रेखाको ‘मालिका’ मा महिला हिंसाविरुद्ध उभिएका कमला र शर्मिला

काठमाडौं । जाजरकोटकी कमला ओलीले रेखा थापाका चलचित्र कहिल्यै हेरेकी थिइनन् । रेखाको मात्र होइन, उनले कुनै पनि नेपाली चलचित्र हेरेकी थिइनन् । एकाएक उनलाई चलचित्र ‘मालिका’ मा हिरोइन बन्ने मौका जु–यो ।

कमलालाई यतिबेला यही चलचित्रले चर्चामा ल्याएको छ ।

हिजोसम्म जाजरकोटमा मात्र सीमित कमला यतबेला नेपाली फिल्मका दर्शकमाझ चिनिएकी छिन् । चलचित्र घरमा उनका पोस्टर टाँसिएका छन् । भोलिबाट रिलिज हुने चलचित्र ‘मालिका’ को केन्द्रीय भूमिकामा उनै कमला छिन् ।

साँच्ची यो फिल्ममा रेखाले आफूलाई ओझेलमा पारेर कमलालाई अगाडि सारेकी छिन् । प्रचारमा पनि रेखा गौण र कमला हाइलाइटमा छन् ।

केही दिनको काठमाडौं बसाइका क्रममा भेटिएकी तिनै कमलाले भनिन्, ‘हाम्रो घरतिर चेतनाको कमीले गर्दा सानैमा भागेर बिहे गर्ने चलन छ, यो फिल्ममा काम गर्दा मैले आफ्नो खुट्टामा उभिएपछि बिहे गर्नुपर्छ भन्ने सिकेँ ।’

उनको बोलीमा अलिकति पनि झुट छैन । कुरा बनाएर बोल्न शायद आउँदैन पनि कमलालाई । भर्खरै ११ मा पढ्दै गरेकी कमलाको सपना फेरि अर्को फिल्ममा जोडिने छैन अहिलेका लागि । बरु धेरै पढेर शिक्षक हुनु छ उनलाई ।

‘अब राम्रोसँग पढ्छु, धेरै पढेर आफ्नै खुट्टामा उभिने हुन्छु र बिहे गर्छु’, कमलाले थोरै जाजरकोटतिर बोलिने भाषिकाको लबज नबिग्रने गरी बोल्दै भनिन्, ‘अर्को फिल्मका बारेमा चाहिँ अहिल्यै केही सोचेकी छैन ।’

फिल्म मालिकाकी कलाकार कमला वली । तस्वीरः अर्घेलो थापा/लोकपथ

पहिलो फिल्मले कमलालाई मात्र होइन, शर्मिला रावललाई पनि धेरै थोक सिकाएको छ । शर्मिला रावल, जो ‘मालिका’ मा बेहुलीको भूमिकामा छिन् । उनी पनि बालविवाह र महिला हिंसाविरुद्ध आवाज उठाउँछिन् फिल्ममा ।

फिल्मको छायांकनको दौरान डायलग बोल्दा र फिल्मकै लागि अभिनय गर्दागर्दै उनीहरुले धेरै कुरा सिक्ने मौका पाए । कमलाकी मिल्ने साथी बनेकी शर्मिलाले सुनाइन्, ‘हाम्रो घरतिर बालविवाह त हुन्छ तर परिवारले गरिदिने होइनन्, दश पढेपछि केटाकेटी आफैले भागेर बिहे गर्छन् ।’

किन त? कारण प्रष्ट छ, केटाकेटीमा चेतनाको कमी ।

‘मालिका’ ले झण्डै यस्तै कथा उठाएको छ । त्यहाँका महिलालाई बोल्न सिकाइन्छ । आवाज उठाउन सिकाइन्छ । यसअघि पनि रेखाले आफ्ना फिल्मपमार्फत यस्ता प्रयास गर्ने गरेकी थिइन् । यो फिल्ममा उनले सुहाउँदो दुई पात्र छानेकी छिन् । ती पात्रहरु हुन् – कमला र शर्मिला ।

शर्मिलाका धेरै साथीहरु भागेर बिहे गरिसके । शर्मिला अहिले १२ मा छिन् । यी दुवैले आजभोलि आफ्ना साथीहरुलाई छिटो बिहे गर्न हुँदैन भनेर सम्झाउन थालेका छन् ।

‘फेरि अर्को फिल्ममा त नहुन पनि सक्छु, पहिले पढाइलाई नै फोकस गर्छु, समय भयो भनेमात्र बल्ल फिल्मबारे सोच्छु ।’,अर्को फिल्म खेल्नेबारे शर्मिलाले भनिन् ।

मालिकाकी कलाकार शर्मिला रावल । तस्वीरः अर्घेलो थापा/लोकपथ

शर्मिलाले पढेर लोकसेवा आयोग लड्न चाहन्छिन् । उनको धोको सेलिब्रेटी बन्नेभन्दा बढी सरकारी जागीरे बन्ने छ । भनिन्, ‘पहिले त राम्ररी पढ्नुप–यो, अलिअलि पढेर जागीर खान सकिन्न ।’

शर्मिलाको गाउँ लहँ कमलाको गाउँ कालेगाउँ भन्दा अलि माथि लेकमा पर्छ । कमलाको बेसीमा । शर्मिलाको गाउँमा काफल पाक्छ । गुराँस फुल्छ । कमलाको गाउँमा फुल्दैन । कमलाको गाउँ सदरमुकामभन्दा नजिक छ । आधा घण्टामा सदरमुकाम पुगिन्छ । केही समथर छ ।

दुवैका गाउँमा बिजुली पुगेको छ । बाटो पुगेको छ । गाउँलेहरु शिक्षित हुँदै गएका छन् । कमला र शर्मिला चाहन्छन्, ‘गाउँ अझै शिक्षित बनून्, विकास होस्, महिला हिंसा र बालविवाह नहोस् ।’

यस्तो सोच उनीहरुलाई फिल्म ‘मालिका’ को छायांकनको दौरान आएको हो । हुन त यस्तो चेत पहिले पनि हुँदै नभएको भने होइन । कमला र शर्मिला भन्छन्, ‘हामीले धेरै कुरा बुझेका रहनेछौँ, अहिले बुझ्ने मौका पायौँ ।’

शर्मिलालाई मात्र होइन, कमलालाई पनि शुरुमा फिल्म खेल्न उत्तिकै असहज लागेको थियो । पछि भने उनलाई सहज लाग्दै गयो । कमलाले भनिन्, ‘अब त फिल्म खेलेँ भने पनि धेरै सजिलो हुन्छ होला ।’

कमलाले फिल्म त परको कुरा फिल्मका पोस्टरसमेत देखेकी थिइनन् । फिल्म हल देखेकी थिइनन् । पोस्टरसमेत नदेखेकी कमला आफूलाई फिल्मको पर्दामा देख्दा कहिलेकाहीँ अचम्मै मान्छिन् । आफूलाई भाग्यमानी ठान्छिन् ।

शर्मिला र कमला । तस्वीरः अर्घेलो थापा/लोकपथ

‘कहिलेकाहीँ अचम्म लाग्छ, फिल्म नै नहेरेको मान्छेले आफूलाई पर्दामा देख्न पाएँ, चिनाउन पाएँ ।’, कमलाले सुनाइन् ।

अझै पनि कमला र शर्मिलाको गाउँतिर फिल्म खेल्दा मान्छे बिग्रिन्छ भन्ने सोच्नेको पनि कमी छैन । तर, सबैले भने यही सोच बोकेर बाँचेका छैनन् । कमलाले भनिन्, ‘कतिले त यसले फिल्म खेली, अब बिग्रने भई समेत भन्छन्, कतिले चाहिँ राम्रो ग–यौ भनेर हौसला दिन्छन् ।’

हलमा त कमला र शर्मिलाले आफूलाई देख्न पाउने नै छन् । त्यो फिल्म भयो । छायांकनका बेलाको त्यो समय पनि उनीहरुलाई याद छ । कमलाले भनिन्, ‘फिल्म शूटिङ गर्दा कति धेरै मान्छेका अगाडि ‘मैले यो बिहे हुँदैन’ भनेर बोलेँ, त्यो समय अहिले पनि याद छ ।’

उनीसँगै कमलाले पनि सुनाइन्, ‘मेरा लागि पनि थुप्रै मान्छेका अगाडि पुगेर डायलग बोल्दाको त्यो समय सबैभन्दा खुशीको पल थियो ।’

शर्मिलाले बोलेको डायलग थियो – ‘हाम्रो सोच परिवर्तन नभएसम्म संसार परिवर्तन हुँदैन, त्यसैले अब समय आएको छ मौनता तोड्ने ।’

फिल्मको शूटिङको बेलामा जाजरकोटका स्थानीयको भीड थियो । त्यही भीडलाई सम्बोधन गर्दै कमला र शर्मिलाले संवाद बोलिरहेका थिए ।

‘रेखालाई चिन्दै नचिन्ने गाउँले कसरी एकाएक जम्मा भए त?’, हामीले सोध्यौँ ।

कमलाले तात्तातो उत्तर दिइहालिन्, ‘पहिले पो चिनेनन् नि, पछि त रेखा दिदी हिरोइन भन्ने थाहा पाएपछि त उहाँलाई हेर्न भनेर आए नि सबै ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?