बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अन्य दलका उम्मेदवार र कार्यकर्तालाई गाली नगर्न र अनास्था नफैलाउन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । सत्ता गठबन्धनभित्र देखिएको चरम असन्तुष्टिले अन्य पार्टीका थुप्रै नेता कार्यकर्ता एमाले उम्मेदवारलाई मतदान गर्न तयार देखिएको भन्दै उनले विपक्षी पार्टीका उम्मेदवार र कार्यकर्तासँग मित्रवत् व्यवहार गर्न आग्रह गरेका हुन् ।
रुपन्देहीको क्षेत्र नम्बर २ बाट एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका पौडेलले अन्य दललाई गाली नगरी आफ्ना विचार जनतामाझ राखेर चुनावका लागि सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे । क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा १ को निर्वाचन परिचालन कमिटी घोषणा एवम् चुनाव प्रचारप्रसार कार्यालयको मंगलबार तिलोत्तमाको शंकरनगरमा उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन् ।
रुपन्देहीमा विगतमा अगाडि बढाइएका ठूला आयोजनाहरूलाई कार्यान्वयन गर्न एमालेको जित अपरिहार्य रहेको पनि उनले बताए । “विगतमा रुपन्देहीमा जुन खालका ठूला विकासका आयोजना अघि बढेका छन्, तिनलाई कार्यान्वयन गरी रुपन्देहीलाई विकासको रोल मोडलको रूपमा स्थापित गर्न एमालेको जित अपरिहार्य छ,” पौडेलले भने ।
उनले एमाले सरकारबाट हटेपछि मुलुकमा बेथिति उत्पन्न भएको र यसबाट पार पाउनका लागि एमालेको सरकार अहिले मुलुकको आवश्यकता बनेको जिकिर गर्दै त्यसका लागि मंसिर ४ कुर्न पर्ने बताए । “मंसिर ४ पछि एमाले मूल ढोकाबाट सिंहदरबार छिर्छ,” उनले भने ।
मुलुक आर्थिक रूपमा टाट पल्टिने अवस्थामा पुगेको र यही अवस्था कायम रहे कालोसूचीमा पर्ने खतरा त्यत्तिकै रहेको भन्दै पौडेलले सुशासन, विकास, स्थिरता र मुलुकलाई अग्रगति दिनका लागि अहिलेको सत्तारुढ गठबन्धन असफल भएको बताए ।
उनले बुटवल भैरहवालाई जोडेर मेघासिटीको रूपमा विकास गर्नका लागि आफूले प्राथमिकतामा राखेको बताए । कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य एवम् रुपन्देही क्षेत्र नम्बर २ (१) का उम्मेदवार लिला गिरीले प्रदेशसभामा विगतमा आफूले खेलेको भूमिकाको स्मरण गर्दै कतिपय अवस्थामा कमी कमजोरी भए पनि कार्यकर्ता र जनताको सुझाव अनुसार अगाडि बढ्ने अठोट व्यक्त गरे ।
त्यस अवसरमा क्षेत्र नम्बर २ प्रदेश सभा १ अन्तर्गत देवी वाग्लेको संयोजकत्वमा प्रदेशसभास्तरीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको थियो । कमिटी घोषणा गर्दै वाग्लेले अब चुनावी अभियान घरघरमा केन्द्रीत गर्ने बताइन् । एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष तामनाथ पाण्डेले वडास्तरमा पनि निर्वाचन परिचालन कमिटी र प्रचारप्रसार कार्यालय स्थापना गर्न लागिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया