तिम्रो हुल्याहा जस्तै छ मेरो ‘देश’

नागरिक भएर पनि
अनागरिक जस्तो देखिने
पसिनाले निथ्रुक्क भिजेको अनुहार 
मयलले कट्कटिएका लुगा
वास्तविक भन्दा बढी उमेर देखिने शरिर
हात्ती छाप चप्पलमा अड्याइएका
चर-चरी फुटेका कुर्कुचाहरु
सुइय गर्दै चौतारोमा विसाएको भारी
नाम्लोले थिचेर डोब बसेको टाउको
नाम भएर पनि अनामे तिमी 
कसैले पुकारेन तिम्रो असली नाम
बरु पुकारे सम्बोधनमा 
ओए ! ओए! भन्दै
नाम्लोको पातो र बरियोले कैद गरेको
भारी अनि तिम्रो जिन्दगी 
बस यत्ती त हो नि 
तिम्रो परिचय 
तिमी भुइँ मान्छे
तिमी त भरिया पो !
उसको नजरमा
एउटा नाम्लो र क्षीण शरीर बाहेक
आखिर को छ र! तिम्रो ।

विना बाटो यात्रा तय गर्यौ 
हिडदा हिड्दै तिम्रा पाइतालाका डोबहरुले
गोरेटो बाटो बनायो 
तिमीले बोकेको भारिले
साहुले महल ठड्यायो
तर तिम्रो कमाइले 
व्याजसम्म तिरिएन
चाडवाडको मुखमा 
एकसरो कपडा फेरिएन
पटक पटक टाल्यौ बरु
त्यही जडौरी कपडा
अनि मनका इच्छा र चाहनाहरु ।
र बेफिक्री पसिना बगाइ रह्यौ 
निरन्तर निरन्तर कुदिरहयौ
बाच्ने जिजिविषामा ।
नागरिक भएर पनि
अनागरिक जस्तो देखिने
तिम्रो हुल्याहा..
तिमी भुइँ मान्छे
तिमी त भरिया पो !
उसको नजरमा 
एउटा नाम्लो र क्षीण शरीर बाहेक
आखिर को छ र! तिम्रो ।

ठुला ठुला आन्दोलनहरु भए यहाँ
भुइँ मान्छेको नाममा
तिमी जस्तै हजारौंले बलिदानी दिए
परिवर्तन आयो रे ! तर
तिम्रा पाइतालाको डोबहरुले
बनाएको गोरेटो बाटोमा 
हिजो खच्चडहरुले कब्जा जमाए
आज मोटरहरु कुदिरहेछन
तिमीले कोरेको गोरेटोको छेउछाउमा 
गगन चुम्वी महल बने
सर्बहारा बर्गको निम्ति लड्नेहरु
आज नेता बने/शासक बने 
र फेरि 
जुका र किर्नाको भूमिका निर्वाह गर्दैछन । 
दु:खको कुरा ! 
नत तिम्रो नाममा बाटो बन्यो
न त तिम्रो नाममा माटो भयो
पसिना पियौ/ पटुका कस्यौ
आकास ओढ्यौ र थकाइ मार्यौ
छोएन परिवर्तनले तिमीलाई
उकासिएन परिवर्तनले तिम्रो जीवन
जर्जर बन्दै गयो झन
नागरिक भएर पनि
अनागरिक जस्तो देखिने
तिमी भुइँ मान्छे
तिमी त भरिया पो !
उसको नजरमा
एउटा नाम्लो र क्षीण शरीर बाहेक
आखिर को छ र! तिम्रो ।

काँस झै फुलेको कपाल 
चाउरिएको अनुहार
गाँसेको नाम्लोको बरियो
लाज ढाक्न टालिएका कपडाहरु
अझै पनि मालबाहक गाडि आउँदा 
सकि नसकि दगुर्दै
समान बोक्न आतुर तिमी 
दुनियाले तिम्रो परिचय जसरी दिउन
भुइँ मान्छे भनुन या भरिया
मेरो देश र तिमी एउटै लाग्छ
उत्तिकै माया लाग्छ
तिम्रो हुल्याहा जस्तै छ मेरो देश ।

त्यसैले त गर्वका साथ भन्न मन लाग्छ
सलाम छ तिमीले बाँचेको जिन्दगीलाई
र पिच्च थुक्न मन लाग्छ 
यो देशका शासकरुलाई ।
परिवर्तनले 
न देशले काचुली फेर्यो
न भुइँ मान्छेको जीवन फेरियो
तर मेरो नजरमा 
तिमी महान छौ
अनागरिक होइनौ तिमी 
एक सच्चा नागरिक हौ
तिमी भरिया मात्र होइनौ
भुइँ मान्छे मात्र पनि होइनौ तिमी 
तिमी त श्रमजीवी बर्गको प्रतिनिधि होऊ
विभेदको लडाइको उर्जा होऊ
मेरो आस्थाको सतिसाल होऊ
विद्रोहको झिल्का होऊ
फेरि पनि सलाम छ मेरो 
तिमीलाई अनि, तिमीले बाचेको जिन्दगीलाई।

खेमराज आचार्य

आचार्य राजनैतिक तथा सामाजिक बिकृती र विसङ्गतीको बिरुद्धमा कलम चलाउने गर्छन । पेशाले उनी आईटी प्रोफेसनल हुन् ।

Leave a comment