बिहीवार पनि सकिएन सन्दीपविरुद्धको मुद्दाको थुनछेक बहस

लोकपथ
14
Shares

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीवार (आज) पनि नसकिएपछि शुक्रबार (भोलि) कालागि सरेको छ । उनिविरुद्धको मुद्दा आज नसकिएकाले जिल्ला अदालत काठमाडौंले भोलिका लागि हेर्दहेर्दैमा राखेको छ । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् ।

क्रिकेटर लामिछानेविरुद्ध कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान लिने काम सम्पन्न भएको छ । बयान लिनेकाम सम्पन्न भएपछि बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म ४ सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि अब शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

बुधबारको बहसमा वादी नेपाल सरकारका तर्फबाट ४ जना सरकारी वकिल र तीन जना अधिवक्ताले बहस गरेका थिए । नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु लक्ष्मण उपाध्याय घिमिरे, महेश प्रसाद खत्री, कृष्णा भण्डारी, सहायक जिल्ला न्यायाधिवक्ता सुरविर परियारले बहस गरेका थिए । त्यसैगरी वादीकै पक्षबाट वरिष्ठ अधिवक्ताद्वय शशी अधिकारी र सुनिता रेग्मी तथा अधिवक्ता शान्ति काफ्लेले बहस गरेकी थिइन् ।

बुधबार नै प्रतिवादीका तर्फबाट अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए । हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बिहीवार पनि अन्य सबै पेशी स्थगित गराएर सन्दीपको मुद्दामा मात्रै बहस भएको थियो । बिहीवारको बहसमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा तथा सबिता बराल भण्डारी तथा अधिवक्ताहरु सुवास पाठक, सुधार रिजाल, प्रविन सुवेदी र अनुराग सुवेदीले बहस सकेका छन् । थुनछेक बहसमा अझै केही अधिवक्ताहरु बाँकी रहेको काठमाडौं जिल्ला अदालत स्रोतले जनाएको छ ।

प्रतिवादीका तर्फबाट बहस सकिएपछि आवश्यक भएमा पुनः सरकारी वकिलका तर्फबाट प्रतिवादीका वकिलले उठाएका विषयको जवाफ दिनेछन् । त्यसपछि न्यायाधीशले थुनछेक आदेश गर्नेछन् । बुधवारको बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेको दाबी गरेका छन् । प्रतिवादीका तर्फबाट किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको विद्यालयको कागजात पेश गरिएको बताएका छन् ।

गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । जाहेरी परेको समयमा सन्दीप क्यारेबियन लीग खेल्न जमैकामा पुगेका थिए । प्रहरीमा जाहेरी परेपछि खेल नखेली फरार भएपछि नेपाल प्रहरीले सन्दीपविरुद्ध डिफ्युजन नोटिससमेत जारी गरेको थियो । प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सन्दीप असोज २० गते काठमाडौं आएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?