विश्वकै घना बस्ती भएको ‘आयल्यान्ड’ फुटबल मैदान जत्रो

पृथ्वी आफैमा एक ‘आश्चर्यभूमि’ हो । यही ‘आश्चर्यभूमि’को एउटा सानो टुक्रा हो ‘सेन्टा क्रुज डेल आयलेट’ नामक ‘आयल्यान्ड’ ।

यस आयल्यान्डले सबैको ध्यानाकर्षण गर्नुको मुख्य कारण हो, यसको सानो आकार र घना बसाइ । १२ हजार वर्ग मि क्षेत्रफल भएको यस आयल्यान्डमा ११५ वटा घरहरु छन् । कोलम्बियाको ‘क्यारेबियन तट’ मा अवस्थित यो आयल्यान्ड प्रति वर्ग मि को हिसाबले विश्वकै घना वस्ती भएको आयल्यान्डका रुपमा प्रचलित छ । 

दुईवटा फुटबल मैदान बराबरको क्षेत्रफल भएको यस भूमिले ५ सय जनालाई अटाएको छ जसमा ६० प्रतिशत बालबालिका छन् । 

सेन्टा क्रुज डेल आयलेट झट्ट हेर्दा समुद्रमाथि तैरिरहेको जलयन्त्र जस्तो देखिन्छ । वरिपरि पानी मात्र भएको यस जमिनमा मानव वस्ती कसरी विकास भयो भन्ने कौतुहलता हुनु स्वभाविक हो । त्यहीँका बासिन्दाले बताएअनुसार करिब १५० वर्ष अघि माछा मार्ने क्रममा आएका मछुवाहरु त्यहाँ बास बस्न पुगे । अन्य बास बस्दै आएको ठाउँ जस्तो लामखुट्टे नलाग्ने भएकाले उनीहरुले यहीँ बसेर आफ्नो व्यवसाय गर्ने योजना बनाए । त्यसैले अहिले पनि त्यहाँका मानिसहरुको मुख्य पेशा माछा मार्ने नै रहेको छ ।

भौतिक सुखसुविधादेखि टाढै रहेको यस आयल्यान्डमा न कुनै पिच सडक छ न त यहाँका बाटामा कुनै सवारी साधन नै कुद्छन् । यहाँ जम्मा ५ मूख्य बाटोहरु छन् । सबै कुनै न कुनै ठाउँमा एक अर्कासँग जोडिएका ।

बिजुलीका निमित्त सर्वसाधारण सोलर प्यानलमा निर्भर छन् । त्यसैले बिजुलीमा आवश्यकता भन्दा बढी खर्च भइरहेको उनीहरुको गुनासो छ । 

सबैजना एकै परिवार जस्तै सहकार्य गरी बस्ने भएकाले यहाँ चोरी, डकैती, हत्या, मारपिट जस्ता अपराध हुँदैनन् त्यसैले पुलिस वा अन्य सुरक्षा बलको आवश्यकता नै पर्दैन ।

यद्यपी, यहाँका मानिसले शिक्षाको महत्त्व भने राम्रोसँग बुझेका छन् । बालबालिकालाई उचित शिक्षा दिनुपर्छ भन्ने चेतना भएकाले नै यहाँ एक विद्यालय स्थापना गरिएको छ जहाँ दुई सिफ्ट गरेर करिब १ सय ७० बालबालिका अध्ययन गरिरहेका छन् । प्रविधिको प्रभावबाट अछुतो यस ठाउँमा बालबालिकाले आफ्नो बालापन भरपुर मात्रामा ‘इन्जोय’ गरिरहेका छन् । पुर्खौंदेखि माछा, अक्टोपस लगायत जलीय प्राणी मार्ने पेशामा संलग्न भएकाले नै होला यहाँका बालबालिकाले सानैदेखि पौडी खेल्न सिकिसकेका हुन्छन् । 

प्रत्येक परिवारसँग कम्तीमा एउटा डुङ्गा छ जसलाई उनीहरु माछा मार्न, घरबाट निस्केको फोहोर व्यवस्थापन गर्न, नजिकैको आयल्यान्डमा रहेको चिहानसम्म पुग्नलाई प्रयोग गर्छन् ।  
वरिपरि पानीले घेरिएतापनि यस आयल्यान्डको मुख्य समस्या भनेको खानेपानी नै हो । विशेषतः गर्मी महिनामा खानेपानीको अभाव झेल्नुपर्ने यहाँका मानिसले पानीलाई ‘हिरा’भन्दा अमूल्य वस्तुका रुपमा लिन्छन् ।  

वर्षौं नै हजारौं पर्यटकहरु आउने भएकाले यहाँका मानिसहरु माछा मार्नुका अतिरिक्त ‘टुरिस्ट गाइड’ पेशामा पनि संलग्न छन् । जे होस्, सेन्टा क्रुज आयल्यान्डका बासिन्दाका लागि बाहिरी संसार छुट्टै ग्रह बराबर हो । अथाह जलको बीचमा अवस्थित यही जमिनको सानो टुक्रा नै उनीहरुको ‘पृथ्वी’ हो । 

 

  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?