निर्मला बलात्कार र हत्यापछिका ३ महिनाः थप तीन सय महिला बलात्कृत

कञ्चनपुरको भीमदत्त नगरपालिका–२  उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र त्यस पछि हत्या भएको घटनाले अझैसम्म पनि न्यायको बाटो पक्रन सकेको छैन । नेपालको इतिहास रहेका रहस्यमय घटनाहरु मध्ये निर्मला पन्तको बलात्कारपछि हत्या पनि एक हो । 

पीडित पक्षले न्याय कहिले पाउने यो प्रश्न प्रश्नमै सीमित भइरहेको छ । यो घटनासँग मुछिएका पात्रहरूलाई समेत घटनाले निकै पिरोलेको छ ।

निर्मला पन्त आमा दुर्गा पन्तको काखबाट लुटिएको तीन महिना बित्यो । तर, खोई अपराधी ? खोई कारबाही ? अहिलेसम्म अत्तोपत्तो छैन । 

बालिका निर्मलाको बलातकार पछि हत्या भएको तीन महिना बितिसकेको छ । तीन महिनामा धेरै बालिकामाथि यौन दुव्र्यवहार भएको छ । झण्डै तीन सय महिला बलात्कृत भएको सार्वजनिक भयो । मिडियाहरूले दिनहुँ बलात्कारका घटना सार्वजनिक गर्दा पनि निर्मलाले आजसम्म न्याय पाउन सकेकी छैनन् ।

नेपालको संविधानले सबै देशको नागरीकलाई बाँच्न पाउने मौलिक हक दिएको छ । तर, निर्मला पन्तको बाँच्ने हक सरकारले रक्षा गर्न सकेन । बाँच्न पाउने हक रक्षा गर्न नसके पनि राज्यको अहिले सम्म अपराध गर्नेलाई सजाय दिलाएर निर्मला पन्तको आत्मालाई शान्ति र न्याय  दिन पनि सकेको छैन । निर्मलालाई न्याय दिलाउने राज्यको संवैधानिक कर्तव्य त हो नै दायित्व पनि हो । 

बलात्कारलाई महिलामाथि हुन मध्यको गम्भीर अपराध हो । बलात्कारले पीडित महिला र परिवारमा खासगरी पीडितमा पारिवारिक, मानसिक, मनोवैज्ञानिक, शारीरिक, चारित्रिक, पेसागत, व्यावसायिक, बौद्धिक, सामाजिक, शैक्षिक अध्ययन, आर्थिक लगायत दैनिक जीवनका विभिन्न पक्षमा असर पार्छ । 
…………….

कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक हत्यारा को हुन् ? निर्मलाको बलात्कारपछि हत्या भएको ९५ दिन पुगि सक्दा पनि प्रहरीले अपराधीलाई पक्राउ गर्न किन सकेको छैन ? के प्रहरीले अपराधीलाई लुकाउन खोजेको हो ? सरकारको भूमिका किन सशक्त छैन ? महिलाको सुरक्षा खोइ ? के नेपाल पनि महिलाको लागि खतराको देश बन्दै छ ? लगायतका प्रश्नहरु आम नागरिकको चासोको विषय बनेको छ । 

त्यसैले बहसका स्वरहरु चौतर्फी गुञ्जिएका छन् । समय धेरै घर्किँदै गएका कारण पनि यो विषय धेरै नै चासोको विषय बनेको छ । किनकी एक पछि अर्को गर्दै घटनाको अनुसन्धान झनै रहस्यमय बन्दै गएको छ ।  

कात्तिक ६ गते रौतहटमा १७ वर्षीय किशोरीको सामूहिक बलात्कार भयो । 

गुजरा नगरपालिकाको मनर्वा टोलमा दशैँको मेला हेर्न गएकी १७ वर्षकी किशोरी बलात्कृत भएकी हुन् । 

आइतबार राति दशैँको मेला हेर्न जाँदा आफूलाई छिमेकी युवकले मोटरसाइकलमा राखेर घर पु-याइदिने भन्दै नहरको डिलमा पु¥याएर तीन जनाले बलात्कार गरेका थिए । 

कात्तिक ४ गते अछामको कमलबजार नगरपालिकामा ७ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । सोही नगरपालिकाको  अर्की १४ बर्षीया बालिकामाथि बलात्कार प्रयास भएको थियो । दुवै घटनामा संलग्न भएको आरोपमा कमलबजार–५ का एक १८ बर्षीय युवक पक्राउ परे । 

कात्तिक २ गते पाल्पा तिनाउँ गाउँपालिका २ की १९ वर्षीया युवती बलाकृत भइन् ।  

जबरजस्ती करणी गरेको आरोपमा स्थानीय  २० वर्षीय किरण गाहालाई प्रहरीले पक्राउ ग–यो । बिहीबार दिउँसो बाख्रा चराउन घर नजिकैको जंगलमा गएको बेला गाहाले किशोरीलाई बलात्कार गरेका थिए । 

असोज ३१ गते धनुषा जिल्लाको विदेह नगरपालिकाकी १३ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भयो । बालत्कार गरेको आरोपमा प्रहरीले धनुषाको विदेह नगरपालिका ७ बस्ने ६५ वर्षीय जागेश्वर ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । 

असोज २४ गते आफ्नै बाबुबाट रोल्पाकी एक १४ वर्षीया बलात्कृत भइन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन्  । ४३ वर्षीय आरोपीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा छन् । 

असोज २१ गते काभ्रेको पनौती नगरपालिका–१० खोपासी घर भई बेथानचोक गाउँपालिका–४ का शङ्कर पहरीलाई दुई जना छात्रालाई पटकपटक यौन दुव्र्यवहार र बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।मावि तहसम्म अङ्गे्रजी विषय अध्यापन गर्ने ३१ वर्षीय शिक्षक पहरीलाई पीडितको जाहेरीका आधारमा पक्राउ गरेको थियो । 

शिक्षक पहरीले आफ्नै विद्यालयको कक्षा ५ मा अध्ययनरत नौ वर्षका दुई जना छात्रालाई पटकपटक यौन दुव्र्यवहार र करणी गरेको जाहेरीमा खुलाइको छ ।

असोज १६ गते जिल्ला प्रहरी कार्यालय पाल्पाले आमा पर्नेलाई करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । 
रैनादेवी छहरा गाउँपालिका सिद्देश्वरका युवकले मादक पदार्थ सेवन गरी डर त्रासमा पारी आफ्नै छिमेकी ठुलीआमा पर्नेलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

असोज १५ गते डोटी जिल्लामा एउटी किशोरी बलात्कारको शिकार भएकी छन । बलात्कार अभियोगीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
शिखर नगरपालिका– ६ का २८ बर्षीय योगेश बलायरद्धारा १७ बर्षीया किशोरी बलात्कृत भएको त्यहाँको प्रहरीले जनाएको छ ।

असोज १५ गते पर्वत मोदीगाउँपालिका १ भूक देउरालीमा २२ वर्षीय युवाद्वारा १२ वर्षीया बालिका बलात्कृत भएकी थिइन् ।  

असोज महिनामा मात्रै पर्वतमा तीनजना बालिका बलात्कृत भएका थिए । 

पर्वत जलजला गाउँपालिकामा १० वर्षीय बालकबाट ७ वर्षीया बालिका बलात्कृत भएकी थिइन् भने कुस्मानगरपालिका २ मा पनि २० वर्षीय विनोद नेपालीले १३ वर्षीया बालिका बलात्कार गर्ने प्रयास गरेको आरोपमा पक्राउ परेका थिए । 

असोज १३ गते डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको थियो ।   

परसुराम नागरपालिकी किशोरीलाई स्थानीय २ युवकले बलात्कार गरेका खुलेको थियो । अनन्ते मेला हेरेर घर फर्किने क्रममा असोज ९ गते राति किशोरी बलात्कृत भएकी थिइन् । 
असोज १२ गते कालिकोटको खाँडाचक्र–९ धिमुमा एक किशोरीमाथि सामूहिक बलात्कार भयो । 

कालिकोटको सदरमुकाम मान्मबाट करिब ३० किलोमिटर टाढा पर्ने खाँडाचक्रको धिमाल देवताको पैठ (जात्रा) हेरेर घर फर्किने क्रममा १९ वर्षीया किशोरीमाथि सामूहकि बलात्कार भएको थियो । 
डडेल्धुरामा असोज १२ गते १५ वर्र्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।  स्थानीय २ युवकले बलात्कार गरेका थिए ।

असोज १० गते कालिकोटको खाँडाचक्र–९ धिमुमा १९ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो । 

असोज ८ गते पोखरा–२२ पुम्दीभुम्दीको कोदी गाउँकी श्रेया सुनारको बलात्कार भयो अनि हत्या गरियो । बिस्कुट किन्न पसल हिँडेकी १० वर्र्षीय सुनार मंगलबार बिहान मृत अवस्थामा भेटिइन् ।
बालिकाको बलात्कारपछि हत्या गर्ने २७ वर्र्षीय कुशुम पौडेललाई प्रहरीले पक्राउ गरेको थियो ।

उनले रक्सी सहित लागुऔषध सेवन गरेर श्रेयालाई उनले १० रुपैयाँ दिइ नजिक बोलाएका थिए । घाँटीमा समातेर झाडीमा धकेल्दा बेहोस बनेकी बालिकालाई उनले करणी गरी ढुंगाले टाउकोमा हानेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरी बयान दिएका थिए । 

गत भदौ २९ गते बाराको हलखोरिया जंगलमा लामो समय निराहार तपस्या गरेर अन्तर्राष्ट्रियस्तरमै ‘लिटिल बुद्ध’को उपमा पाएका रामबहादुर बमजनले एउटी किशोरीलाई १८ पटक बलात्कार गरेको खुलासा भयो ।

पीडित किशोरीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बम्जनले पटकपटक बलात्कार गरेको आरोप लगाएकी थिइन्  । सर्लाहीबाट आनी बन्न गएकी ती किशोरीलाई बमजनले १८ पटक बलात्कार गरेको र फुत्किएर आएर काठमाडौंमा पत्रकार सम्मेलन गरेको बताइन् । पत्रकार सम्मेलनपछि किशोरीले जावलाखेल प्रहरीमा उजुरी गर्न पुगेकी थिइन् । 
…………………..
विश्वमा नै महिला सुरक्षाको विषयमा चर्को आन्दोलन र बहस भइरहँदा  पनि महिला माथि हुने दुव्र्यवहार र महिला हिंसाको अन्त्य किन हुन सकेको छैन भन्ने विषयमा आआफ्नै तर्कहरु आउन थालेका छन् । 

फिनल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन, डेन्मार्क आदि जस्ता विश्वका कति मुलुकहरु महिलामैत्री छन् भने कति महिलाका लागि क्रुर मानिन्छन् । सुडान, लिविया, क्युवा जस्ता मुलुकमा त महिलालाई मान्छेको दर्जासमेत दिइँदैन ।

पितृसत्तात्मक सोचबाट हुर्केको नेपाली समाज क्रमिक रुपमा महिला अधिकार स्थापित हुँदै गएको समाजमा रुपान्तरण भइरहेको समयमा यस्ता घटना छ्याप्छ्याप्ती बाहिर आएको हो । 

कुन मुलुक सबैभन्दा असुरक्षित ?

लण्डनको थम्पसन रोयटर्स फाउन्डेशनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार महिला सबैभन्दा असुरक्षित हुने देशको पहिलो सूचिमा भारत रहेको छ । त्यसपछि क्रमश अफगास्तिान, सिरिया, सोमलिया, साउदी अरबिया, पाकिस्तान, द डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, यमन, नाइजेरिया र दसौं स्थानमा अमेरिका रहेको छ । फाउन्डेशनका विशेषज्ञहरुको सर्वेक्षणले विश्वभरका महिलाका यौन हिंसा, उत्पीडन र यौन सम्बन्धको खतरामा आधारित भएर यस प्रतिवेदन तयार पारेर सार्वजनिक गरेको हो । 

किन छैनन् यी देश महिलाको लागि सुरक्षित ? 

भारत

संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश दाबी गर्ने भारतमा सामूहिक बलात्कार र हत्या सामान्य कुरा हो । यो देशमा दिनहुँजसो बलात्कारका घटनाहरु सार्वजनिक भइरहन्छन् । यसर्थ भारतलाई महिला सुरक्षाको दृष्टिकोणले सबैभन्दा खतरनाक देशका रुपमा लिने गरिन्छ । भारतमा महिलाको सामूहिक बलात्कारदेखि लिएर बालविवाह र मानव तस्करीसम्म हुन्छ  । यी अपराधबाहेक भारतमा ३० वर्षको अवधिमा ५० लाखभन्दा बढि महिलाहरुको भ्रुण हत्या भएको तथ्याङ्क छ । 

अफगानिस्तान

अफगानिस्तान मुस्लिम राष्ट्र हो  । अफगानिस्तानका महिलामाथि सबैभन्दा बढि अत्याचार हुने गरेको बताइन्छ । यसको मूख्य कारण हो, अशिक्षा । त्यहाँका ८७ प्रतिशत महिला अशिक्षित छन् । र, ७० देखि ८० प्रतिशत महिलाको जबरजस्ती विवाह गरिन्छ ।  १५ वर्षको कलिलो उमेरमै महिलाहरुलाई विवाहका लागि बाध्य बनाइन्छ र अशिक्षित भएका कारण उनीहरु सजिलै घरेलु हिंसाको शिकार बन्न पुग्छन् । गर्भधारणका क्रममा हजारमा ४ महिलाको ज्यान जान्छ । अफगानिस्तानमा घरेलु हिंसालाई पनि सामान्य रुपमा लिइन्छ । 

सिरिया 

२० औं शताब्दीबाट सिरियाका महिलाहरुलाई शिक्षाको अधिकार दिइएको भएतापनि त्यहाँ महिला हिंसा भने अन्त्य भएको छैन । आइएसको आतंक अघि पनि यस देशमा महिलाको अवस्था खराब थियो । यहाँका १४ प्रतिशत महिलाले मात्रै काम गर्ने गरेका छन् । महिलाले कति पढ्ने भन्ने सम्मको नियम आइएसले बनाएको हुन्छ । विश्वको खतरनाक आतंककारी समुहमध्ये पहिला नम्बरमा पर्ने आइएसको नियम अनुसार सिरियामा छोरी मान्छेको पढाई ६ वर्षमा शुरु भएर १८ वर्षमा सकिन्छ । 

सोमालिया

अफ्रिका महादेशमा पर्ने सोमालियाको कानून व्यवस्था कमजोर भएका कारण पनि महिलाहरु पिछडिएको पाइन्छ । त्यहाँका ४ देखि ११ वर्षका बालिकाको तस्करी गरिन्छ । त्यहाँका धेरै महिला, बालविवाह र यौन शोषणको पनि शिकार हुने गरेका छन् । गर्भावस्थाका क्रममा हुने मृत्यु, बलात्कार, महिलाहरुको यातना र जबरजस्ती विवाह सोमालियाका महिलाहरुका लागि ठूलै समस्या हुन् । त्यहाँ ९ प्रतिशत आमाले मात्रै चिकित्सकको सहयोगमा सन्तान जन्माउने गर्दछन् । 

साउदी अरबिया 

साउदी अरेबिया मुस्लिम देश भएकाले पनि त्यहाँका महिलाहरुलाई बाँच्नको लागि त्यति सजिलो छैन । कालो कपडाको सहाराले साउदी अरबियाका महिलाहरुले आफ्नो अनुहार छोपेर हिँड्नुपर्छ । उनीहरु बलात्कार, घरेलु हिंसा, यौन शोषण र मानव तस्करीसम्मको शिकार हुने गरेका छन् । 

पाकिस्तान

पाकिस्तानमा परम्परागत रीतिरिवाजहरुलाई अत्याधिक प्राथमिकता दिइने भएकाले महिलाका लागि निकै कडा छ । पाकिस्तानको मानवअधिकार आयोगका अनुसार हरेक वर्ष करिब १ हजार महिला र बच्चाले राम्रो उपचार नपाएर ज्यान गुमाउन परिरहेको छ  । ९० प्रतिशत महिलाहरु घरेलु हिंसाको शिकार हुने गरेका छन् । 

द डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो

यो देशमा पुरुष र महिलाबीच अत्यन्तै भेदभाव गर्ने चलन रहेको छ । त्यसैले महिलामाथि हुने अत्याचारलाई यहाँ सामान्य मानिन्छ किनकी सबैजसो घरमा महिलाहरु हिंसाको शिकार भएकै हुन्छन् । अमेरिकी जनस्वास्थ्य पत्रिकाका अनुसार कङ्गोमा हरेक दिन १ हजार १ सय ५० महिला बलात्कार र यौन दुव्र्यवहारको शिकार बन्छन् । संसारभरमा यौनसँग सम्बन्धित हिंसामा कंगो सबैभन्दा अगाडि छ । महिलाहरुको स्वास्थ्य स्थिति पनि निकै खराब छ  । 

यमन

यमन पुरुष प्रधान देश भएकाले पनि अझै महिला र पुरुषबीचको भेदभाव कायमै रहेको छ । करिब तीन लाख भन्दा बढी महिलाहरुको स्वास्थ्य अवस्था एकदमै नाजुक रहेको पाइएको छ । एक लाख गर्भवति महिलाले राम्रो खानेकुरा खान नपाएको अवस्था रहेको छ । यमनमा बढी युद्ध हुने भएकाले पनि महिला बलात्कार र यौन दुव्र्यवहारको शिकार बन्न पुगेका हुन् । त्यहाँ पुरुषले खाना नखाइकन अझै महिलाले खाने गरेका छैनन् । 

नाइजेरिया

नाइजेरियामा धेरै मानिसहरु गरिबीको रेखामुनि भएकाले पनि त्यहाँका महिलाहरुमा यौन दुव्र्यवहारको उच्च जोखिम रहेको छ । अभिभावकबाट कम हेरविचार र बढी शोषण हुने गरेका छन् । असुरक्षित गर्भपात, बाल विवाह, यौन शिक्षाको कमी, कम हेरविचारका कारणले पनि महिलाहरुको बढी मृत्यु हुने गरेको छ । 

अमेरिका

अमेरिकामा पनि पछिल्लो समय महिला सामूहिक बलात्कार देखि यौन हिंसाको शिकार हुने गरेका छन् ।  

हरेक देशमा आ–आफ्नो किसिमको कानून छ । तर पनि महिला हिंसा अन्त्य भने हुन सकेको छैन । 

……………………

नेपालको सन्र्दभमा कुरा गर्ने हो भने महिलाहरु सुरक्षित छैनन् । हरेक दिन छोरीचेलीले राजनीतिक पहुँच भएकाहरुबाट शोषण सहिरहनुपर्ने ? बलात्कृत भइरहनुपर्ने ? यो अवस्था कहिलेसम्म ? नेपालमा कानूनतः पछिल्लो समय छोरीलाई चित्तबुझ्दो किसिमको अधिकार दिइएको छ । तर विभेद कम हुन सकेको छैन । कारण स्पष्ट छ, संविधान कार्यान्वयनको विश्वासिलो आधार । 
लैङ्गिक पाटोबाट पाउने अधिकारलाई एकछिन थाँति राखेर कुरा गर्ने हो भने पनि एउटा नागरिकको हैसियतमा महिलाले पाउने अधिकार किन पाएका छैनन् ? दैनिकजसो कोही न कोही, काहीँ न काहीँ बलात्कृत  भइरहेका छन् । पाशविक ढंगबाट हत्या पनि । हिंसा बढ्दैछ । तर राज्य संयन्त्र मौनता साँध्छ । अनि महिलाहरु ‘बलात्कार नगरिदेउन बाबै’ भन्दै माइतीघर मण्डलाबाट चिच्चाइरहने ?  

ठूल्ठूला आर्दश र सिद्धान्तका कुरा बाढेर मात्रै बलात्कार न्यूनिकरण गर्न सकिन्छ, भनेर सोच्नु मुर्खता हुन्छ । 

कडा नियम र कानुन बनाएर मात्रै हुँदैन । कानुनको पूर्ण पालना हुनु पनि आवश्यक छ । जसले यस्ता कुराहरू लाई न्युनिकरण गर्न मद्धत गर्नेछ ।

देशका सम्पूर्ण नागरिकलाई उद्यमशील, व्यस्त, आत्मनिर्भर, स्वस्थ प्रतिस्पर्धातर्फ उन्मुख गराउन सकिएमा बलात्कारजन्य घटनामा कमी आउने निश्चित देखिएको छ । त्यसैले भएका कानूनको पूर्ण पालना गराउन मुलुकमा बढ्दो यौनजन्य हिंसा कम गर्न घरपरिवार, विद्यालय, स्थानिय तह, नागरीक समाज र राज्य स्तरबाट तत्कालै पहलकदमी लिन जरुरी देखिन्छ  । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?