काठमाडौं । एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवम् सहरी विकासमन्त्री मेटमणि चौधरीले मुलुकमा अब कसैले पनि संसदको हत्या गर्ने आँट नगर्ने बताएका छन् ।
एकीकृत समाजवादी क्षेत्र नम्बर १ दाङले बुधवार लमहीमा आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलामा मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीजस्ता उन्नत व्यवस्थासहितको उत्कृष्ट संविधानमाथि केपी ओलीले पटक पटक प्रहार गरेको बताउँदै मन्त्री चौधरीले भने, ‘दुई वटा मुख्य पदमध्ये एकमा महिला हुनै पर्ने, सिमान्तकृत जातजातीलाई समावेशी प्रणालीमार्फत राज्यले उनीहरुको उपस्थितिको सुनिस्चित गर्ने, सबै धर्मलाई समानताको व्यवस्था जस्ता तमाम नयाँ जनपक्षिय प्रावधान हामीले संविधानमा राख्यौँ ।
देश अब प्रगतिशिल रुपान्तरणको बाटोमा जान्छ भन्ने आसा र अपेक्षा जनताले गरेको बेला ओली नेतृत्वको एमालेले नयाँ संविधानमाथि निरन्तर प्रहार गरि रह्यो । तर अब हाम्रै कारणले कसैले पनि संसदको हत्या गर्ने आँट गर्ने छैन ।’
मन्त्री चाधरीले आफ्नै कारण मुलुकभर खरको छानो मुक्त गर्ने अभियान चलिरहेको बताउँदै भने, ‘लमहीमा सडक कालोपत्रे गर्न ५० करोड, गढवामा ३२ करोड, भालुवाङको लागि ८ करोडको व्यवस्था भएको छ । अब राप्ती कोरिडोर आयोजनाको डिपिआर हुने छ । राप्तीको श्रीनारायण चोक देखि ५५ किलोमिटरमा स्वर्गद्धारी जोडिने बाटोको काम सुरु हुनेछ । त्यस्तै, बनगाउँ चोकदेखि स्वर्गद्धारीसम्म केबुलकार निर्माणको काम अघि बढ्ने छ । दाङका प्रमुख सहरहरु जोड्नेगरि पोड वे सञ्चालनको कामलाई अघि बढाइनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया