स्वर्गीय खेलाडी थापाको परिवारसँग मन्त्री अथकको भेटघाट

लोकपथ
7
Shares

पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले स्वर्गीय खेलाडी निसिम थापाको परिवारलाई भेट गरी समवेदना दिएका छन् । नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रममा दुर्घटना परी ज्यान गुमाएका थापाको परिवारलाई भेट्न मन्त्री अथक बिहिवार पोखरा महानगरपालिका १० माटेपानीस्थीत थापाको घरमा पुगेका थिए ।

दुर्घटना लगत्तै दुःख व्यक्त गरेका मन्त्री अथकले बिहीवार बिहानै पोखरास्थित थापाको घरमा पुगेर थापाप्रति भावपुर्ण श्रद्धाञ्जली दिँदै परिवारमा गहिरो समवेदना प्रकट गरेका हुन् । “खेलाडी निसिम थापाको निधनबाट राष्ट्रलाई ठुलो क्षति भएको बताउँदै, शोकको यो घडीलाई शक्तिमा बदल्न म नेपाल सरकारको तर्फबाट अनुरोध गर्दछु” मन्त्री गहतराजले भने । सो क्रममा मन्त्री गहतराजले सम्मान स्वरुप स्वर्गीय थापालाई चेकसहित मरनोपरान्त स्वर्ण पदक प्रदान गरेका छन् ।

पोखरा रंगशाला परिसरमा थापाको अर्धकदको शालिक स्थापना गरिने प्रतिबद्धता जनउँदै मन्त्री अथकले सरकार र खेलकुद मन्त्रालयले स्वर्गीय खेलाडी थापाको विषयमा आवश्यक निर्णय गर्ने बताए ।

राष्ट्रिय खेलकुद परिषदले नवौं खेलकुद प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरुको बिमा गरेकाले थियो । जसअन्तर्गत थापाको परिवारलाई बिमा कम्पनीबाट रकम उपलब्ध गराउनकालागि खेलकुद परिषदले पहल गर्ने राखेपका सदस्य दिपेन्द्र बिस्टले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत आइतवार बिहान पोखराको सराङकोटमा ‘क्रस कन्ट्री’ खेलमा दुर्घटना हुँदा थापाको निधन भएको थियो । विभागिय टोली त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी थापा करिव १ सय मिटर उचाईबाट खसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?