पोखरा । जारी प्रिमियर लिग ‘पीपीएल’ क्रिकेट प्रतियोगिता अन्तर्गत बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई १ सय ५१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा रंगशालामा आइवार भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रनको योगफल तयार पारेको थियो । बुटवलका लागि भीम सार्कीले अर्धशतकिय पारी खेले ।
उनले ४६ बलमा २ चौका र ३ छक्काको मदतमा ५४ रन बनाए । उनले रोहन मुस्ताफासँग तेस्रो विकेटको लागि ७३ रनको साझेदारी गरेका थिए ।
रोहनले ३५ बलमा ३ चौका र २ छक्का सहित ४५ रन बनाए । सिद्धान्त लोहनीले १३ रन, सोमपाल कामीले २२ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे । चिराग सुरीले ५ रन तथा सागर पुन २ रन बनाएर पेभेलियनमा फर्किए ।
पोखरा पल्टनका लागि मोहमद नाविदले ३ तथा मेहबुव आलम, ललित नारायण राजवंशी र कप्तान शरद भेषवाकरले समान १-१ विकेट लिए ।
यसअघि घरेलु टोली पोखराले पहिलो खेलमा विराटनगर टाइटन्सलाई ५८ रनले तथा बुटवलले चितवन राइनोजलाई ७० रनले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया