काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको पुस्तक ‘हृदय’ को नियमित संस्करण सार्वजनिक गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिवार उक्त पुस्तक सार्वजनिक गरिएको हो । ‘हृदय’ को विशेष सीमित संस्करण भने गत भदौ २८ मा सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा लेखक बुद्धिसागरले नयाँ कलेवरसहित आएको आफ्नो कवितासङ्ग्रह ‘बुद्धिसागरका कविता’बाट केही कविता वाचन पनि गरे । साथै, उनको नयाँ कलेवरसहितको कवितासङ्ग्रह पनि बजारमा गएको कार्यक्रममा जानकारी दिएका थिए । कार्यक्रममा सङ्गीतकर्मी अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति पनि रहेको थियो । यो विशेष कार्यक्रम नेपाल लिटरेचर फेस्टिभलको ‘बुक अड्डा’ शीर्षकअन्तर्गत आयोजना गरिएको हो ।
कार्यक्रममा डा. कोइरालाको पुस्तक ‘हृदय’बारे विद्वान् राम लोहनीले समीक्षात्मक टिप्पणी गरेका थिए । डा. कोइरालाको पुस्तक ‘हृृदय’ले नेपालको स्वास्थ्य क्षेत्रका समस्या, समाधान एवम् यससम्बद्ध विषयलाई मात्र नभई कोइरालाले आफ्नो जीवनमा सामना गर्नुपरेका सङ्घर्षहरूलाई विशेष रुपमा प्रस्तुत गरेको लोहनीले बताएका थिए । साथै, यसले हामी सबैलाई आफ्नो काममा प्रतिबद्ध भएर लागिपर्न सके सफलता टाढा छैन भन्ने किसिमको विशेष प्रेरणा प्रदान गर्ने उनको भनाइ छ ।
‘हृृदय’को नियमित संस्करण काठमाडौंका लागि प्रतिपुस्तक ६ सय ५० र काठमाडौं बाहिरका लागि ५ सय ७५ रुपैयाँ मूल्यमा उपलब्ध रहेको प्रकाशक फाइनप्रिन्टले बताएको छ । हालसम्म ‘हृदय’को सीमित विशेष संस्करण झन्डै ६ सय प्रति पुस्तक बिक्री भइसकेको पनि फाइनप्रिन्टले जनाएको छ ।
२ हजार ५ सय प्रति मात्र मुद्रण भएको ‘हृदय’ को विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माण परियोजनामा खर्च गरिनेछ । यस्तै, विशेष संस्करण खरिद गरी सहयोग पुर्याउने २ हजार ५ सय सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया