहारका बारेमापनि खुलस्त भनिन् । 

त्यस पछि आमाछोरी भविष्य योजनाका बारेमा पनि कुरा गरे । सम्झनाले भनिन् , ‘ममी अब म तपाईसंगै विदेश जान्छु ।’ आमा भने छोरी यसरी बोल्न सकेको नै मख्ख थिइन् ।छोरी छिट्टै ठीक हुन्छे कुरामा उनी ढुक्क थिइन् । तर, त्यस्तो भएन धनमायालाई अझै याद छ सम्झानाका रित्ता आँखा जसलाई निभाइ दिन उनले धेरै प्रहरप्रयास गरिन्तर, सफल भइनन् । 

विदेशबाट आएको २ दिन भइसकेको थियो । उनी बिहान दुध, फलफूल लिएर सम्झानालाई भेट्न पुग्न् । 

गइन् । एकपट्टिको आँखाका ब्यान्डेज बांधेको थियो, अर्को आँखा खुल्ला । खुल्ला आँखा आँसु  टिलपिल भरिएको । आँसु पुछिदिएको नर्सहरुलाई खानेकुरा खुवाइदिन जिम्मा दिएर धनमाया निस्किइन् । 

दिउँसो , पुग्दा पनि सम्झना ,उसैगरी एकोहोरो हेरिरहेकी थिइन् । रित्ता आँखाले सिलिङ्तिर आँखामा पटकमा आँसु थिएन् । 

‘यस्तो किन गरेकी होला मेरी छोरीले ?’ प्रश्न तेर्सियो डाइरेक्ट नर्सहरुतिर । 

जबाफ आयो, “धेरै दुखेकाले भर्खरै 'पेन किलर' देको छ । भरेसम्म ठिक हुन्छ ।” तर त्यसो भएन । तेस्रो पटक जादाँ समेत परिर्वतन नभएपछि उनले चिकित्सकहरुलाई राम्ररी हेरिदिन आग्रह गरिन् ।

केही समयको प्रयास पछि आफुनो कोसिस ‘नाकाम्याब’ भएको भन्दै धनमाया संग माफी मागे  । धनमाया बेथोलिइन् । टुटिन् ।

‘खाउँखाउँ, लाउँलाउँ उमेरकी मेरी छोरी ….’ वाक्य पुरा न नपाउँदै उनको गला अवरुद्द भयो । घुाँक्कघुँक्क रुन थालिन् । केही सोचेर , मनन् गरेर आफूलाई सम्हालदै आक्रोस पोखिन् ,  ‘ अपराधिलाई आजीवन कारावासको सजाय भएन भने, त्यो पापी जेलबाट निस्केको दिन त्यसलाई एसिड छयाप्छु अनि उ जति नै सजाय काटेर निकन्छु । कुन ठूलो कुरो भयो र !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?