जाराको वियोगपछि असहाय कुकुरले पाएको काख 

पशुपन्छी, कुकुर बिरालो भनेपछि फिटिक्कै मन नपर्ने । तर, एकदिन श्रीमानले घरमा कुकुर ल्याए । नहुँदा पो मायामोह थिएन त घरमै भएपछि बिस्तारै कुकुरसँग सामिप्यता बढ्न थाल्यो । कुकुरको नाम थियो– जारा । जारासँग यति नजिकको सम्बन्ध रह्यो कि मानौं उनीहरु एउटै कोखबाट जन्मिएका हुन् । अफसोच ! एकदिन जारालाई छिमेकीले विष हालेर खानेकुरा खुवाइदिएछन् । जाराले यो संसार छोडेर परमधामको यात्रा तय गर्यो । तर, जाराको वियोगले उनलाई नराम्ररी पिरोल्यो । उनी हुन्– स्नेहा श्रेष्ठ ।

पशुपन्छीप्रति खासै मतलब नराख्ने श्रेष्ठलाई जाराको निधनपछि पशुपन्छीप्रति यति दया भाब प्रकट भयो कि उनले आफ्नो जीवन नै यसमै समर्पित गरिन् । हो, अहिले स्नेहाज् केयरमा झण्डै २ सयभन्दा बढी असहाय कुकुरहरुलाई आश्रय दिइरहेकी छिन्, स्नेहा ।

विगत ९ वर्षदेखि सडकमा छोडिएका, चोटपटक लागेका जनावरहरुको स्याहारसुसार र संरक्षण गर्दै आएको केयरले आज कुकुर तिहार पनि मनायो । यमपञ्चकको दोस्रो दिन कुकुर तिहार भएकाले केयरले कुकुरहरूलाई फूलमालासहित मिष्ठान्न खुवाएर मनाएको हो ।

May be an image of ‎1 person, dog, outdoors and ‎text that says '‎Sneha's care Sneha's و‎'‎‎

जनावारमध्ये इमान्दर, बफादार मानिने कुकुर घरको र तालिम दिएर देशकै सुरक्षा सेवामा सहयोग पुर्याउने गर्दछन् । नेपाल एक मात्र देश हो, जहाँ जनवारहरुको पूजा गरेर पर्व मनाउने चलन रहेको छ । ‘आज कुकुर तिहार मनाउँदै छौँ, आजको दिनमा जस्तै जनावरलाई अरु दिनमा पनि माया गर्नुपर्छ,’ उनले थपिन्, ‘देशमा जनावार कल्याण नीति ल्याउन सबैले सरकारलाई झक्झक्याऔँ ।’

केयरमा दुःख पाएका गाईबाच्छा पनि छन् । ‘मैले जारालाई बचाउन सकिन, घरमै भएको जनावर त असुरक्षित छन्, भने सडकका कसरी सुरक्षित होलान् त रु,’ उनी प्रश्न गर्छिन् । संस्था स्थापना गरेर सडकमा रहेको हजारौँ कुकुरलाई बन्ध्याकरण, उपचार जस्ता सेवा दिनुको श्रेय उनी जारालाई नै दिन्छिन् । ‘जनावर कल्याणमा लाग्ने प्रेरणा दिने मेरो कुकुर जारा नै हो,’ उनी थप्छिन् ।

स्नेहाको भनाइअनुसार काठमाडौंमा मात्रै लाखभन्दा बढी कुकुरहरु छन् । तिनीहरुको उद्धारका लागि धेरै ठाउँबाट बोलाए पनि सबै ठाउँमा आफू पुग्न नसकेकोमा श्रेष्ठ दुखेसो पोख्छिन् । ‘जनावर प्रेमीहरु कष्टमा परेका जनावरको उद्धारका लागि बोलाउनु हुन्छ तर जनशक्ति कम भएकाले सबै ठाउँमा पुग्न सकिँदैन,’ उनले भनिन्, ‘यसरी बोलाउनु भन्दा जनावरलाई माया गर्ने ४–५ जनाको समूह बनाएर उद्धारमा लाग्नुहोस् ।’

सयौं कुकुरकी अन्नदाता स्नेहाको अबको लक्ष्य के छ त रु उनी भन्छिन्, ‘अबको मेरो लक्ष्य भनेको स्नेहाज केयर बन्द गर्ने हो, सबैले वर्षको एकदिन जनावरलाई माया गर्छौं, पूजा गर्छौं तर, अरु दिन पिट्छौं हेँला गर्छौं,’ उनले थपिन्, ‘सबैले यसैगरी सधैं जनावरलाई माया गर्ने हो भने हाम्रोजस्तो संघसंस्था चाहिँदैन । त्यसैले मैले स्नेहाज् केयर बन्द गर्ने लक्ष्य लिएको हुँ ।’

बफादारको पर्याय कुकुर 

मानिस र कुकुरबीचको सम्बन्ध यति प्रगाढ छ । पछिल्लो समय कुकुरलाई एउटा पारिवारिक सदस्यका रुपमा लिन थालिएको छ  । साथै, बफादार प्राणीको रुपमा पनि कुकुरलाई लिइन्छ ।

सुघ्ने क्षमता उच्च भएका कारण विभिन्न आपराधिक क्रियाकलापको अनुसन्धान गर्ने क्रममा समेत कुकुरको प्रयोग गरिन्छ । साथै, कुकुर यति बफादार हुन्छ कि जसले आफू बसेको घर र त्यहाँका जहानलाई निकै प्रेम गर्छ ।

त्यसको उदाहरण हो, भारतको निजामतपुर मालिकलाई टोक्नै लागेको विषालु सर्प कुकुरले मारेर मालिकको ज्यान बचायो तर, सर्पको टोकाइबाट आफैंले भने ज्यान गुमाएको थियो ।

साथै, एकमहिनाअघि मात्र कैलालीको लम्कीचुहा नगरपालिका ५ की चुकुलाल चौधरीको निधनहुँदा चितामै गएर बसेको दृश्यले धेरैलाई भावविह्वल बनायो ।
हो, त्यसैले त नेपाली समाजमा एउटा भनाई छ, ‘आफन्तले साथ छोड्दा पनि कुकुरले छोड्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?