पोखरा । जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत चितवन राइनोजले काठमाडौं रोयल्सलाई १ सय ५० रनको चुनौती प्रस्तुत गरेको छ ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४९ रन रनको योगफल तयार पारेको थियो ।
चितवनका लागि ओपनर ब्याट्सम्यान हरि शंकर साहले अर्धशतकिय इनिङस खेले । उनले ४९ बलमा ५ चौका र ३ छक्काको मदतमा ६० रन बनाए । जारी प्रतियोगितामा उनले बनाएको यो दोस्रो अर्धशतक पनि हो । यस अघि उनले धनगढीविरुद्ध अर्धशतकिय पारी खेलेका थिए ।
त्यस्तै स्मित पटेलले ३१ रन, अनिल कुमार साहले २७ रन, कप्तान पारस खड्काले १४ रन तथा सन्नी पटेलले १३ रन जोडे । यता काठमाडौंका लागि बसन्त रेग्मीले सर्वाधिक २ तथा नन्दन यादव र पवन सर्राफले समान १-१ विकेट लिए ।
प्ले अफमा स्थान बनाउनका लागि चितवनलाई काठमाडौंविरुद्धको खेल जित्नै पर्ने दवाव छ । चितवनले खेलको ३ खेलमध्ये दुईमा हार र एकमा जीत हात पारेको थियो । २ अंक मात्र जोडेको चितवन लिगको चौथो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया