प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिकित्सक यसो भन्छन्

काठमाडौं । शुक्रबारदेखि रुघाखोकीबाट ग्रसित भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । 

छातिमा संक्रमण र शरिरमा चिनीको मात्र असन्तुलित भएपछि सोमबार बिहान ४ः३० बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा निकै सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्री ओलीको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य छन् ।

त्यस्तै उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्रीको ज्वरो नियन्त्रणमा आएको छ भने सास फेर्न पनि सहज भएको बताए । 

‘प्रधानमन्त्री ओलीको रगतमा चिनीको मात्रा नियन्त्रणमा छ भने सास फेर्न पनि सहज हुँदै गएको छ’ उपचारमा चिकित्सकले भने, ‘अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निकै सुधार देखिएको छ । उहाँलाई ज्वरो छैन भने सास फेर्न पनि सजिलो हुँदै गएको छ, छातीको घ्यारघ्यार कम हुनुका साथै शरीरमा चिनीको मात्रा समेत नियन्त्रणमा छ ।’

भर्नापछि अस्पतालले सोमबार बिहान पहिलो रिर्पोट सार्वजनिक गर्दै उनको छातीमा संक्रमण र शरिरमा चिनीको मात्रा असन्तुलन भएको बताएका थिए । साथै सोमबार दिउँसोदेखि भने उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको बताइएको छ ।

हाल प्रधानमन्त्री ओलीलाई ‘सीसीयू’मा राखेर उपचार गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?