‘आखिर मन्दिरमा नकाटेर घरमा काटे पनि खसीबोका काटेरै खाने हुन्’

काठमाडौं । कुनै बेलाका व्यस्त लोकगायक पुरुषोत्तम न्यौपाने यतिबेला केही ओझेलमा छन् । त्यसो त उनको जीवनको दैनिकी व्यस्त नै कुदिरहेको छ तर संगीतमा भने कमै सुनिन थालेका छन् ।

गीतमा निरन्तरता त दिएका छन् । तर, नयाँ पुस्ताले रुचाउने खालका गीत खासै दिन सकेका छैनन् । न्यौपानेको एउटा गीत बजारमा आउने क्रममा छ । रेडियो नेपाल, क्षेत्रीय प्रसारण केन्द्र पोखरामा जागीरे समेत रहेका न्यौपाने केही हप्ताअघि मात्र कार्यक्रमका सिलसिलामा विदेश टुरबाट भर्खरै फर्किएका छन् । लामो समयदेखि पोखरामा बसोबास गर्दै आएका न्यौपाने दशैँको बेलामा चाहिँ आफ्नो जन्मघर स्याङ्जा जाने योजनामा छन् ।

‘दशैँमा जन्मघर स्याङ्जा नै जाने सोच बनाएको छु, घर त पोखरामा पनि छ तर दशैँमा गाउँभरमै रमाइलो हुन्छ’, गायक न्यौपानेले भने, ‘हाम्रो गाउँमा त दशैँको बेलामा रमाइलो संस्कृति पनि छ, पूरै गाउँका मान्छे सम्रग नायकको थानमा जम्मा हुन्छौँ, जो जेठो हुनुहुन्छ, उहाँँहरुले टीका लगाइदिने चलन छ, दक्षिणाको चलन चाहिँ छैन, सबैले टीका लगाइदिने र आशीर्वाद दिने परम्परा छ ।’

 

स्याङ्जाको बलम बेलटारीमा पर्ने सम्रग नायकको थानमा क्षेत्रपाल र कालिका मन्दिर पर्छन् । यी दुई मन्दिरलाई सम्रग देवीको थान भन्ने गरिन्छ । यही मन्दिर परिसरमा भव्य सामूहिक दशैँ हुन्छ ।
दशैँमा घर त जाँदैछन् तर पुरुषोत्तम न्यौपानेका छोराछोरी भने विदेशतिरै छन् । गायिका समेत रहेकी पत्नी भगवती न्यौपाने साथै भए पनि छोरो रविन र छोरी रञ्जिता भने अस्ट्रेलियामा छन् । ‘दशैँमा घरतिर रमाइलो हुने भएकाले यहाँ (पोखरा) को घर छोडेर गाउँ जाने गर्छौं, केही सदस्य त विदेशमा नै हुने भए, यहाँ भएकाले रमाइलो गर्छौँ ।’, न्यौपानेले सुनाए ।

गाउँका सबै भेला भएर अग्रजबाट टीका ग्रहण गर्ने चलन छ न्यौपानेको गाउँमा । टीका र जमरा लगाइदिने चलन छ । मन्दिरमा दक्षिणाको चलन छैन । आफन्त या पाहुनालाई दक्षिणा दिनुपर्ने भयो भने घरमै बोलाइन्छ । न्यौपानेले भने, ‘गाउँभरिको यो चलन पहिलेदेखि नै रहेछ, यही चलनले पनि दशैँमा गाउँघरले तानिहाल्छ ।’

अर्कातिर दशैँमा आफ्ना पुराना साथी भेटिने कारणले पनि पुरुषोत्तम न्यौपानेलाई दशैँ रमाइलो लाग्छ । दशैँको मौकामा आफ्ना मित्रहरुसँग भेटघाट हुन्छ । आफन्त र परिवारसँग अझ नजिक हुन पाइन्छ ।

‘दशैँ त अझ रमाइलो बाल्यकालमै थियो नि, दशैँ तिहारमा मीठो खान पाइने, नयाँ लुगा लगाउन पाइने, अहिले सोच्दा त लाग्छ, दशैँ चाड बालबच्चाका लागि रैछ’, उनले सुनाए, ‘दशैँमा पनि सबैले घाँटी हेरेर हाड चाहिँ निल्नुपर्ने हुन्छ, ऋण लाग्ने गरी दशैँ मनाउँदा चाहिँ बेकारको असर पर्न सक्छ ।’

न्यौपाने सुझाउँछन् – दशैँलाई उल्लासमय बनाउनु त पर्छ तर असर नपर्ने गरी मनाउन आवश्यक छ । चाडबाड मान्नका लागि ऋण काढेर विदेश जानुपर्ने अवस्था आउनुभएन, टीका जमरा लगाउने र आशीर्वाद लिने÷दिने गर्दा पनि दशैँ रमाइलोका साथ मनाउन सकिन्छ ।

कि त फ्रेस हाउसमा पनि खसीबोका काट्नुभएन । बली प्रथाबारे पुरुषोत्तम न्यौपानेको आफ्नै धारणा छ । बली प्रथालाई नेपाली समाजमा संस्कृति र परम्परासँग जोडेर हेर्छन् न्यौपाने । ‘पछिल्लो समय बली प्रथाको विषयमा विभिन्न आवाज उठिरहेका छन्, एक हिसाबले त ठीकै पनि होला तर मन्दिरमा बली दिँदा मान्छेलाई सन्तुष्टि मिल्छ भने यसलाई खासै गलत भन्न नमिल्ला कि भन्ने लाग्छ’, उनले भने, ‘सकेसम्म प्राण बली गर्नु नहुने हो, पशुको पनि जिउने अधिकारको कुरा हो तर फ्रेस हाउसमा बोका काट्दा विरोध नगर्ने तर मन्दिरमा काट्दा विरोध गर्ने चाहिँ अलिक नमिल्दो नै छ ।’

उनले अगाडि थपे, ‘आखिर मन्दिरमा नकाटे पनि घरमा खसीबोका काटेर नै खाने हुन्, मन्दिरमा रगत चढाउँदैमा खुशी मिल्छ भने यो विवादित विषय हो झैँ लाग्दैन ।’
न्यौपानेले देवी भगवतीका नाममा मात्र विरोध गर्न नहुने धारणा राख्छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?