श्रीलङ्काका राष्ट्रपति सिरिसेनाद्वारा संसदको निलम्बन फुकुवा, सोमबार बैठक

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरेका छन् । 

संसदको निलम्बन फुकुवा गरेपछि सोमबारका लागि संसदको बैठक बोलाइएको छ ।  

अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति सङ्घर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन् । 

राष्ट्रपति सिरिसेनाले रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरी संसद निलम्बन गरेका थिए ।  संसद निलम्बन गरेसँगै राष्ट्रपतिले रनिल विक्रमासिङ्घेको सट्टामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । 

विक्रमासिङ्घेले राष्ट्रपतिको कदमलाई खारेज गर्नुका साथै प्रधानमन्त्रीको सरकारी निवास छाड्न अस्वीकार गरेका छन् । 

“बुधबार साँझ राष्ट्रपति र संसदका सभामुखबीच भेटवार्ता भयो । यो एक किसिमको मध्यस्थता हो,” वार्तामा सहभागी एकजना अधिकारीले बताए । “अन्यथा, सभामुखले राष्ट्रपतिको कदमलाई बेवास्ता गरी शुक्रबार संसदको बैठक आह्वान गर्ने तयारी भएको थियो ।” 

संसदमा यो सङ्कटका बारेमा सोमबार मतदान हुने नहुने विषय भने स्पष्ट भइसकेको छैन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?