जीवन हरेक सपनालाई पच्छ्याउँदा पच्छ्याउँदैमा बित्छ । जन्म एकै प्रक्रियाबाट हुने भए पनि पारिवारिक वातावरण, संगत र अन्य आन्तरिक तथा बाह्य प्रभावबाट मानिसका सपना फेरबदल भइरहन्छन् ।
जीवनको गतिलाई अघि बढाउँदा सपनाका चाङलाई पुरा गर्दा गर्दै मानिसका रुची र ध्यान नै फेरिँदा रहेछन् । अनि, नदीले धार फेरेजस्तै एउटा गतिमा बगिरहेको मानिसको यात्राले पनि अर्कै मोड लिँदो रहेछ ।
त्यसैको एक उदाहरण हुन् ५२ वर्षीय उत्तम पुडासैनी । २०२७ सालमा काठमाडौंमा आमा कर्मकुमारी र बुबा हरिप्रसादको कोखबाट जन्मिएका उत्तम सानैदेखि सामाजिक कर्ममा लागे ।
सानोमा उनका वरिपरिका छिमेकीहरु दिनभर तास खेलेर बिताउने गरेको देख्थे । उनको बाल मतिष्कले जे देख्यो त्यसलाई सत्य ठान्यो । उसो त एसएलसी दिएपछि आफू पनि तास खेलेर बस्ने सपना बुन्न थाले ।
बाल मनले दिनभर काम नगरी तास खेल्ने सपना बुनेपनि अलि बुझ्ने भएपछि सपना फेरियो । उनको ध्यान समाजसेवातिर मोडियो । उसो उनी अहिले प्राणी रक्षाको अभियन्ता बने ।
यहीबीचमा अमेरिकाको भिसा लाग्यो । २००१ मा अमेरिका पुगे । त्यहाँ राम्रै व्यवस्था भइसकेको थियो । झण्डै ८ वर्षको अमेरिका बसाईलाई बिट मारेर उनी नेपाल फर्किए । ‘जीवन आनन्दसँगै बितेको थियो, तर जहिले पनि दोस्रो दर्जाको नागरिक भएर बाच्नुको पीडा सहन सकिन,’ उत्तम अमेरिका छोड्नुको कारण भन्दै थिए, ‘अनि नेपाल फर्किएँ जतिबेला नेपाल राजनीतिक अस्थिरताले जर्जर बनेको थियो तैपनि नेपालमै केही गर्छु भनेर आएँ तर, धेरैले मलाई मुर्ख उपनाम दिए ।’
अमेरिका बसेर आएपछि पैसा पनि होला अब केही व्यापार व्यवसाय गर्ला भन्ने उनका साथीभाई, आफन्तको सोच थियो । तर, उनी सामाजिक संस्थामा आवद्ध भइ बागमतीको सरसफाइतिर लागे ।
०७० सालतिरबाट सुरु भएको अभियानअन्तर्गत बागमतीलाई स्वच्छ बनाउन उनी निरन्तर लागिरहे । अन्य सामाजिक संस्थामा समेत आवद्ध रहेका उनी निरन्तर बागमतीको सरसफाइ गर्न जाँदा त्यहाँ गाइबाच्छा मरेका, कतिपय अपांग र अंगभंग भएका, कतिपय जीवन र मृत्युको दोसाँधमा रहेका देखेपछि उनको मनमा चिसो पस्यो । मानवअधिकारका क्षेत्रमा काम सुरु गरेका उनको मन अब प्राणी रक्षामा लाग्नुपर्छ भन्नेतिर मोडियो ।
‘हामीले २०७० सालतिर बागमती सफाइ अभियान सुरु गर्र्यौँ । हरेक दिन बागमतीको किनारमा जाँदा गाइबाच्छाहरु पानी खान जाने र गुणस्तरहिन पानीका कारण रोगी र असहाय हुनेदेखि मर्नेसम्मको अवस्था देख्यौँ । कतिपय बेसहारा गाइबाच्छा पानी खान जाँदा हिलोमा गाडिएर त्यही मरेको पनि देखियो,’ पुडासैनी लोकपथसँग मनको पोको फुकाउँदै थिए, ‘कतिपय सडक दुर्घटनामा अंगभंग हुने, मर्ने र सडकमै कुहिँदा पनि कसैले वास्ता नगर्ने कारण शहर समेत दुर्गन्धित बनेको देखेँ । जसको कारण यिनै असहाय गाइ बाच्छाको संरक्षणमा केही गर्ने सोच आयो ।’
सडकमा भौँतारिरहेका बेवारिसे गाइबाच्छाको संरक्षणमा राज्यले केही गर्दियोस् भन्ने उनको मनमा थियो । तर, सडकमा असहाय रुपमा ढलेका गाइबाच्छाहरुलाई पछिल्तिरिबाट कुकुरले टोक्दा तिनको आँखाबाट झरेका आँशुले आफूलाई यसतर्फ समर्पित हुन दृढ बनाएको उनी सुनाउँछन् ।
‘दिनहुँ गाइबाच्छाको निरिह आवाज ‘बाँ–बाँ’ को आवाज र आँशुले मलाई सताउन थाल्यो,’ उनले भने, ‘तिनको आँखाबाट झरेको आँशुमा आफ्ना बालबच्चा र मानवको निरिहपन देखिन थालेपछि घाइते र असहाय गाइबाच्छाको उद्धारका लागि पानी र औषधि बोकेर सडकमा धाउँन थालेँ ।’
कतिले अगाडी बाँबाँ गरेर कराउँदा कराउँदै पछाडी कुकुरले टोकेर कराइराखेको हुन्थ्यो । त्यसको चित्कार कसले सुन्ने ? अभियानको सुरुवाती दिनको पोयो यसरी फुन्छन्, ‘गाईको आँखामा हेर्दाखेरी करिब करिब हाम्रा छोराछोरीले जस्तै हामीलाई बचाउ भनेका हो कि भनेजस्तो अपील देखियो र तिनिहरुको त्यो दयनीय अवस्था देखेर अब यिनिहरुको संरक्षणमा लाग्छु भन्ने अठोठ त्यस दिनबाट लाग्यो ।’
…अनि सुरु भयो ‘असहाय गाइबाच्छा संरक्षण अभियान’
सुरुवाती दिनमा उनको टोली बागमती सरसफाइ अभियानको लागि बागमती किनारमा दिनँहु जस्तो पुग्थ्यो । विभिन्न कारणले अनाहकमा मरेका १४ सय बाच्छाबाच्छीको दाहसंस्कारसमेत गर्यो । कसैको संरक्षण पाएमा जीवन जोगाउन सकिने बाच्छाबाच्छीले समेत अनाहकमा ज्यान गुमाउन परेपछि उनीहरुको संरक्षण गर्ने उनको इच्छाशक्ति थप दृढ हुँदै गयो ।
त्यसपछिको एक घटनाले भने उनी एउटा आँट गर्ने निर्णयमा पुगे जुन थियो, पशुपतिको नन्दी गृहले संरक्षणको लागि खोजेको सहयोग ।
असहाय गाई बाच्छाको उद्धारमा धाउँदै उनी असहाय बाच्छा–बाच्छी लिएर पशुपतिको नन्दी गृहमा पुगे । नन्दी गृहबाट हेरचाहको लागि पैसा मागिएपछि बाच्छाबाच्छी संरक्षणमा लाग्ने चाहना थप बलियो बन्यो ।
‘हामीले अभियान सुरु गर्दा पशुपतिमा नन्दी गृह भन्ने थियो । जसले वेसाहारा बाच्छाबाच्छीको स्याहार गर्ने गर्दथ्यो । मैले एउटा वेसाहारा बाच्छालाई लैजाँदा डोनेशन मागियो । त्यहाँ संरक्षणको लागि कति पैसा दिने भनियो, मैले ५०० दिने भन्दा कति दिन पाल्ने ? ५०० सयले कतिदिन के खुवाउने भन्ने उत्तर पाएँ,’ पुराना दिन सम्झिँदै उनले भने, ‘त्यसपछि अब गरेर देखाउँने दिन आयो भन्ने कुराले मनमा हुटहुटी जाग्यो । अनि जन्मियो, असहाय गाइबाच्छा संरक्षण अभियान ।’
हाल सो अभियान अन्तर्गत पालपोषणका लागि ल्याइएका २१९ वटा गाइबाच्छा उनको अभिभावकत्वमा बाँचिरहेका छन् ।
कतैबाट असहाय गाइबाच्छा रहेको खबर आएमा त्यसलाई तत्काल उद्धारको लागि उनको टोली सम्बन्धित स्थानमा पुग्ने गरेको छ । कतिपय व्यक्तिले सहयोग गरेर फार्ममा ल्याइदिएमा कुनै सहयोग बिनै त्यसलाई लिने गरेको बताउँछन्, उनी ।
ठूलो क्षेत्रफलमा फैलिएको भू–भागमा उनले जाडो, गर्मी, पानी र हावाहुरीबाट बचाउने गरी फार्म सञ्चालन गरेका छन् । जहाँ महिला भन्दा पुरुष प्रजाती र दुध दिन नसक्ने अवस्थामा पुगेका माउ गाईहरु छन् । बाच्छी पाए राख्ने र बाच्छा पाए सडकमा छाडिदिने साथै दुध दिन नसक्ने अवस्थाका गाईहरु छाडिने हुनाले धेरै तिनै उत्तमको फार्मको संरक्षणमा पुग्छन् ।
त्यसरी दुःख पाएका गाईबाच्छा काठमाडौं उपत्यकासहित काभ्रे, पाँचखाल, बनेपा पनौतीबाट पनि ल्याउने गरेको उनी सुनाउँछन् ।
कसैको आस छैन
केन्द्र सरकार र विदेशी दातृ निकायबाट कुनै सहयोगको अपेक्षा नगरिएको दाबी गर्छन्, उनी । तर पछिल्लो समय स्थानीय सरकारले सहयोग गर्ने गरेको साथै त्यहीँबाट उत्पादन भएका कम्पोस्ट मल सहुलियतमा बिक्री गरि त्यहिबाट ४० प्रतिशतसम्म खर्च संरक्षणको लागि पुग्ने उनी बताउँछन् ।
‘केन्द्र सरकार र विदेशी दातृ निकायहरुसँग कुनै सहयोगको अपेक्षा गरेका छैनौँ । कागेश्वरी मनोहरा नगरपालिकाले उद्धारको लागि एउटा एम्बुलेन्स दिएको छ,’ उनले भने, ‘त्यहीबाट हामीले उपत्यकाबाट उद्धार गर्ने गरेका छौँ । कसैले फार्ममै ल्याइदिन्छन् कतिपय स्थानमा हामी आफैँ पुग्ने गरेको छाैँ ।’
अहिले गोकर्णेश्वर नगरपालिकाले यो वर्षको बजेटमा महिनाको एक लाख र पाँचखाल नगरपालिकाले वार्षिक ६ लाख छुट्टाउने भन्ने घोषणा गरेको छ ।
बेसहारा गाईबाच्छासँग जन्मदिन
हिजोआज बेसहारा गाईबाच्छाको संरक्षणका लागि तयार गरिएको फार्ममा धेरैजसो मानिसहरु जन्मदिन मनाउन पुग्ने गर्छन् । जन्मदिनका दिन पुग्नेहरु कसैले बाच्छाबाच्छीको संरक्षणको लागि केही पैसा छाडिदिन्छन् भने कतिपयले पराल र पिठो सहयोग गर्ने गरेका छन् ।
उनले पशु उद्धार र स्याहारको लागि देखेको सपना सुरुका दिनमा भने केही असहज भयो । परिवारबाट अन्य बेला सहयोग र कामबाट सन्तुष्ट भए पनि कोरोना कालमा भने संक्रमणको जोखिमका कारण केही पारिवारिक असन्तुष्टीहरु आइरहे । तर, उनले भने जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै आफ्नो कामलाई भने निरन्तरता दिइनै रहे ।
सुरुमा ७ जनाको टिम बनाएर काम गरेका उनको समूहमा अहिले केही व्यक्तिहरु मात्रै छन् । उनको अभियानमा हातेमाले गर्न आउनेहरु उत्साहले आउने र जानेले सामाजिक भावना सिकेर जाने गरेको प्रतिकृया आउने उनी सुनाउँछन् ।
अहिले आफ्ना छोराछोरी र परिवारकै सदस्य जस्तै बनेका छन् ती अवोध गाइबाच्छा । बिहान सबेरै उठ्यो तिनैको स्याहार गर्यो र तिनैसँगको लडिबुडी गर्दैै बित्छ उत्तमको बिहान । कतै काममा निस्कँदा होस् या जिल्ला बाहिर जाँदा परिवारको भन्दा बढी तिनकै याद आउँछ, उनलाई ।
वर्षौसम्म उनीहरुसँगै लुटपुटिएको कारण बाच्छाबाच्छीको अनुहारको भाव र निर्दोषपनले आफूमा छुट्टै उर्जा र करुणा पलाउने गरेको उनी सुनाउँछन् ।
गोठमा पुग्दा चारैतिर बाँबाँ र बुँबुँ गरि आवाजसहित बाच्छाबाच्छी वरिपरि झुम्मिएपछि उनलाई बा आमा बजार गएर आउँदा पापाको लागि छोराछोरीको अघि झुम्मिएको याद आउँछ । तीनकै स्नेहमा पग्लिएर सुरु गरेको उनको दैनिकी यही बन्छ ।
दैनिकीलाई उनी यसरी सुनाउँछन्, ‘हरेक दिन म ६ बजे उठेर त्यहाँ जाने गर्छु । जीवनमा कहिल्यै गोबर नसोहोरे पनि अहिले तिनको मायाले सोहोर्न थालेको छु । गोबर सोर्न मज्जा आउँछ । जब कुनै बाच्छाबाच्छीलाई उद्धार गरेर ल्याइ उपचारपछि तन्दुरुस्त बनाएपछि तीनको आँखाबाट बगेको आँशु देखेपछि केही गर्न सकेँ भन्ने महसुस हुन्छ ।’
यो धर्तीको अधिकार मानिसलाई जति छ त्यति नै यी प्राणीलाई पनि छ । त्यसैले गाईबाच्छाका बा अर्थात् उत्तम प्राणी रक्षाका लागि आह्वान गर्छन् ।
गाईपूजाका दिन भीडभाड
सुरुका दिनहरुमा कसैले खासै वास्ता नगरेपनि अहिले भने धेरै मान्छेहरु गाई पूजाको लागि आउन थालेको कुराले आफूलाई थप हौसला र उर्जा मिल्ने गरेको बताउँछन् ।
आज तिहारको तेस्रो दिन अर्थात गाई पूजा पनि हा । त्यसैले विगतका वर्षमा जस्तै आज पनि यहाँ गाई पूजा गर्नेहरुको भीडभाड नै लाग्छ । ‘आज त गाईपूजाका साथै देउसी भैलोको लागि समेत आउने खबर आएको छ,’ उनले भने, ‘यसपाली ठूलै मान्छेहरुको संख्या ठूलै होला भन्ने अपेक्षा गरेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया