राष्ट्रपति निवासमा पनि खेलियो देउसी भैलो

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रपतिको सरकारी निवास शितल निवासमा देउसीभैलो खेलिएको छ । सोमवार राष्ट्रपतिको निवास रहेको शितल निवासमा सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाहरुको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो । सो कार्यक्रममा राष्ट्रपतिलगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो ।

दौरा, सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु चोली र सारिको पहिरनमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएर खेलेको हो । टोलीले मादलको साथमा देउसीको बीचबीचमा सांगीतिक झाँकी मिसाउँदै देउसी खेलेको थियो।

कार्यक्रममा कलाकारहरुले ‘जाग, लम्क, चम्क हे नौजवान हो’ लगायतका केही राष्ट्रप्रेमको भावना झल्किने गीतहरु पनि प्रस्तुत गरेका थिए । बालमन्दिरका बालबालिकाहरुले नृत्य पनि प्रस्तुत गरेका थिए ।

देउसीभैलोसँगै प्रस्तुत भएका सबै सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले निकै चाखपूर्ण रुपले हेरेकी थिइन् । प्रस्तुतिहरु सकिएलगत्तै उनले देउसे टोलीलाई नाङलोमा राखेर दान दिएकी थिइन्।

यससँगै भैली टोलीले आशिष दिएका थिए । आशिषमार्फत राष्ट्रपति भण्डारीको उन्नति, प्रगती तथा सुस्वास्थ्यको कामना गरिएको थियो । घरमा लक्ष्मीले वास गरुन् । आगामी वर्ष पनि आउन पाउँलगायतको आशिष थियो । आशिषमै पाएको
दक्षिणाले सामाजिक कार्य गर्ने जानकारी पनि गराइएको थियो ।

अन्त्यमा भैली टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामुहिक तस्बिर खिचाएर देउसीभैलो कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?