पुटिन र ट्रम्पको शिखर बैठक अर्को वर्ष

मस्को । रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ । 

रुसको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार अमेरिकाको वासिङटनमा शिखर बैठक गर्ने गरी तयारी भएको हो । 

“म निर्धक्क भन्न सक्छु कि त्यसका लागि हामी तयार छौं,” रुसको राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले पत्रकारहरूसँग भने । 

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिका र रुसबीच शिखर बैठक हुने सम्भावना रहेको बताएको केही समयपछि पेस्कोभको यस्तो भनाइ आएको हो । 

उनले यो विषय छलफलका लागि अझ बढ्दै जाने र अहिलेसम्म कुनै ठोस निर्णय भइनसकेको पनि स्पष्ट पारे । 

तर सम्भावित शिखर बैठकका लागि रुसका तर्फबाट भने तयारी भइरहेको प्रवक्ता पेस्कोभले जानकारी दिए । 

अमेरिकी सुरक्षा सल्लाहकार बोल्टन गत आइतबार मस्को आउनु भएको थियो । उनले रुस भ्रमणका क्रममा राष्ट्रपति पुटिन र अरू रुसी उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए । 

भ्रमण र भेटवार्तापछिको एउटा पत्रकार सम्मेलनमा सुरक्षा सल्लाहकार बोल्टनले पुटिनलाई भेट्ने ट्रम्पको चाहना रहेको बताएका थिए ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?