सुदूरपश्चिममा स्क्रब टाइफस रोगको कारण दुईको मृत्यु, ५० मा संक्रमण

डडेल्धुरा । सुदूरपश्चिममा स्क्रब टाइफस रोगको कारण दुई जनाको मृत्यु भएको छ । 

स्क्रब टाइफस रोगका कारण मृत्यु हुनेमा डडेल्धुराको अजयमेरुकी २२ वर्षीया सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका–२ सिलंगाकी ९ वर्षीया बालिका गंगा पन्त छन् । भट्टको उपचारका क्रममा धनगढीमा र पन्तको नेपालगञ्जमा मृत्यु भएको हो । 

उपक्षेत्रीय अस्पताल डडेल्धुराका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पछिल्लो ४१ दिनको अवधिमा १ सय ३० जनाको स्वास्थ्य परिक्षण गर्दा ५० जनामा स्क्रब टाइफस रोगको संक्रमण देखा परेको छ । 

संक्रमित ५० जनाको अहिले उपक्षेत्रीय अस्पताल उपचार भइरहेको छ ।

रोगको संक्रमण बढ्दै जान थालेपछि पहिलो डडेल्धुरालगात बैतडी, डोटी र बझाङमा समेत यर रोगको संञmमण देखापर्न थालेको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ । 

लक्षण 
स्क्रब टाइफस रोग लागेमा उच्च ज्वरो आउने, मांसपेसी दुख्ने, जिउमा रातो दाग देखा पर्ने, टाउको धेरै दुख्ने लक्षण देखापर्छ । 

रोगको समयमै उपचार नभएमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अंगमा संक्रमण फैलिन्छ र बिरामीको ज्यान जान सक्छ ।

कसरी बच्ने ?

यो रोगको उपचार गर्न रोगको पहिचान गरी उपचार गर्न सकिन्छ । औषधिको रूपमा एन्टिबायोटिक प्रयोग गर्नु पर्ने चिकित्सकको भनाई छ । यस्तै किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहन सके पनि यसबाट बच्न सकिन्छ ।

घरभित्र र वरपरको वातावरण सफा राख्ने, सकेसम्म घासबारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, घाँसबारी वा चौरमा बस्दा केही ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने गर्नु पर्दछ ।

यो रोग सर्वप्रथम सन् १९३० मा जापानमा देखा परेको थियो ।  

दोस्रो विश्वयुद्ध चल्दै गर्दा सेनाहरु जंगलको झाडी हुँदै हिँड्दा ‘माइट’ले टोकेको र टोक्ने क्रममा ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवि पनि शरीरमा छोडेकोले यो रोगको संक्रमण देखा परेको थियो ।  

हाल नेपालमा भने मुसाको कारण रोग सरेको हुन सक्ने अनुमान गरिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?