प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : गण्डकी प्रदेशले निकाल्यो लगातार गण्डकी प्रदेश

लोकपथ
7
Shares

काठमाडौं । काठमाडौंंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।

यसअघि भएको पहिलो खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि ६९ रनको जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको थियो । गण्डकीले दिएको २ सय ९ रनको लक्ष्य पच्छ्याएको कर्णालीले ४७ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ७६ रन बनाउन सक्यो । कर्णालीका हिमांसु शाहीले ६९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीको जितका लागि पर्याप्त भएन । उनले १ सय १६ बलको सामना गर्दा ८ चौका प्रहार गरेका थिए । कप्तान रविन्द्र शाहीले ४२ रन जोड्दा प्रकाश जैसीले १५ रन बनाए । गण्डकीका सुवास भण्डारी र चन्द्र पौडेलले समान ३ विकेट लिए ।

कप्तान विपिन खत्रीको नाममा २ विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । गण्डकीका लागि अभिषेक बस्नेतले ५१ रनको अर्धशतकीय इनिङ खेले । ४५ बल खेलेका अभिषेकले ८ चौका र १ छक्का प्रहार गरेका थिए ।

यस्तै, अर्जुन कुमालले ४९ रन जोड्दा विधान श्रेष्ठले ४६ रन बनाए । सुवास भण्डारी १४ रनमा आउट भए । कर्णालीका अनुज चुनाराले ४ विकेट लिए ।प्रकाश जैसी र दिनेश अधिकारीले २ विकेट निकाले । जितसँगै समूह ए को गण्डकीले २ खेलमा ४ अंक जोडेको छ । गण्डकी समूहको दोस्रो स्थानमा रहेको छ । उता कर्णालीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

यस्तै, बुधवार नै भएको अर्को खेलमा ज्ञानेन्द्र मल्लको टोली वागमती प्रदेश लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित भएको छ । यससँगै वागमतीले लगातार तेस्रो हार भोगेको छ ।

बुधवार मुलपानी क्रिकेट मैदानमा वागतमीले प्रस्तुत गरेको १ सय ५५ रनकोलक्ष्य लुम्बिनीले ३५ दशमलव ४ ओभरमा मात्र दुई विकेट क्षतीमा पूरा गर्‍यो ।

पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको वागतमी दोस्रो खेलमा प्रदेश १ सँग निराश भएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले अविजित ७७ रन जोड्दा प्रजोल थापाले २९ रन जोडे । देवले १ सय १९ बलमा ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै सन्दीप रजाइलीले पनि अविजित २९ रन जोडे । वागमतीका प्रतिश जिसी र रिजन ढकालले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको वागमतीले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रनको योगफल बनाएको थियो । वागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३३, दुर्गेश थापाले ३२ र ओपनर आशुतोषले २२ रन जोडे । ज्ञानेन्द्रले ४६ बलमा चार चौका र एक छक्का प्रहार गर्दा दुर्गेशले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । वागमतीका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अंकको स्कोर बटुल्न सकेनन् ।

लुम्बिनीका अनिल खरेलले सर्वाधिका ४ विकेट निकाल्दा विशाल विक्रम केसी र अभिषेक गौतमले समान २ विकेट लिए । जितसँगै लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ । लुम्बिनी समूह ‘बी’ को दोस्रो स्थानमा रहेको छ । वागमती ३ खेलमा अंक विहीन रहँदै पुछारमा रहेको छ । पुलिस ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा प्रदेश १ दुई अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । प्रतियोगितामा बिहीवार पनि दुई खेल हुनेछन् । मुलपानी क्रिकेट मैदानमा मधेस प्रदेश र प्रदेश १ तथा कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिसबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?