काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले पीडित भनिएकी किशोरी र आफू राति होटलको एउटै कोठामा रहे पनि शारीरिक सम्बन्ध नराखेको बताएका छन् ।
जिल्ला अदालत काठमाडौंमा बयान दिने क्रममा लामिछानेले नगरकोटबाट फर्कने क्रममा आफूले होस्टलमै छोडिदिने उद्देश्यले होस्टेलको लोकेसन माग्दा निजले होस्टल बन्द भइसक्यो भनेपछि ‘होटल काठमाडौँ इन’ मा गएको बताएका छन् ।
कोठामा एसी नचलेका कारण निज किशोरीले नै कोठा चेन्ज गर्न आग्रह गरेको र निजले भने अनुसार आफूले होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चाबी लिएर करिब २३ः५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको सन्दीपको भनाइ छ ।
‘कोठामा पुगिसकेपछि म कुराकानी गर्नका लागी कुर्चीमा बसेँ भने म पछि निज आएर कोठाको ढोका लगाई भित्रबाट लक गरेकी थिइन् । ‘मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, इट्स ओके भन्दै जवाफ फर्काइन् । मैले यो कुरालाई सामान्य रूपमा लिएर कुर्सीमा बसिरहेँ भने निज बेडमा बसिन् र कुराकानीकै बिचमा म फ्रेस हुनका लागि बाथरुम गई पुनः कुर्चीमा आई बसेँ ।’ बयानमा सन्दीपले भनेका छन् ।
आफू धेरै बेर कुर्सीमा बसेको देख्दा निजले बेडमा आएर बस्नसमेत आग्रह गरेको तर आफूले ‘हैन म यहीँ ठिक छु’ भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्चीमा बसेको र निज बेडमै रहेको सन्दीपको भनाइ छ ।
त्यसपछि कुराकानी गर्दागर्दै बिहानको करिब ४ बजेको सन्दीपले बयानमा बताएका छन् ।
त्यसपछि आफूले निजलाई निजकै होस्टल नजिक छाडेको र सोही साँझ आफूसहित क्रिकेट टिम केन्यातर्फ प्रस्थान गरेको सन्दीपले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया