मंसिर ४ को आमनिर्वाचन केही कारणले रोचक बन्दैछ । एक त प्रत्येक निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी, अर्को अघिल्लो निर्वाचनमा सहयात्री बनेकाहरु प्रतिष्पर्धी र प्रतिष्पर्धी बनेकाहरु अहिलेका सहयात्री । यो परिदृश्यले पक्कै पनि आगामी निर्वाचनको मत परिणाम कसरी आउँछ भन्ने विश्लेषण गर्न कठिन छ ।
०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर वाम गठबन्धनसहित चुनावमा होमिए । गठबन्धनको कारण सिट बाँडफाँट गर्दा धेरै नेताहरु तत्कालिन वाम गठबन्धनका उम्मेदवारलाई जिताउन लागे । तर, पाँच वर्षपछि नेपाली राजनीति युटर्न भयो ।
हिजो जो जसको साथमा थियो अहिले छैन र जो हिजो साथमा थिएन अहिले सहयात्री बनेको छ । त्यसको कारण हो, नेकपा खारेज र एमाले विभाजनसहित माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) को गठन ।
त्यसो त देशका धेरै निर्वाचन क्षेत्रमा अघिल्लो पटक वाम गठबनधनबाट एक–अर्काको सहयोगी बनेका नेताहरु अहिले प्रतिष्पर्धी बनेका छन् ।
यही परिदृश्यका बीच चुनावी मैदानमा छन्, गुल्मी क्षेत्र नम्बर २ मा। विद्यार्थी राजनीतिमा एउटै मोर्चाबाट संघर्ष गरेका यी दुई नेता आगामी निर्वाचनको मैदानमा प्रतिस्पर्धी बनेर उत्रिएका हुन् ।
सत्ता गठबन्धनको साथ पाएकी झाँक्री प्रत्यक्ष निर्वाचनमा ‘डेब्यु’ गर्दैछिन् भने निर्वाचनमा ‘ह्याट्रिक’ गरिसकेका एमालेका विष्ट आफ्नो विरासतलाई जोगाउने कसरतमा छन् ।
०७४ को निर्वाचनमा तत्कालिन वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका विष्टलाई जिताउन अग्रमोर्चामा खटिएकी थिइन्, झाँक्री । उनी पनि त्यतिबेला एमालेबाट समानुपातिक सांसदको उम्मेदवार थिइन् । यता गोकर्णले पनि भारी मतान्तरसहित चुनाव जिते भने झाँक्री पनि सांसद भइन् ।
जब तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे त्यसको विरुद्धमा विष्ट र झाँक्री संसद पुनःस्थापनाको आन्दोलनको एउटै मोर्चामा उभिए । संसद पुनःस्थापनापछि जब माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी खोल्ने चर्चा चल्यो त्यसपछि भने विष्ट एमालेमै बस्ने निधो गरे । यता झाँक्री भने अध्यक्ष नेपालको दरिलो आधार बनेर उभिइन् । त्यसपछि यी दुई गुल्मेली नेताबीचको सहकार्य टुट्यो । झाँक्रीको पनि राजनीतिक रङ फेरियो । हिजो एमालेमा रहँदा सांसदमात्र रहेकी झाँक्रीले एकीकृत समाजवादीको फेरो समात्दा मन्त्री हुने अवसर पाइन् ।
यता विष्ट पनि ०५६, ०७० र ०७४ गरी तीनपटक निर्वाचित सांसद हुन् । ०७४ को निर्वाचनमा सो क्षेत्रबाट विष्टले ठूलो मतान्तरसहित जित हासिल गरेका थिए । ३४ हजार ६ सय १८ मतसहित विजयी भएका विष्टका प्रतिस्पर्धी कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १ सय ५६ मत प्राप्त गरेका थिए ।
यहीबीचमा विष्टले उर्जा तथा जलस्रोत मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाले । साथै, मन्त्री हुँदा गरेका केही जनमुखी कामले विष्टलाई थप चर्चामा ल्यायो । हालसम्मको राजनीतिमा स्वच्छ नेताको छबी बनाएका विष्टको विरासत भत्काउन झाँक्रीलाई कठिन पर्ने धेरैको आँकलन छ ।
गत स्थानीय निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने पनि यो क्षेत्रमा एकीकृत समाजवादीको मत थोरै छ । उक्त निर्वाचनमा एमालेबाट वडाध्यक्ष बनेका उम्मेदवारहरुको कुल मत ३१ हजार २ सय ५३ छ भने एकीकृत समाजवादीका वडाध्यक्षहरुले पाएको मत जम्मा ६ सय ६५ छ । त्यस्तै, गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेसको मत २९ हजार ८ सय २१, माओवादी केन्द्रको मत १ हजार ८ सय ४१ छ । यसरी एमालेभन्दा गठबन्धन १ हजार ६७ मतले मात्र अघि देखिन्छ ।
त्यसैले झाँक्रीले चुनावलाई आफ्नो पक्षमा पार्न कांग्रेसको मत लिनुपर्ने देखिन्छ । अब कांग्रेस विचारधाराका मतदाताले झाँक्री रोज्छन् या विष्टलाई नै दोहोर्याउँछन् ! त्यो थाहा पाउन भने निर्वाचनको मतपरिणाम नै कुर्नुपर्छ ।
विष्ट र झाँक्रीका आ–आफ्नै तर्क
विद्यार्थीदेखि पार्टी राजनीतिसम्म लामो समय सहकार्य गरे पनि आफूहरु आ–आफ्ना एजेण्डासहित चुनावमा होमिएको एमालेका उम्मेदवार विष्ट बताउँछन् । लामो समय एउटै पार्टीमा रहेर सहकार्य गरेको व्यक्तिसँग चुनावी प्रतिष्पर्धा गर्दा कस्तो महसुस हुँदो रहेछ ? भन्ने लोकपथको प्रश्नमा नेता विष्टले निर्वाचनमार्फत जनताको सेवा पुर्याउने उदेश्य रहेको बताउँदै आफ्नो ध्यान त्यतातिर मात्र रहेको घुमाउरो जवाफ दिए ।
‘निर्वाचन मार्फत जनताको सेवा गर्ने प्रतिबद्धता नै हामी नेताको भोट माग्ने आधार हो । हामी अरुले के गर्छन्, के बोल्छन् भन्ने कुराको त्यति धेरै सरोकार राख्दैनौँ,’ उनले लोकपथसँग भने, ‘हामी के गरी जनतामा सेवा पुर्याउने भन्ने मुख्य ध्येय रहेकोले निरन्तर जनताको सेवामा छाैँ, जनताको सेवामा नै रहन्छौँ ।’
यता गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी रामकुमारी झाँक्री भने राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र नहुने बताउँदै हिजोका दिनमा को कहाँ थियो भन्नेकुराको अर्थ नहुने तर्क गर्छिन् । ‘राजनीतिमा हामी कुन ठाउँमा कहिले थियाैँ भन्ने कुराको अर्थ हुँदो रहेनछ,’ लोकपथसँगको कुराकानीका क्रममा उनले भनिन्, ‘राजनीतिमा स्थायी सत्रु र मित्र हुँदैन भन्ने मदन भण्डारीको भनाइ अनुसार हाम्रो सन्दर्भमा पनि त्यतिकै सार्थक छ ।’
आफूहरु हिजोका सहयात्री रहेपनि आज प्रतिष्पर्धामा रहेको कुरालाई सामान्य र नियमित प्रक्रियाको रुपमा हेरेको उनले प्रतिक्रिया दिइन् । ‘हिजो विगतमा सँगै हिँडेका मान्छेसँग आज गठबन्धनबाट प्रतिष्पर्धा गर्दैछु । त्यसलाई स्वभाविक ढंगले लिएको छु,’ झाँक्रीले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया