काठमाडौं । कास्कीको पोखरास्थित फेवातालमा जलकुम्भी झार फैलिएपछि सरसफाई अभियान सञ्चालन गरिएको छ । पोखरा महानगरपालिकाको पहलमा विभिन्न संघ संस्थाले फेवाताल सरसफाई अभियान सञ्चालन गरेका हुन् ।
अभियानअन्तर्गत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको छ । ३३ वटा वडाले ३३ वटै स्थानमा सरसफाईको नेतृत्व लिएका छन् । वडा–वडाबाट सक्रिय आमा समूह, युवा क्लब, व्यवसायिक संघसस्था, राजनीतिक दलका नेतृत्व, टोल संस्था, लायन्स क्लबलगायतका सामाजिक संघ संस्था सरसफाईमा सहभागी भएका थिए भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सरसफाईमा सहभागी जनाएका थिए ।
तालको मुहानतर्फ रहेको जलकुम्भी झार असोज महिना लागेसँगै हावा चल्ने र तालभरी फैलने गर्छ । लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ । जसको कारण ताल कुरुप बन्ने गरेको छ । सोही जलकुम्भी हटाउन महानगरले सरसफाई अभियान चलाएको महानगरका प्रमुख धनराज आचार्यले बताए ।
उनले जनसहभागीतामा काम गर्दा तालको संरक्षणमा थप मद्दत पुग्ने भएकाले सबै वडाबाट स्थानीयलाई सरसफाईमा सहभागी गराइएको बताए । तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने बताइएको छ ।
सरसफाई अभियानमा सयौँको संख्यामा जनसहभागिता रहेको थियो । डुङ्गाको मद्दतमा तालमा रहेको जलकुम्भीलाई किनारमा निकालिएको थियो भने त्यसपछि लामवद्ध सहभागीले जलकुम्भी बाहिर निकालेका थिए । तालको बीच भागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई जलकुम्भीले अवरोध गर्ने गरेको थियो ।
सरसफाई अभियान बिहान ७ बजे सुरु भइ १० बजेसम्म चलेको थियो । संकलित फोहरोरलाई महानगरको फोहोर संकलन गर्ने गाडीमार्फत व्यवस्थापन गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया