कृषि शिक्षामा देखिएका यी समस्या : जसले कृषिक्रान्तिको बाटोमा फूलस्टप लगायो, प्रा. डा. दुर्गादत्त ढकालसँग भिडियोवार्ता

यसरी जन्मियो ओखती साबुन

नेपाल कृषि प्रधान देश हो । यसमा दुईमत छैन । ६० प्रतिशत भन्दा बढी जनसङ्ख्या कृषिमा आवद्ध भएको देशमा किन कृषि क्षेत्रबाट सोचेजस्तो प्रतिफल पाउन सकिएको छैन ? कृषि शिक्षा विकास भएपनि कृषि शिक्षाले कृषि क्षेत्रलाई विकास गर्न नसक्नुको मुख्य कारण के हो ? विद्यार्थीलाई प्रयोगात्मक र प्राविधिक शिक्षा दिनबाट नेपाली शैक्षिक प्रणाली चुकेको हो ? जस्ता विभिन्न प्रश्न साथै समसामयिक विषयमा केन्द्रित रहेर लोकपथकर्मी अनिता आचार्यले  कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, त्रिविका पूर्व डीन प्रा.डा दुर्गादत्त ढकालसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

के मा व्यस्त हुनुहुन्छ ? 

 हाल श्री जय काली जडीबुटिको अध्यक्ष छु । यसले ओखती हर्वल साबुन उत्पादन गर्छ । दुई ठाउँमा पार्ट टाईम काम गर्छु । 


राजनीतिक परिवर्तन पछि जनताले प्रविधिक शिक्षा पाउनुपर्छ, भन्ने आवाज उठ्यो । तर मास्टर्स डिग्री सकिएकाहरु बेरोजगार भएको अवस्था छ । किन यस्तो हुन्छ ? 

कृषि शिक्षा २०१४ साल देखि सुरु भएको हो । पहिला जगदम्वा कृषि भवन  काठमाडौँमा थियो । पछि २९/३० तिर रामपुर गएपछि कृषि स्नातक पढाई सुरु भयो । त्यति बेला सम्म हामीले जति पनि विद्यार्थी उत्पादन गरेका छौँ, कोहि पनि बेरोजगार छैन ।  कृषि पढ्ने धेरैजसो विद्यार्थीहरु बाहिर गएका छन् ।  दिनानुदिन  ब्रेनड्रेन  भइरहेका छन् ।

२० देखि २५ प्रतिशत ‘क्रिम’ विद्यार्थीहरु बाहिर गएका छन् नेपालमा जति पनि छन् उनीहरु सबैले
काम पाएका छन् ।  यहाँ रहेका कोहि पनि कृषिमा बेरोजगारी छन् भन्ने मेरो जानकारीमा छैन । 

 


अरु पाठ्यक्रमहरुमा पनि समस्या देख्नुभएको छ  ? 

समस्या छ । एमबीबीएस तथा  बिई गर्नेहरु पनि धेरै छन् । यीनिहरुले काम नपाउने  अवस्था छ । नेपालको आवश्यकता हेरेर, आन्तरिक, बाह्य मार्केट हेरेर अबको पाठ्यक्रम बनाउनुपर्छ । कुनै बिषय यस्तो छ कि हामी पढाउछौ बिद्यार्थी उत्पादन हुन्छ तर बिषय अनुसार मार्केट हुदैन । त्यसैले हामीले समुदायको आवश्यकता हेरेर अध्ययन गर्नुप-यो, आउने १० वर्षमा कस्तो जनसंङख्या उत्पादन गर्नुपर्यो । खै त अध्ययन अनुसन्धान भएको ? नेपालमा यो किसिमको समस्या छ । 

सरकारको यो बिषयतिर ध्यान नै थिएन । अहिले बिस्तारै नयाँ सरकार आइसकेपछि यो शिक्षालाई जोड दिएको छ । 

अब आउने ५ वर्षमा किसानको आवश्यकता के हो त्यसलाई मध्यनजर गरेर अगाडी बढ्न ढिलाई गर्नुहुँदैन ।  


कृषि शिक्षाको लागि आवश्यक प्रविधिमा नेपाल कत्तिको सशक्त छ ? 

कृषि शिक्षा अरु शिक्षा भन्दा भिन्न किसिमको छ । यो फिल्डमा गएर अवलोकन गर्नुपर्ने हुन्छ । कृषि विकासका तीन ओटा खम्बा हुन्छन्, एउटा शिक्षा, जसमा हामी  जनशक्ति तयार गर्छौ । अर्को, रिसर्चबाट प्रबिधि तयार गर्छौ ।  र विकाश यसले प्रबिधि प्रसार गर्छ । तर यी तीन बिषयको तालमेल मिलेको छैन ।  हामीले जनशक्ति तयार गरेका छौ तर रिर्सचमा, संरचनागत  अन्र्तगत त्रुटि छ । 

कृषिमा जस्तो जिल्ला जिल्लामा रहेका डाडो (जिल्ला कृषि विकास कार्यालय )  अफिसहरु उनीहरुले प्रविधीको त्यति राम्रो उपयोग नहुन सक्छ । यी तीन ओटाकै कार्यमा तालमेल मिलेको छैन । 

हामीले हाम्रो विद्यार्थीहरुमा  प्राक्टिकल राम्रो गराईरहेका छौँ, उनिहरुले नेपालमा मात्र होईन विदेशमा पनि टप पोजिसन हासिल गरिरहेका छन् । कतिपय कुरामा केहि कमिकमजोरीहरु होलान् ।  हाम्रो करिकोलम धेरै स्र्टयान्डर छ, हाम्रा बिद्यार्थीहरु ग्लोवल स्टान्र्डरका  छन् हाम्रा कृषि  स्नातकहरु विदेशबाट सिधै पिएचडि गरेर  नेपालमा आउने पनि छन् ।  

अहिले सरकारले बनाइरहेको नीतिनियम र विद्यार्थीहरुको आवश्यकताको तालमेल मिलेको छ ?

पहिलाको DADO र सेवा केन्द्र भङ्ग गरेर अहिले कृषि विज्ञान केन्द्र खोल्ने कुरा भइरहेको छ । यो प्रत्येक नगरपालिका गाउँपालिका मा खुल्दै छ । अब यसले नेपालको भौगोलिक विषेशताको आधारमा त्यहाँको कम्पेरेटीभ  एड्भान्टेजेज के छ ? किसानको कस्तो अवस्था छ ?  त्यहाँको हावापानी त्यहाँको किसानले कस्तो तरिकाले खेती गर्दछन् त्यो सबै मध्य नजर गरेर उनीहरुको लागि प्लान बनाउनुपर्छ  र किसानालाई सकेसम्म तलिम दिनुपर्छ । 

अझैपनि कृषिमा आबद्ध ग्रामिण समुदायमा आमावुवा सबैजना आफ्नो सन्तान पाईलट इन्जीनियर बनोस भन्ने चाहन्छन् । यसप्रति आकर्षण नभएको कृषि र कृषि सम्बन्धी जानकारी नभएर पनि हो । अर्कोकुरा प्रविधि र अबसरहरुको बारेमा जानकारी नभएको कारणले यो पेशा ओझेलमा परेको हो । 

अहिले किसानले बुझ्न थालेका छन् । कृषि प्राबिधिक शिक्षा रोजगारमुलक छ, यो पढेर तुरुन्त काम पाउन सकिन्छ, भनेर धेरै जसो आकर्षक भएका पनि छन्, बिगतमा थाहा नभएर, जनचेतना को अभावले पनि यस्तो भएको हो । 


कृषि शिक्षामा देखिएका समस्याहरु के के छन् ?

युनिभर्सिटीहरुमा अधिक मात्रामा राजनीति भइरहेको छ । यसलाई न्युट्रलाइज गनुप¥यो । यसमा विद्यार्थी, शिक्षक,कर्मचारी कसैलाई पनि राजनीतिमा समावेश गराउनु भएन ।

दोस्रो, शिक्षा कृषि, रिसर्च, र विकास यी तीनै विषयलाई जोड्न जरुरी छ तर यो जोडिएको छैन । प्रविधि विकास गर्ने संरचना प्रविधिमैत्री छैन, किसानमैत्री छैन, कर्मचारी मैत्री छ । यसलाई पुर्नगठित गर्न जरुरी छ । 

तेस्रो स्थाइत्व पनि छैन । नयाँ कृषिमन्त्री आउँछन् । आफ्ना मान्छेलाई ED लगायत ठूल्ठूला पदमा राख्छन् । अनि सरकार परिवर्तन हुनासाथ ती पदमा आसिन व्यक्तिहरु पनि परिवर्तन हुन्छन् । त्यसैले सम्पूर्ण ढाँचामा परिवर्तन गर्नुपर्ने देखिन्छ । 

चौँथो प्राविधीक रुपमा हामी सशक्त बन्नै सकेनौँ । यसको लागि हरेक तह र तप्काबाट कोशिस गरिनुपर्छ । 

पाँचौँ भनेको विद्यार्थीहरुलाई ईन्टर्नसिपको व्यवस्था हुनुपर्छ । नेपालमा त्यसो हुन सकेको छैन । 

 


 

कृषि अध्ययन गर्ने विद्यार्थीहरुको लागि आएको अनुदान, छात्रवृत्तिको व्यवस्था कस्तो छ ?

हाल नेपाल सरकारको तर्फबाट युनिभर्सिटी शिक्षा त्यति महंगो छैन ।  त्रिभुवन विश्व  विद्यालयकै कुरा गर्ने होे भने कृषि शिक्षा महँंगो छैन । (B.Sc. Ag.) मा शुल्क धेरै छैन । मास्टर्सको  (M.Sc. Ag. )पनि  शुल्क पनि धेरै छैन । तर नेपाल सरकारले युनिभर्सिटीलाई जुन रकम दिन्छ, त्यो सुक्दै गइरहेको  छ । अब हाइस्कुल शिक्षा फ्री गरिदिने र उच्च शिक्षामा आफै कमाउ भन्ने सिद्धान्त भएकोले नेपालमा पनि उच्च शिक्षाले जति अनुदान पाउनुपर्ने हो , त्यो घटिरहेको छ ।

भारतकै कुरा गर्दा, त्यहाँ पनि खान पुग्दैन थियो । पछि उनीहरुले प्रविधिमुलक कृषि शिक्षाको शुरुवात गरे । त्यहाँ शिक्षा, अनुसन्धान र विकास यी तीन कुरालाई जोड दिए । जबसम्म अनुसन्धान गरिँदैन, शिक्षालाई जोड्न सकिँदैन यसलाई अगाडि बढाउन सकिँदैन, यी कुराहरुमा समन्वय हुनुप-यो । 

 


 

नेपाल कृषिमा आश्रित भएको तथ्याङ्क मात्रै छ, हामीसँग त । योजना आयोगमा तपाई लामो समय हुनुहुन्थ्यो । किन यस्तो भएको ?


योजना आयोगमा भूउपयोग नीति तर्जुमा गर्न म त्यहाँ गएको थिएँ । दस्तावेज बन्यो । नवौं पञ्चवर्षिय दस्तावेजमा ‘भू- उपयोग नीति’ भनेर लेखिएको छ ।  

नेपाल कृषि अनुसन्धानमा अलि कमजोर भयो । कृषिमा जति पनि विकास भयो त्यो पर्याप्त छैन । हामीसँग जनशक्ति कम भयो ।  ३/ ४ वटा  गा.वि.स मा एउटा कृषि केन्द्र /उपकेन्द्र हुन्थ्यो । त्यसले सबैलाई हेर्न सक्दैन थियो । कृषकलाई दिइने सेवा नै उनीहरु समक्ष पुर्याउन  नसकेकाले हामी पछि परेका हौं । 

अबका दिनमा ‘एक्स्टेन्सन वर्करहरु’ जो छन् उनीहरुलाई  परिचालन गरेर किसानको घरदैलो मा पु-याउन सक्नु पर्छ । नेपाल सरकारले साना साना किसान लाई मात्र हेरेर हुँदैन । अब दुई किसिमका रणनीति लिनुपर्यो । । एउटा  साना किसानलाई , अर्को ठूला कृषि उद्यमीलाई  ।

साना किसान लाई हेर्ने र उद्यमीलाई नहेर्ने गर्दा कृषि विकाश हुन सक्दैन । अरु देशमा के हुन्छ भन्दा कृषि क्षेत्रलाई प्राथमिक उद्योगमा राखिन्छ । उनीहरु ठुला उद्योगलाई मिसीनीकरण गर्ने कस्ट उत्पादनलाई कम गर्ने र त्यसलाई एक्सपोर्ट  गर्ने,  नेपालमा पनि साना किसानका  साथ साथै ठुला तथा मझ्यौला कृषि  उद्यमीलाई पनि अगाडी लैजानु अवश्यक छ । जस्तो इन्डीयामा टाटा चिया बगान छ तर  टाटा त किसान होईनन् । उनि ठूला उद्यमी हुन् । नेपालमा पनि त्यस्ता उद्यमीलाई भन्नपर्यो । आउ योजना बनाउ । र कृषिमा लगानी गर ।  यस्ता उद्यमीलाई विशेष किसीमको सहुलियत दिनुपर्यो । यसो गर्दा कृषि यान्त्रिकरणमा टेवा पुग्ने, उत्पादन लागत कम हुने हुँदा उद्यमीहरुको कृषि वस्तुको निर्यात सहज  हुन्छ ।  

 


 

तपाई श्री जय काली  जडिबुटि उद्योगको अध्यक्ष हुनुहुन्छ,  यो ओखती साबुनको सोँच कसरी जन्मियो ?

ओखती सावुन एक र्हवल सावुन हो, म एजुकेशन र रिसर्चलाई जोड्नुपर्छ भन्छु मेरो यसमा खास उद्देश्य के छ भने नेपालमै उत्पादन हुने उच्च स्तरका जडिबुटिलाई प्रशोधन गरेर, नयाँ नयाँ भेराइटिको सावुन, त्यसपछि कस्मेटिक सामाग्री हुन सक्छ, नेपालकै कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्ने । मलाई लाग्छ, यो हर्वल सावुन देश भरि पुगीरहेको छ । हामीलाई अहिले अलि समस्या छ । सरकारले हामी जस्तो उद्योगलाई विषेश किसीमले हेर्न सक्नु पर्छ ।  

 ओखती साबुनमा चिउरीको प्रयोग हुन्छ । हामीले एलोभेरा तितेपाति, जस्ता नेपालका चिजहरु प्रयोग गरेका छौँ । कोकोनट को तेल प्रयोग गरिरहेका हुन्छौँ । हामीले के सोचेका छौँ भने नेपालकै कच्चापदार्थबाट उत्पादन गर्न सकियोस् । मेरो सोचाई भनेको नेपालमा पाईने विभिन्न जडिबुटिहरुलाई कम्बीनेसन गरेर राम्रो उत्पादन दिने हो ।  

ओखति साबुनको उत्पादन काठमाडौँमा हुन्छ, हाम्रो बिभिन्न डिलरहरु जिल्ला जिल्लामा रहेका छन्, डिलरकै माध्यमबाट बितरण गछौँ । दैनिक ५०/६० हजार पिस उत्पादन हुन्छ । 

अहिले साबुनका लागि केहि आवश्यक कच्चापदार्थ अन्य मुलुकबाट  मगाउनु पर्ने हुन्छ । कर बढिरहेको छ । खर्च बढिरहेको छ, तर हाम्रो वस्तुको मुल्य बढाउन सकेका छैनौँ । 

 

नेपाली उद्योगहरुले जनशक्तिको चर्को अभाव झेलेको भन्छन्, के हो वास्तविकता ? 

महिला कामदारको संख्या बढी छ । ८० प्रतिशत महिला हाम्रोमा काम  गर्छन् । हामी स्थानिय महिलाहरुलाई बढी प्राथमीकता दिन्छौँ । 

 


अन्तिममा के भन्न चाहनुहुन्छ ?

 शिक्षालाई व्यवसाय तथा उद्योग सँग जोड्न जरुरी छ । यसरी जोड्न नसके सम्म बिजनेस र  शिक्षा दुबै प्रभावकारी हुँदैन । यो तादम्यता नमिलेसम्म विकास हुन सक्दैन । 


 

Leave a comment