विश्वको घुम्नैपर्ने १० शहरमध्ये काठमाडौं ५ नम्बरमा

विश्वभरिका घुम्नैपर्ने उत्कृष्ट १० शहरको सूचीमा काठमाडौं पाचौं स्थानमा सूचिकृत भएको छ ।

‘लोन्ली प्लानेट’ नामक विश्वप्रसिद्ध ट्राभल गाइड बुकले तयार गरेको सन् २०१९ का घुम्नैपर्ने १० शहरको सूचीमा काठमाडौं पनि पर्न सफल भएको हो । ‘लोन्ली प्लानेट’ ले विगत १४ वर्षदेखि हरेक वर्ष विश्वभरिका घुम्नैपर्ने उत्कृष्ट १० शहरको सूची तयार गर्दै आएको छ ।

उक्त सूचीमा पर्ने शहरहरुमध्ये कुनै आफ्नो सुन्दरता र विकासका कारण पहिलादेखि नै लोकप्रिय छन् भने कुनैलाई प्राकृतिक प्रकोपले ध्वस्त बनाएका कारण विश्वको ध्यानाकर्षण होस् भनेर समावेश गरिएको छ । लोन्ली प्लानेटका प्रधानसम्पादक टम हलका अनुसार काठमाडौं उक्त सूचीमा पर्नुको मूख्य कारण २०७२ सालको विनाशकारी भूकम्प हो । भूकम्प गएको ३ वर्ष बित्दा नबित्दै काठमाडौंले आफूलाई विध्वंशबाट केही हदसम्म बाहिर ल्याउन सफल भएको उनी बताउँछन् ।

उनी थप्छन् ‘विनाशकारी प्राकृतिक प्रकोपका बावजुत पनि शहर उत्तिकै सुन्दर र कलात्मक देखिन्छ । काठमाडौंलाई हर्नमुक्त क्षेत्र घोषणा गरेकाले पनि शहर पहिलाको तुलनामा शान्त भएको छ ।’ फेरि यस्तो विपत्ति भएको केही वर्षभित्रै अन्तर्राष्ट्रिय खेल अर्थात् सन् २०१९ को ‘साउथ एसियन गेम्स’ आयोजना गर्ने तयारी गर्नुले पनि काठमाडौंको लोकप्रियता चुलिएको हो ।

‘लोन्ली प्लानेट’ ले काठमाडौँको इतिहासलाई सुन्दर तरिकाले चित्रण गरेको पाइन्छ । कलात्मक शैलीमा निर्माण गरिएका ऐतिहासिक तथा सांस्कृतिक धरोहरका बारेमा पनि उक्त बुकमा चर्चा गरिएको छ ।

सन् २०१९ मा घुम्नैपर्ने उत्कृष्ट १० शहर :

– कोपेनहेगन, डेनमार्क

– शेनजेन, चीन

– नोभी साद, सर्बिया

– मियामी, फ्लोरिडा

– काठमाडौं, नेपाल

– मेक्सिको सिटी, मेक्सिको

– दाकर, सिनेगल

– सिआटल, वाशिंगटन

– जदार, क्रोएसिया

– मेक्नेस, मोरोक्को

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?