काठमाडौं–१ मा प्रकाशमानमाथि नयाँ अनुहारको चुनौति !

निर्वाचन विशेष

संघीयतापछि संसदको पहिलो कार्यकाल सकिएर दोस्रो कार्याकालका लागि निर्वाचन हुँदैछ । विविध कोणबाट यो निर्वाचन महत्वपूर्ण मानिन्छ । यसअघि देशमा निर्वाचनको माहोल तातेपछि जनतामा बहस सुरु हुन्थ्यो, कुन पार्टी र कसलाई जिताउने भन्ने । तर आगामी निर्वाचनमा परिदृष्य अलि फरक देखिँदैछ ।

त्यो हो, स्वतन्त्रहरुको उम्मेदवारी अनि राजनीतिभन्दा बाहिरबाट आएकाहरुको मतदातासामु परीक्षण । यसअघिका सबै निर्वाचनमा राजनीतिक दल बाहेक अन्यमा स्वतन्त्रबाट उठ्ने आँट वा चर्चा कमै हुन्थ्यो । तर। गत स्थानीय निर्वाचनमा धेरै स्थानमा स्वतन्त्रको उदयसँगै संघीय निर्वाचनमा समेत स्वतन्त्रको उम्मेदवारी ह्वात्तै बढेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार संघ वा प्रदेशका धेरै निर्वाचन क्षेत्रमा स्वतन्त्रहरुको बाहुल्यता रहेको पाइन्छ ।

यसअघि स्वतन्त्रहरुलाई भोट काट्न मात्र आएकाको रुपमा हेरिन्थ्यो । यद्यपि, स्थानीय निर्वाचन तहमा आएको परिणामले भने जनताले साच्चै परिवर्तन खोजेका छन् भन्ने संकेत दिएको छ । जसकारण राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेकाहरुमाथि चुनौति खडा भएको छ ।

यी र यस्तै चुनौति काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पनि छ । यहाँ ‘हेभीवेट’ र सामाजिक रुपमा ख्याती कमाएका व्यक्तिहरु चुनावी प्रतिस्पर्धामा छन् ।

यो क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका तर्फबाट किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमले उम्मेदवारी दर्ता गराएका छन् । ती मध्ये सिंह र मिश्र पुराना प्रतिष्पर्धी हुन् भने खरेल, बम र पौडेल पहिलोपटक संघीय निर्वाचनमा होमिएका हुन् ।

०७४ को निर्वाचनमा मिश्रसँग हम्मेहम्मे गरी जितेका सिंह आगामी निर्वाचनमा पनि जित जोगाउने तयारीमा छन् । यता राप्रपाबाट उम्मेदवार बनेका मिश्र भने सिंहलाई हराएर संसद छिर्ने ध्याउन्नमा छन् ।

त्यस्तै, नेकपा एमालेबाट पौडेल पनि बलियो दाबेदारका रुपमा प्रस्तुत भएका छन् । युवा संघको अध्यक्षसमेत रहेका पौडेल युवा भएकाले पनि उनीप्रति मतदाता आकर्षित हुन सक्ने कतिपयको आँकलन छ ।

त्यसैगरी, नेपाल प्रहरीका पूर्व डीआइजीसमेत रहेका खरेल पुराना अनुहारलाई पछारेर संसद छिर्ने कसरतमा छन् । अन्य राजनीतिक दलमा उम्मेदवार छनोटका किचलो चलिरहँदा उनी खरेल भने मतदाताका आँगनमा पुगिसकेका थिए ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका बम पनि जित्ने ‘कन्फिडेन्ट’ का साथ निर्वाचनमा होमिएका छन् । विभिन्न नागरिक आन्दोलनको अग्रमोर्चामा रहेर खटिएका बम कोरोना कालमा सबै नागरिकको निःशुल्क पीसीआर परीक्षणको माग गर्दै अनसन बसे । जसले उनलाई आम नागरिकमाझ परिचित गराउन सहयोग गर्यो । बम ०७४ को स्थानीय निर्वाचनमा समेत चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

यी सबै उम्मेदवारको भारी यसपाली गठबन्धनका उम्मेदवार सिंहलाई गह्रुँगो पर्ने देखिन्छ । यद्यपि, सिंह भने आफ्नो विरासत जोगाउने कसरतमा छन् ।

सिंह र मिश्रको गिरेको साख

नेपाली राजनीतिमा सबै भन्दा त्यागी नेताको छबी बनाएका कांग्रेसका संस्थापक नेता लौह पुरुष गणेशमान सिंहको छोरा हुन्– प्रकाशमान सिंह । उनले पनि नेपाली राजनीतिमा बेग्लै पहिचान बनाएका छन् । २०५१ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचिन सिंह २०६४ र ०७० मा काठमाडौं १ बाट संविधान सभा सदस्य निर्वाचित भए । यस्तै, गत ०७४ को निर्वाचनमा पनि उनले संघिय संसदको ढोका उघारे । यद्यपि, आगामी निर्वाचन भने सिंहका लागि कठिनाई पर्ने देखिएको छ ।

त्यसको पहिलो कारण हो, कांग्रेसको १४ औँ महाधिवेशन । शेरबहादुर देउवाको नेतृत्व असफल भएको भन्दै महाधिवेशनअघि अग्रमोर्चामा रहेर आलोचन गर्ने नेताका रुपमा चिनिन्थे, सिंह । उसो त उनले १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापति लड्ने आकांक्षा राखे । त्यो सम्भव नभएपछि उनले छुट्टै खेमा स्थापित गरेर विश्वप्रकाश शर्मालाई महामन्त्री र सुजाता कोइरालालाई उपसभापतिको उम्मेदवार बनाएर आफू सभापति लडे । पहिलोचरणको निर्वाचनमा सभापतिमा देउवा पहिलो, डा. शेखर कोइराला दोस्रो र सिंह तेस्रो भए । कुनै उम्मेदवारले पनि ५१ प्रतिशत नकटाएपछि दोस्रो चरणको निर्वाचनका बेला सिंहले संस्थापन इतरकै कोइरालालाई सघाउँछन् भन्ने धेरैको आँकलन थियो । तर, उनले पुनः सभापतिमा देउवालाई नै समर्थन गरेसँगै सिंहको पार्टीभित्र चर्को आलोचना हुन थाल्यो ।

साथै, स्थानीय निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा सिंहले आफ्नी श्रीमती तथा कांग्रेस नेतृ सिर्जना सिंहलाई उम्मेदवार बनाए । यद्यपि, प्रकाशमानका आलोचना गर्नेहरुका लागि भने त्यो मसला बन्यो । यता सिर्जना पनि महानगरमा पराजित भइन् ।

महाधिवेशनमा बोली फेरेर देउवालाई गरेको समर्थन र स्थानीय निर्वाचनमा परिवारवाद हाबी गरेको आरोप खेपेका सिंहलाई यिनै कुराले आगामी निर्वाचनमा केही कठिनाइ हुने देखिन्छ ।

यता अघिल्लो निर्वाचनमा सिंहलाई ‘आच्छुआच्छु’ पारेका मिश्रको ‘क्रेज’ त्यतिबेलाको जस्तो छैन । बीबीसीको जागिर छाडेर वैकल्पिक राजनीतिमा उदाएका मिश्रको त्यसबेलाको क्रेज बेग्लै थियो । जसकारण २०५१ सालबाट निर्वाचन लड्दै आएका सिंहलाई झण्डै–झण्डै पराजित गरिसकेका थिए । त्यतिबेला तत्कालिन विकेकशील साझा पार्टीबाट उम्मेदवार बनेका उनी आगामी निर्वाचनमा भने राप्रपाबाट उम्मेदवार बनेका छन् । पार्टीभित्र फुटको ठूलो श्रृंखलापछि उनले अन्ततः पार्टी नै छाडेर राप्रपामा प्रवेश गरे ।

संघीयता र गणतन्त्रको विरोध, राजतन्त्र र हिन्दुराष्ट्रको पक्षपोषण आगामी निर्वाचनका लागि मिश्रको मुख्य एजेण्डा छन् । तर, पार्टी राजनीतिमा राम्रोसँग परीक्षण भइसकेका उनलाई अघिल्लो निर्वाचनमा जस्तो मतदाताले पत्याउलान् वा नपत्याउलान् भन्ने चाहिँ हेर्न बाँकी छ ।

स्थानीय निर्वाचनलाई नियाल्दा

गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनलाई हेर्ने हो भने सो क्षेत्रमा नेपाली कांग्रेसका वडाध्यक्षहरुले पाएको मत धेरै छ । यहाँ नेपाली कांग्रेसका वडाध्यक्षहरुले पाएको कुल मत ९ हजार ८ सय ९५ रहेको छ । यता नेकपा एमालेका उम्मेवारले पाएको मत ९ हजार ५ सय ४१ रहेको छ । यसरी हेर्दा नेपाली कांग्रेस र एमालेको मत भिन्नता ३ सय ५४ मात्र देखिन्छ ।

त्यसो त मतका आधारमा तेस्रो बनेको राप्रपाको मत १ हजार ३ सय ७६ रहेको छ । हाल गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रका वडाध्यक्षले पाएको मत १ हजार १ सय ५९ छ । यसरी समग्रमा गठबन्धनको मत ११ हजार ५४ पुग्छ । यसले प्रकाशमान सिंहलाई केही सहज हुने आँकलन गर्न सकिन्छ । तर, गत स्थानीय निर्वाचनमा काठमाडौंका मतदाताले जनप्रतिनिधि छनोट गरेको परिदृश्यले भने आगामी निर्वाचनमा कस्ता प्रतिनिधि चुनिने हो त्यो हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?