एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् ।
आइतवार राति सम्पन्न भएको १० औँ चरणको खेलमा चेल्सीले बर्नलेलाई ४-० गोल अन्तरले पराजित गर्यो । खेलको २२ औँ मिनेटमा चेल्सीका लागि अल्भारो मोराताले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
खेलको पहिलो हाफसम्म एक-शुन्य गोलले अगाडि रहेको चेल्सीले दोस्रो हाफमा थप तीन गोल गर्यो । खेलको ५७ औँ मिनेटमा रोस बार्कलेले गोल गरे । ६२ औँ मिनेटमा विलियमले तथा खेल सकिनै लाग्दा लफटुस चेकले गोल गरेपछि बर्नले स्तब्ध भएको थियो ।
जितपछि चेल्सी २४ अंकका साथ लिगको दोस्रो स्थानमा छ ।
त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले एभर्टनलाई २-१ गोल अन्तरले हरायो । म्यान्चेस्टर युनाइटेडका लागि खेलको २७ औँ मिनेटमा पल पोग्वा र ४९ औँ मिनेटमा एन्थोनी मार्सियलले समान एक-एक गोल गरे ।
यता एभर्टनका लागि खेलको ७७ औँ मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत एक मात्र सान्त्वना गोल फर्काए ।
जीतपछि १७ अंक बनाएको म्यान्चेस्टर युनाइटेड लिगको आठौँ स्थानमा छ । लिगको शिर्ष स्थानमा रहेको लिभरपुलको २६ अंक छ । यता आइतवार राति नै भएको आर्सनल र किस्टल प्यालेसबीचको खेल भने २-२ गोलको बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया