चाडबाडमा फिल्म चलाउने होडबाजी

काठमाडौं । दशैँमा दर्शक पनि रमाइलो गर्ने मुडमा हुन्छन् । यही कारणले हुनुपर्छ, फिल्म निर्माताले पनि दशैँको अवसर पारेर फिल्म रिलिज गर्न निकै दौडधूप गर्छन् । यस वर्षको दशैँको अवसर पारेर चलचित्र ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ प्रदर्शनमा आए । दशैँको अवसर पारेर रिलिज भएका दुवै चलचित्रले दर्शकबाट समेत राम्रो प्रतिक्रिया पाए । सल्लाहअनुसार एकै दिन रिलिज हुने भनिएका चलचित्र एक हप्ताको अन्तरमा आए । व्यापारिक हिसाबले दुवै फिल्मलाई कम मार प–यो ।

दीपक–दीपाको टीमले बनाएको फिल्म ‘छक्का पञ्जा ३’ र अशोक शर्माले निर्देशन गरेको फिल्म ‘जय भोले’ मात्र होइन, यही मितिमा अर्को चलचित्र ‘चंगाचेट’ पनि प्रदर्शन हुने योजनामा थियो । तर, दुई चलचित्रले हल हडपेपछि फिल्म दशैँबाट पर हटेर तिहारमा पुग्यो । तिहारको अवसर पारेर रेखा थापाको फिल्म ‘मालिका’ पनि रिलिज हुँदैछ ।

तिहारकै मौका पारेर रिलिज गर्दा केही राहत त फिल्मले पाउलान् तर स्तरीय सिनेमा बन्न सकेन भने फिल्मले राम्रो व्यापार नगर्ने फिल्मकर्मी नै बताउँदै आएका छन् । दशैँभन्दा केही हप्ताअघि मात्र रिलिज भएको चलचित्र ‘निर्जला’ ले हलमा पानीसमेत खान पाएको थिएन । यद्यपि दशैँको मौका पारेर रिलिज भएका दुई फिल्म ‘जय भोले’ र ‘छक्का पञ्जा ३’ ले भने दर्शकको ध्यान खिच्न सफल भएका छन् ।

दशैँलगत्तै तिहारमा रिलिज हुने दुई फिल्म ‘मालिका’ ले महिला सशक्तीकरणको मुद्दा उठाएको भनिएको छ भने अर्को चलचित्र ‘चंगाचेट’ ले चाहिँ पैसाको पछि लाग्दा फस्न सकिने सम्भावित जोखिमलाई देखाएको छ । अहिलेसम्मको पूर्वबजार हेर्दा चलचित्र ‘चंगाचेट’ को चर्चा केही बढी देखिएको छ । ‘चंगाचेट’ को टिमले सार्वजनिक गरेको गीत ‘गोजीमा दाम छैन’ पछिल्लो समय चर्चामा रहेको गीत हो । यस्तै ‘मालिका’ को गीत ‘हल्का माया के माया’ बोलको गीत पनि दर्शकले रुचाएका छन् ।

व्यापारको लोभ

दशैँ तिहार तथा अन्य चाडबाडमा फिल्मको व्यापार बढी हुने गर्छ । नेपालमा मात्र होइन, विदेशमा पनि चाडबाडको अवसर पारेर फिल्म रिलिज गर्ने गरिन्छ । आमिर खानले आफ्ना प्रायः फिल्म चाडबाड पारेर रिलिज गर्ने गर्छन् । अर्का बलिउडका हस्ती सलमान खानले पनि आफ्ना फिल्म प्रायः इदको अवसर पारेर रिलिज गर्ने गर्छन् । नेपालमा पनि दशैँ, तिहार र नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्ने चलन छ । एक फिल्मकर्मी भन्छन्, – चाडबाड तथा नयाँ वर्षमा नेपालीको मन अझ बढी खुशी भएको हुन्छ, यस्तो बेलामा फिल्म हेर्ने दर्शक पनि बढ्ने सम्भावना पनि हुन्छ । त्यसैले गर्दा पनि ठूला फिल्मले चाडबाड पारेर फिल्म रिलिज गर्ने कोशिश गरिन्छन् ।

संयोगवश गत वर्षलाई हेर्दा पनि यस्तै चाडबाड या नयाँ  वर्ष पारेर रिलिज भएका सिनेमाले राम्रो व्यापार गरेका थिए । गत वर्ष ‘छक्का पञ्जा २’ को फूलपातीको दिन र अर्को सफल चलचित्र ‘शत्रु गते’ नयाँ वर्षको अवसर पारेर रिलिज भएको थियो । एकाध फिल्म भने चाडबाडविना रिलिज भएर पनि व्यापारिक रुपमा सफल भएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?