‘पीपीएल’ क्रिकेट : धनगढी ब्लुजद्वारा विराटनगर टाइटन्सलाई १ सय ८३ रनको चुनौती

पोखरा । जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ अन्तर्गत धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय ८३ रनको चुनौती प्रस्तुत गरेको छ ।

पोखरा रंगशालामा आइतवार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ८२ रनको योगफल तयार पारेको थियो । धनगढीले ८ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । त्यस्तै १३ रनमा दोस्रो विकेट गुमायो । 

धनगढीका लागि सन्दिप सुनारले ९ तथा डेन लरेन्स दुई रन बनाएर पेभेलियनमा फर्किए । धनगढीका लागि इंग्लिस ब्याट्सम्यान पिटर ट्रेगोले ५३ रनको अर्धशतकीय पारी खेले । उनले ३८ बलमा   ४ छक्का र २ चौका प्रहार गरे ।

कप्तान दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए । कप्तान ऐरी र पिटरले चौंथो विकेटको लागि ६० रनको साझेदारी गरेका थिए । 

सन्दीप जोराले १२ रन, रोविन क्षेत्रीले १० रन, योगेन्द्रसिंह कार्कीले ६ रन तथा मन्जित श्रेष्ठ १ रन जोडे । यता विराटनगरका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए ।

किशोर महतो, सुनिल धमला, सन्दीप लामिछाने र मोहम्मद जायद आलमले समान १-१ विकेट लिए ।  

यसअघि विराटनगर पहिलो खेलमा पोखरा पल्टनसँग ५८ रनले तथा धनगढी ब्लुज भने काठमाडौं रोयल्ससँग १७ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?