बलात्कारपछि हत्या प्रकरण: अपराधीलाई पाकिस्तानमा फाँसी दिइयो, जैनवले त न्याय पाइन्, निर्मला पन्तले कहिले पाउने ?

दशैँ सकियो । एकाध घटनाबाहेक शान्तिपूर्ण रुपमा हर्सोल्लासपूर्वक आम नेपालीले आ आफ्नो गच्छेअनुसार दशैँ मनाए । 

राष्ट्रपति विद्या देवी भण्डारीले, समाजमा अनादिकालदेखि हर्षोल्लासपूर्वक परम्परागत मनाउने गरिएका विभिन्न चाडपर्वहरुले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिक सृदृढ सांस्कृतिक एकता र पहिचानलाई अक्षुण राख्न हाम्रो धरोहरका रूपमा रहेका र यी बहुमूल्य सांस्कृतिक सम्पदाको संरक्षण एवं सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न ठूलो सहयोग पुग्ने विश्वास सहितको शुभकामना दिईन् ।  

दशैँको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घीय प्रतिनिधिसभाका सभामुख, विभिन्न राजनीतिक दलका नेतालगायत नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तित्वले पनि बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी हार्दिक शुभकामना प्रकट गरे । 

उसैगरी आम नागरिकले पनि  । 

२०७५ को तीज सकियो, दशैँ सकियो । तर निर्मला पन्तको हत्यारा पत्ता लगाउन सकेन प्रहरीले । बालिका पन्तको हत्यारा को हो ? चौतर्फी गुन्जिने प्रश्न तर उत्तर कोहिसँग पनि छैन । भएकाहरु शक्तिमा छन् भन्छन् बुझ्नेहरु ।  

कञ्चनपुरको भीमदत्त नगरपालिका–२का  यज्ञराज र दुर्गादेवी पन्तको छोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९३ दिन बितिसक्यो । तर, प्रहरीले अहिलेसम्म निर्मला हत्याको मुख्य आरोपी समात्न सकेको छैन ।  

को हो त अपराधी ? अपराधी सँग प्रहरी प्रशासन डराएको हो कि, गृहमन्त्री ? 

 

घटनाको शुरुवात 

गत साउन १० गते निर्मला पढ्नको लागि साथीको घर गइन् । उनी त्यस दिन घर आइनन् । भोली पल्ट उनको शरीर मृत अवस्थामा उख्खु बारीमा फेला प–यो । 

घटनास्थलमा फिंगर प्रिन्ट, रौँ, रगत र विर्य लगायतको कुनै पनि प्रमाण संकलन भएन । घटनाको तथ्य सम्म पुग्न चाहिने आवश्यक प्रमाण नै संकलन नभएपछि हत्याराको खोजी र कारर्वाही कसरी गर्ला प्रहरीले ? 

घटनास्थलमा फिंगर प्रिन्ट, रौँ, रगत र विर्यलगायतको कुनै पनि प्रमाण संलग्न गनुपर्ने प्रहरीलाई थाहा थिएन कि प्रहरीले नियतवश सबै प्रमाण नष्ट ग–यो ? भेजिनल स्वाबको नमुना पनि विश्वसनीय छैन । दुई नमुना फरक प्रयोगशालामा गरिएका छन् । 

त्यतिबेला अनुसन्धानमा खटिएका प्रहरी टोलीले सबै प्रमाण नष्ट गरेकाले डिएनएका लागि संकलन गरिएको भनिएको भेजिनल स्वाबको नमुनामा विश्वास गर्ने ठाउँ छैन, त्यो नमुना कसरी र कहाँबाट ल्याइयो भन्ने पनि कसैलाई थाहा छैन । ६ ईन्च पानी जमेको ठाउँमा खोप्टो पारेर शव फालिएको थियो । धेरै कुरा जेलिएकाले निर्मलाको हत्या शक्तिशाली व्यक्तिले गरेर योजनाबद्ध ढंगले सबै प्रमाण नष्ट गरेको प्रष्ट छ । 

प्रमाण विना हत्याराको खोजी कसरी सम्भव होला ? घटनाको नजिक कसरी पुग्छ प्रहरी ? अनि घटनाको प्रमाण नष्ट गर्ने प्रहरीलाई के कार्बाही हुन्छ ? अहिले यो प्रश्नको जवाफ मागिरहेका छन् आम नागरिक तर जवाफ दिने कस्ले ?

गत भदौ ४ गते  अर्थात् घटनाको २४ दिनपछि निर्मला पन्तको हत्या आरोपमा ४१ वर्षीय दिलिपसिंह विष्टलाई प्रहरीले पक्राउ गर्यो । प्रहरीले उनलाई नै घटनाको मुख्य आरोपी भनेर सार्वजनिक पनि गरेको थियो ।  

अनुसन्धानमा विष्टले बयानमा क्रममा आफूले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गर्न आफूलाई प्रहरीले कुटपिट गरेको उनले रिहाईपछि बताएका थिए । 

निर्मला बलात्कारपछि हत्याको परिणाम शून्य ।

कञ्चनपुरमा आन्दोलन चर्कीन थाल्यो । हजारौं युवायुवतीहरु स्वस्फूर्त रुपमा निर्मलाको लागि न्याय माग्दै सडकमा उत्रिए । प्रधानमन्त्रीको राजीनामा पनि माग भयो । भिडले गृहमन्त्रीलाई पनि ‘टारगेट’ गरे । कि अपराधि पत्ता लगाउनुपर्यो कि त राजिनामा दिनुपर्यो । भिडको कुरा कसैले सुनेन । त्यो प्रयास पनि उपलधिशून्य नै भयो । 

जनताको आनदोलनबाट प्रहरीहरु निलम्बित त भए तर निर्मला बलात्कार पछिको हत्याले कुनै नयाँ मोड लिन सकेन । झन् रहस्यमय बन्दै गयो । 

निर्मला पन्त हत्याकाण्डको प्रारम्भिक अनुसन्धानमा संलग्न सबै २२ प्रहरीहरू माथि अनुसन्धानको गरियो । 

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए परीक्षण सुरु पनि गरियो । 

प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको तीनैको डिएनए नेगेटिभ आयो । यद्यपी यो डिएनए फरक फरक स्थानमा परिक्षण गरिएको थियो ।  

गत भदौ ३१ गते नेपाल प्रहरीले निर्मला हत्याको छानबिन गर्नका लागि एआईजी धिरु बस्नेतको नेतृत्वमा चार सदस्य छानबिन समिति गठन गरेको थियो । 

त्यस्तै कारागार व्यवस्थापन विभागका महानिर्देशक सह–सचिव हरि मैनालीको नेतृत्वमासमेत गत भदौ ७ गते पाँच सदस्य छानबिन समिति गठन गरेको थियो । 

उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिए फेरी फिर्ता पनि लिए । गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकले उनीमाथि पनि छानविन गर्ने भनि निर्णय गर्नेवित्तिकै उनी निर्मलालाई न्याय दिने भन्दै फेरि स्वेच्छाले फर्केको जवाफसहित काममा फर्किएका हुन् । के यो शंकास्पद थिएन  ? नागरिकको प्रश्न छ । 

तर जसो त्यसो गरेर भएपनि मैनाली नेतृत्वको छानबिन समितिले यही असोज ९ गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाइसकेको छ । 

गृहमन्त्रीको प्रतिबद्धता 

छोरीको न्यायको निम्ती हारगुहार गर्दै निर्मलाका आमाबुबा काठमाडौंमा आए । उनीहरुको गृहमन्त्री राम बहादुर थापा बादल सँगको भेटमा गृहमन्त्री स्वयम् आफैले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा अनुसन्धान तीव्र पारिएको भन्दै दोषीहरूलाई छिट्टै कारबाही गरिने वचन दिए । अनुसन्धानका क्रममा कुनै गल्ती भएको पाइए सम्बन्धित व्यक्तिलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

संसद्मा बोल्दै उनले भनेका थिए, निर्मला हत्याको घटनाका दोषीहरूलाई कानुनी सजायबाट उन्मुक्ति नदिने कुरामा विश्वस्त गराउन चाहन्छु । छानबिन तीव्र रूपमा अगाडि बढिरहेको छ । दोषीहरूलाई छिटो भन्दा छिटो कानुनको कठघरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु । 

 

गृहमन्त्रीसँगको भेट पछि दोषीलाई कारबाही हुने केही आशा निर्मलाको आमाबामा बढ्यो । 

सदनमा उठेका आवाज 

संसद्मा भने विपक्षी र सत्ताधारी दुवै दलका वरिष्ठ नेताहरूले समेत उक्त घटनालाई लिएर आवाज उठाए । 

जब दोषीलाई जोगाउन स्वयं राज्य लाग्दछ , तब निर्दाेषले न्याय माग्न कहाँ जाने? अपराधमा सामेललाई जोगाउन गरिएको प्रयत्न पनि अपराध हो। एउटा निर्दोष नागरिकलाई दोषीका रुपमा किटानी गरेर कारबाही अघि बढाएको विषय अपराधको पराकाष्ठा नै हो । एउटा बालिकालाई न्याय माग्दा अर्को बालक मारिनुपर्ने, यो कस्तो लोकतन्त्रको अभ्यास गराउँदै हुनुहुन्छ प्रधानमन्त्रीजीले ? सदनमा ताली रोकिएन । न त रोकियो बलात्कारका घटना । 

प्रधानमन्त्रीसँगको भेट 

प्रधानमन्त्री ओलीलाई भेटपछि निर्मलाकी आमा दुर्गाले घटनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएकी थिईन् । उनले न्याय पाउनेकी नपाउने भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेकी थिईन् । आँखाबाट बरर आँशु झार्दै दुर्गाले भनिन्, ‘हामीले न्याय पाउने कि नपाउने ?’ अब तपाईबाट पनि न्याय नपाए घर कसरी फर्किने ?

जवाफमा प्रधानमन्त्री ओलीले भने आफूले घटनालाई ढाकछोप गर्न नखोजेको स्पष्टीकरण दिएका थिए । घटनामा संलग्नहरुलाई कारबाही गर्न टोली खटाएको भन्दै उनले भने, ‘निर्मला हाम्री पनि छोरी हुन् । भोलि अरुलाई यस्तो नहोस् ।’

जिल्ला प्रहरीले घटनाको शुरुवातदेखि नै प्रमाण नष्ट गरेकाले वास्तविक अपराधीसम्म पुग्न कठिनाइ भइरहेको छ । यसबीचमा कम्तीमा ४ वटा अनुसन्धान टोली फेरिएका छन् भने ५ वटा टोलीले अनुसन्धान गरिरहेका छन् । प्रधानमन्त्री १२ वर्षमा भएपनि अपराधी पत्ता लगाउने भनिरहेका छन् । गृहमन्त्रीले घटना भएको केहि दिनमा नै संसदमा २ जना पक्रिएको अभिव्यक्ति दिएका थिए । उता प्रहरीले घटनामा आवश्यक पर्ने सबै प्रमाण नष्ट गरिसकेको छ ।

तर निर्मला पन्तको जस्तै प्रकृतिको घटना पाकिस्तानमा पनि भएको थियो । 

भएको के थियो ? 

जैनब आन्सरीको बलात्कारपछि हत्या भयो । उनका अपराधी पाकिस्तानका मोहोम्मद इमरान अली, जैनब आन्सारीको मुख्य अपराधीलाई फाँसी भयो । जैनब अनसरीको बलात्कारपछिको हत्या गरेको पुष्टि भएपछि अलीलाई लाहोरको उच्च अदालतले फाँसीको सजाय सुनाएको हो । 

को हुन् निर्मला पन्तजस्तै बलात्कारपछि हत्या गरिएकी बालिका ? 

जैनव अन्सारी पाकिस्तानी नागरीक हुन् । उनको उमेर ६ वर्ष । जैनबी को शव जनावरी ४, २०१८ देखि घरबाट हराएको ५ दिन पछि फोहोरको फाल्ने ठाँउमा भेटिएको थियो । उनको बुबाआमा हज (वार्षिक रूपमा हुने  इस्लाम तिर्थयात्रीहरूको मक्का सम्मको तिर्थ यात्रा हो र यो यात्रा हरेक इस्लाम धर्मालम्वीहरू जो शारिरीक रूपमा सबल छन् तथा आफु नहुँदाको परिवारको खर्च धान्न सक्ने व्यक्तिको लागी आफ्नो जीवनकालमा कम्तिमा एक पटक गर्नु पर्ने अनिवार्य तिर्थयात्रा हो ।) यात्रामा गएका थिए । जैनब भने उनको काकाको घरमा बसेकी थिइन् । 

जनावरी ४, २०१८ मा उनी घरबाट कुरान ट्यूशन क्लासको लागि निस्केकी थिइन् । ट्यूशन सेन्टर उनको घर नजिकै थियो तर घरबाट निस्केपछि उनी घर फर्कर आइनन् । उनको काकाले कसुरको जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । 

प्रहरीको कुनै सहयोग बिना नै जैनबको परिवारले सि.सि टिभिको भिडियोे पत्ता लगाएका थिए । उक्त भिडियोमा सेलो लुगा, ज्याकेट, लामो दारी भएको एक व्यक्ति जैनबको हात समातेर हिडिरहेका थिए भिडियो उनैको परिवारले फेला पारेको थियो । पछि उनको शरीर मृत अवस्थामा ९ जनावरी २०१८ मा भेटिएको थियो । बालिकाको शरीरको परिक्षण गरेपछि उनको बलात्कार पछि हत्या भएको पुष्टी भयो ।  

६ वर्षीया बालिकाले बलात्कारपछिको हत्याले पाकिस्तानका हरेक व्यक्तिले सामाजिक सञ्जालबाट आक्रोश व्यक्त गरे । 
सडकमा उत्रिए । प्रर्दशन गरे । अभिनेता, अभिनेत्री, खेलाडि, सामाजिक अभियानता सबै विरोधमा उत्रिए । प्रहरी कार्यलयमा तोडफोड भयो । प्रहरीले गोली चलायो । गोली चलाएका प्रहरीहरु बर्खास्त भए । 
अपराधीको खोजी र करर्वाहीको माग गर्दै समाजिक सञ्जाल प्रयोग गर्नेहरुले #JusticeForZainab  भनेर आफ्नो फेसबुक र टुइटरमा लेख्न थाले ।  

‘ह्यासटय्ग’ संसारभर एउहा प्रवृति जस्तै भयो । यस मुभमेन्टेले त्यस बलात्कारको घटनालाई प्रकाशमा ल्यायो नै र प्रहरीको गोलीले दुई जना प्रदर्शनकारिहरुलाई मारिएको विरुद्ध आक्रोशका स्वरहरु सुनिए ।  

जैनवको पितालाई धेरै राजनीतिक दलका नेताहरुले हत्याराको छिटै खोजी गर्ने प्रतिवद्धता जनाएका पनि थिए तर उनको छोरी हराएपछि प्रहरीले ध्यान नदिएकोमा उनी आक्रोशित थिए । 
दबाबमा आएर प्रहरीले अनुसन्धानलाई तिव्र बनायो । जैनबको शव भेटीएको क्षेत्रको हरेक मानिसको डिएनए परिक्षण गरियो । त्यस क्षेत्रको हजार जना मान्छेको डिएनए परिक्षण गरिएको थियो । प्रहरीले डिएनएको आधारमा जैनब कै छिमेकी इमरान लाई प्रकाउ गरेको थियो । इमरानको डिएने जैनब बाहेक अन्य सात जना बलात्कृत भएकाको डिएनएसँग मिल्न गयो । 

पक्राउ परेपछि उनले आफ्नो अपराध स्वीकारे पनि । उनीमाथि ८ जनाको बलात्कार पछिको हत्या गरेको मुद्दा चलाइयो । 

मोहोमद इमरानलाई अक्टोवर १७ मा लाहोरको लखपत जेल फाँसी दिइएको थियो । उनलाई फाँसी दिँदा जैनवको पिता र उनको आफन्तहरुको उपस्थीति थियो । 
जैनबका पिता अमिन अन्सरीले मोहोमदको फाँसी पछि भनेका थिए, “म आफ्नो छोरीलाई फिर्ता ल्याउन त सक्दिन तर मैले बाबु भएको नाताले उसलाई न्याय दिन सके  । म यसमा नै सन्तुष्ट छु  ।”

अन्तत :जैनवले न्याय पाइन् । 

तर, निर्मला हत्याका वास्तविक अपराधीहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने भन्दै सडकदेखि सदन तातिरहेपनि परिणाम अझै सतहमा देखिएको छैन । साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला सदाका लागी बिदा भएको आज ९३ दिन भएको छ । तर, उनको बलात्कारी र हत्याराको अझै पत्तो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?