राष्ट्रिय खेलाडी अनोजको गुनासो, ३ वर्ष क्लोज क्याम्पमा बसेकालाई ३ महिना अभ्यास गरेर कसरी  जित्नु ?

‘खेल क्षेत्रलाई बेवास्ता गर्ने राज्य संयन्त्र दोषी हो’

‘पहिलो पटक अन्तर्राष्ट्रिय गेम खेल्दैछौ । अब आफ्नो लागि होइन नेपालको लागि खेल्नुपर्छ । जसरी पनि जित्नैपर्छ तिमीले ।’

सन् २०११ मा पहिलो पटक आयोजित अन्तर्राष्ट्रिय माउन्ट एभरेष्ट च्याम्पियनसिपमा रिङ प्रवेश गर्नुअघि अनोजका गुरुले उनलाई यसै भने । केही समय अघिसम्म ‘अरुबेला जस्तै गेम हो । सकेसम्म राम्रो खेल्छु । जिते ठिकै । नजितेनि ठिकै ।’ सोचिरहेको उनको खेलाडी मन एक्कासि जुर्मुरायो ।

गुरुको वचनले उनमा एकाएक जीतको तीर्खा जगाइदियो । तिर्खाएको उनको मनले वरिपरि नेपालको झण्डा फर्फराइरहेको देख्यो । देख्नासाथ मनले सोच्यो ‘जितेपछि सबैभन्दा शुरुमा झण्डा बोकेर रिङ वरिपरि घुम्छु ।’ 

खेल शुरु भयो । पाकिस्तानी खेलाडी उनका प्रतिद्वन्दी थिए । उचाइ र ज्यानको हिसाबले अनोजभन्दा अग्ला र बलिया देखिने उनलाई अनोजले ‘स्कोर नकआउट’ गरे । अर्थात् शुन्यमा ‘आउट’ ।अन्तिम प्रहारले प्रतिद्वन्दीलाई मात खुवाएलगत्तै उनी तुफानसरि दगुरे । नभन्दै उनले केही समय अघि मात्र बुनेको सानो सपनालाई मूर्तरुप दिए । नेपालको झण्डा च्याप्प समाते र रिङ वरिपरि कुदे ।

जीतको खुसी, दर्शकको ताली र ‘हुटिङ’ एकतिर अनि सबै सामू आफ्नो देशको झण्डा फर्फराउँदा हुने अनुभूति अर्कातिर । अनोज प्रफुल्लित थिए । ‘गर्वले छाती त आकाशभन्दा चौडा भयो नि ।’ आफ्नो जीवनको अविस्मरणीय क्षणका बारेमा अनोज पुजारीले लोकपथलाई बताए । बताउँदै गर्दा उनको मुस्कान ओंठ हुँदै पूरै चेहरामा पोखियो । 

अनोज पुजारी नेपालका राष्ट्रिय तेक्वान्दो खेलाडी हुन् । उनले तेक्वान्दो खेलेको करिब दुई दशक पूरा भइसक्यो । आफ्नो दुई दशक लामो तेक्वान्दो यात्रामा उनले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेल खेलिसकेका छन् । केही जितेका पनि । यस वर्ष भएको एसियन गेम्समा पनि उनले नेपाललाई प्रतिनिधित्व गर्ने मौका पाए तर, दुर्भाग्यवश मेडल भित्र्याउन सकेनन् । 

‘भाग्य होइन खेल क्षेत्रलाई नजरअन्दाज गर्ने निरीह राज्य संयन्त्र दोषी हो ।’ उनले गुनासो पोखे । अन्तर्राष्ट्रिय गेममा जाने खेलाडीलाई समेत उचित प्रशिक्षण उपलब्ध गराउन नसकेकोमा अनोजलाई बडो दुःख लागेको छ । अन्तराष्ट्रिय च्याम्पियनसिपमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने खेल तेक्वान्दो आजकल सुस्ताउनुको पछाडि पनि प्रशिक्षणकै कमजोरी रहेको अनोजको ठम्याइ छ ।

‘अन्य देशको लोभलाग्दो खेलस्तर देख्नेले उनीहरुको अभ्यासस्तर पनि मूल्याङ्कन गर्न जरुरी छ । इनपुट अनुसारको आउटपुट हुने त हो ।’ खेल क्षेत्रको कमजोरीलाई शब्दमा जस्ताको त्यस्तै प्रस्तुत गरिदिए । 

प्रशिक्षणको कमी कै कारण कति पटक रिङमा लज्जित पनि हुनुपरेको छ खेलाडीहरुले । ‘यो मेरो व्यक्तिगत भोगाइ हो ।’ अनोज थप्छन् । यसैपालिको एसियन गेम्सको उदाहरण दिँदै उनले आफ्नो भनाइ प्रष्ट्याए ।

अनोजका प्रतिद्वन्दी कागजकस्तानबाट थिए । विश्वमै २ नम्बर र्याङ्कमा पर्ने ती खेलाडीलाई आफ्नो ‘अपोजिट’ मा देख्दा अनोज केही हतोत्साहित पक्कै भएका हुन् तर, ‘स्कोर नकआउट’ नै हुन्छु भन्ने उनले कल्पना पनि गरेका थिएनन् । तर, भयो त्यही । उनी शुन्य मै आउट भए ।

गेम पश्चात् उनले आफ्ना प्रतिद्वन्दीलाई सोधे ‘कति समयसम्म ट्रेनिङ गर्नुभएको थियो ?’ प्रतिद्वन्दीले पनि नढाँटी जवाफ दिए ‘एसियन गेम्सको लागि भनेरै ३ वर्ष क्लोज क्याम्पमा बसेँ ।’

आफू ३ महिना क्लोज क्याम्पमा बसिरहँदा आफ्नो प्रतिद्वन्दी यही गेमका लागि ३ वर्षदेखि क्लोज क्याम्पमा बसेको कुरा सुनेर अनोज स्तब्ध भए ।

उसको ३ वर्षको निरन्तर परिश्रमका अगाडि अनोजको ३ महिने परिश्रम फिक्का भयो । मेडल ल्याउन नसकेकोमा दुःख लाग्यो । हाम्रो देशमा खेलप्रति देखाइने लापरवाही सम्झेर रिस उठ्यो । यद्यपी, आफूभन्दा निकै माथिल्लो स्तरको खेलाडीसँग हार्नुको मज्जा पनि वेग्लै हुन्छ । कम्तीमा खेलको अनुभव सँगाल्न पाएँ भन्दै उनले आफ्नै मनलाई सान्तवना दिए । 

बाल्यावस्थामा अत्यन्तै चकचके स्वभावका अनोजलाई मारपिट, लडाइझगडा सानैदेखि मनपर्ने । प्रायजसो हरेक दिन उनको खिलाफ कुनै न कुनै शिकायत अफिसमा पुगेकै हुन्थ्यो । कुङ फु चलचित्रको प्रभावले गर्दा पनि होला उनलाई ‘किक’ हान्न साह्रै रमाइलो लाग्ने । झगडा पर्दा अनोज यही ‘टेक्निक’ अपनाउँथे । उनका साथीहरु रुँदै अफिसमा पुग्थे ‘सर, उसले हामीलाई उडीउडी किक हान्छ’ भन्दै विलौना गर्दै । 

अहिले पनि त्यस्तै कुटपिट गर्नुहुन्छ कि ?

‘अहिले त कहाँ झगडा गर्नु । तेक्वान्दोले सुधारिहाल्यो नि मलाई । लडाइ गर्ने खेल भएपनि यसले मान्छेलाई झनै अनुशासित बनाउँदो रैछ ।’ उनले शालीन जवाफ दिए ।  

चुलबुलेपन, पढाइमा भन्दा खेलकुदमा बढी रुचि भएकाले नै आफू तेक्वान्दोतर्फ आकर्षित भएको अनोज बताउँछन् ।

सानैदेखि विभिन्न तेक्वान्दो प्रतियोगितामा भाग लिएपनि उनी सधैं हार्थे । हारेपछि जहिल्यै रुने । आफ्ना साथीहरु मेडल लाएर शानका साथ घर फर्कंदा टोलभरिका मान्छेको नजर उतै फ्याँकिन्थ्यो । त्यसैगरी मेडल जितेर सबैको ‘वाहवाही’ पाउने प्रतिबद्धताका साथ उनले कडा अभ्यास गर्दै गए । जीतले पनि उनको कदम चुम्दै गयो । हारले नै उनलाई जित्ने प्रेरणा दियो । 

तेक्वान्दो रुचिमै सिमित हुन्जेल त परिवारले पनि आपत्ति जनाएको थिएन तर, यसैलाई करियर बनाउने कुरामा भने उनीहरु केही हच्किए । उनकै उमेरका आफन्त तथा साथीभाइ सबै पढाइमा पोख्त भएकाले पनि बुबाआमाले उनलाई पढाइमै विशेष ध्यान दिन अनुरोध गर्थे । 

खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ अनोजलाई कसैको करकापले तेक्वान्दो खेल्नबाट रोक्न सकेन । अन्ततः यही क्षेत्रबाट उनले प्रशंसा बटुल्न थालेपछि परिवार पनि केही हदसम्म ‘कन्भिन्स’ भए । ‘आजकल खेलको विषयमा कराउनु हुन्न । बरु बिहे गर् भनेर चाहिँ दिक्क लाउनुहुन्छ ।’ मज्जाले हाँस्दै उनले बताए । 

‘विवाह गर्ने योजना छैन कि कसो ?’

‘गर्ने नि ! तर, अहिले होइन । विवाहपछि यस्तो फ्री कहाँ हुइन्छ र ! जिम्मेवारीले गाँजिहाल्छ नि ।’

विवाहपछि छुट्टै परिवार हुन्छ । बालबच्चा हुन्छन् । जिम्मेवारी थपिन्छ । आर्थिक, पारिवारिक दुवै किसिमका । त्यसैले अनोजले विवाहलाई केही समय साइडमै राखेका छन् । ‘फेरि तेक्वान्दो खेलेकै भरमा आफ्नो परिवारको सबै आवश्यकता र केही मनोकांक्षाहरु पूरा गर्न पनि त सकिँदैन यहाँ ।’ नेपालमा खेलाडीहरुको स्तर खस्कँदै जानुको मूख्य कारण नै ‘आर्थिक समस्या’ हो भन्ने उनको बुझाई छ । 

‘यसको अर्थ खेललाई बाईबाई भन्ने सोच्नुभयो तपाईंले पनि ?’ 

‘नेपालमा हुन्जेल खेल्छु । त्यसपछि विदेशै होला मेरो विकल्प ।’

Leave a comment