काठमाडौं । ज्याज फेस्टिभलको १८औँ संस्करण नेपालमा गुणस्तरीय ज्याज ल्याउन, सांस्कृतिक सीमाना नाघेर संगीतको माध्यमबाट शान्ति र करुणाको सन्देश फैलाउने उद्देश्यले अक्टोबर १३ देखि १९ सम्म हुने भएको छ ।
कोभिड–१९ को महामारीका कारण दुई वर्षको अन्तरालपछि फर्किएको सूर्य नेपाल ज्याजमाण्डु–२०२२ मा जम्मा सात कलाकारको सहभागिता रहनेछ । ज्याजमाण्डु आयोजकका अनुसार छ दिनसम्म चल्ने ज्याज फेस्टिभल अक्टोबर १३ मा बालुवाटारस्थित मालपी इन्स्टिच्युटमा कन्सर्ट तथा संगीत प्रतियोगिताबाट सुरु हुनेछ । ज्याजमाण्डुको बहुप्रतिक्षित ज्याज बजार अक्टोबर १५ को दिउँसो आयोजित हुनेछ, जहाँ उपस्थितहरूले गोकर्ण फरेस्ट रिसोर्टमा अविश्वसनीय संगीतको आनन्द लिन सक्नेछन् । महोत्सव अक्टोबर १९ मा दरबारमार्गको होटल याक एन्ड यतिमा पूर्ण महोत्सवको तयारीका साथ समापन हुनेछ ।
सन् २००२ मा पहिलो पटक आयोजना गरिएको ज्याजमाण्डु आजसम्म आउँदा सूर्य नेपालको सहकार्यको साथले अधिकतम उचाई लिन सफल भएको छ । ज्याज संगीत प्रवर्धनको रुपमा सुरु गरिएको सूर्य नेपाल ज्याज फेष्टिभल अहिलेसम्म आइपुग्दा बहुप्रतिक्षित साँगीतिक कार्यक्रमको रुपमा स्थापित भइसकेको छ ।
धेरै मानिसहरूलाई संगीतको पहुँचमा पुर्याउन सूर्य नेपाल ज्याजमाण्डुले निःशुल्क शोहरु, विद्यालय लक्षित शैक्षिक कार्यक्रमहरु तथा कार्यशालाहरू मार्फत सक्रिय रूपमा कार्य गरिरहेको छ । यसले संगीतकार, स्वयंसेवक, फ्यान, विद्यार्थी र श्रोतालाई एकै ठाउँमा ल्याएर सांस्कृतिक अन्तरक्रियालाई पनि प्रवर्धन गर्दै आएको छ ।
नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रालिले ज्याज संगीत प्रवर्धनको निमित्त ज्याजमाण्डु आयोजकहरुसँग सहकार्य गरी अन्तर्राष्ट्रिय कलाकारहरुलाई नेपालमा प्रस्तुति गर्न लाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया