बर्दीपछि राजनीति !

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन हरेक कोणबाट रोचक बन्दैछ । गठबन्धन, ‘हेभी वेट’ नेताबीचको प्रतिस्पर्धा र नयाँ अनुहारले आगामी निर्वाचनको परिदृश्य बदलेको छ । यो निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनामा लामो समय सेवा गरेका व्यक्तिहरु पनि चुनावी दौडमा छन् । जसले झनै निर्वाचनको माहोललाई तताएको छ ।

बर्दी छोडेर राजनीतिमा होमिएका ती उम्मेदवार को–को हुन् ? अनि उनीलाई चुनाव जित्न कत्तिको सहज होला त ? यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।

सर्वेन्द्र खनाल  

नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल आगामी निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट काठमाडौं–६ को उम्मेदवार बनेका छन् । एक महिनाअघि जसोमात्र एमाले प्रवेश गरेका खनाल यतिबेला मतदाता रिझाउन व्यस्त छन् । उनको मुख्य प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधान छन् ।

खनालका अघि प्रधान बलियो दाबेदार हुन् । साथै, विगतका तीन वटा निर्वाचनलाई हेर्ने हो भने यो क्षेत्रमा एमाले पटक–पटक पराजित हुँदै आएको छ । यही क्षेत्रमा उही प्रधानसँग एमालेका युवा नेता योगेश भट्टराईले दुईपटक निर्वाचन हारे । साथै, ०७४ को प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धनबाट माओवादीका झक्कु सुवेदीसमेत पराजित भएका थिए । त्यतिबेला प्रधानले १६ हजार ७ सय ८५ मत ल्याएर विजयी भएका थिए ।

त्यसैले यो क्षेत्रमा खनाललाई जित निकाल्न कठिन छ । साथै, यहाँका मतदाताले लगाएको टुरिष्ट उम्मेद्वारको ट्याग र गुण्डा नाइके कुमार घैँटेको इन्काउन्टर लगायतका कुरा खनाललाई चुनावी गलपासो बनिरहेको छ ।

यो सँगै वैशाखमा सम्पन्न स्थानीय तहको मत परिणामले पनि उनलाई सहज देखाउँदैन । उक्त निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाएको मत नै धेरै छ । त्यतिबेला कांग्रेसका वडाध्यक्षले पाएको मतलाई एकीकृत गर्दा १६ हजार तीन सय ४३ मत हनु आउँछ । त्यस्तै, एमालेका वडाध्यक्षले १४ हजार ३ सय ३ मत ल्याएका थिए ।
त्यस्तै, माओवादीले २ हजार १ सय ३२ मत ल्याएको थियो  । यसपटक गठबन्धन भएकाले पनि कांग्रेस उम्मेदवार प्रधानलाई सहज हुने आँकलन गरिएको छ ।

नवराज सिलवाल

बर्दी छोडेर राजनीतिमा होमिएका अर्का पात्र हुन्, नेपाल प्रहरीका पूर्वडीआईजी नवराज सिलवाल । २०७४ सालमा आईजीपी प्रकरणमा मुद्दा हारे लगत्तै उनले नेपाल प्रहरीबाट राजीनामा दिएका थिए । त्यतिबेला आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग गर्दै डीआईजी सिलवाल सर्वोच्च गएका थिए । तर, सर्वोच्चले सिलवालको रिट खारेज गरेको थियो । योसँगै नेकपा एमालेमा प्रवेश गरेका सिलवाललाई ०७४ को प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट ललितपुर १ मा उम्मेदवार बनायो । गठबन्धनको बलमा सिलवालले संसदको ढोका उघारे ।
उनी यसपाली पुनः संघिय संसदको ढोका खोल्ने दाउका साथ चुनावी प्रतिस्पर्धामा छन् । उनको प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसका उदय शम्सेर राणा छन् । अघिल्लो निर्वाचनमा यिनै राणालाई सिलवालले ६ हजार २ सय २२ मतान्तरले पराजित गरेका थिए ।

तर, सिलवाललाई त्यतिबेलाजस्तो सहज भने छैन । ०७४ को निर्वाचनमा उनलाई सघाएको माओवादी यतिबेला राणाको पक्षमा मत मागिरहेको छ । साथै, एमाले पनि दुई चिरा भएको अवस्थामा एक पक्षले उदयलाई नै विजय गराउन लागिपरेको छ । त्यसैले सिलवालले फेरि संसद छिर्न ठूलै कसरत गर्नुपर्ने देखिन्छ । किनकी यो क्षेत्र माओवादीको समेत राम्रो भोट भएको क्षेत्र हो ।

साथै, स्थानीय निर्वाचनको मत परिणाममा पनि कांग्रेस नै अघि देखिन्छ । ललितपुर १ मा गत स्थानीय चुनावमा कांग्रेसका वडाध्यक्षहरुले २१ हजार ८१ मत प्राप्त गरेका थिए । त्यस्तै, एमालेका उम्मेदवारले १७ हजार तीन सय तीन मत ल्याएका थिए । माओवादीले ५ हजार २ सय ५४ मत ल्याएको थियो  । त्यस्तै, नेकपा समाजवादीले ३ हजार १ सय ९२ मत ल्याएको थियो । यसरी मतलाई एकीकृत गर्दा गठबन्धन धेरै अघि छ । त्यसैले सिलवाललाई यसपाली चुनाव जित्न धेरै गाह्रो पर्ने आँकलन गरिएको छ ।

रमेश खरेल

आइजीपी बन्न नपाएकै झोंकमा नेपाल प्रहरीको डीआइजी पदबाट राजीनामा दिएका रमेश खरेल यतिबला चुनावी दौडमा छन् । तत्कालिन सरकारले सर्वेन्द्र खनाललाई आइजीपीमा नियुक्त गरेसँगै डिआइजीबाट राजीनामा दिएका खरेलले आफ्नो नेतृत्वमा नेपाल सुशासन अभियान सञ्चालन गरे । पछि यसैलाई राजनीतिक दलका रुपमा दर्ता गराए ।
२०४५ सालमा भलिबल खेलाडीको रूपमा नेपाल प्रहरीमा भर्ती भएका खरेल २०४६ साल माघ २९ गते निरीक्षक (इन्स्पेक्टर)को परीक्षा उत्तिर्ण गरी प्रहरी निरीक्षक भएका थिए ।

प्रहरी सेवामा रहँदा स्वच्छ छबि बनाएका खरेल यतिबेला काठमाडौं क्षेत्र नम्बर १ मा चुनावी प्रतिस्पर्धामा छन् । त्यसो त यतिबेला उनी आफ्ना एजेण्डा बाँड्दै मतदाताका घरदैलोमा छन् । खरेलको प्रतिस्पर्धीका रुपमा गठबन्धनबाट कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र स्वतन्त्र उम्मेदवार पुकार बम छन् ।
ने

पाली कांग्रेसको गढको रुपमा चिनिने काठमाडौं १ मा निरन्तर सिंहले डेढ दशकयता आफ्नो विरासत जोगाउँदै आएका छन् । ०७४ को आम निर्वाचनमा सिंहले १० हजार ९ सय ३६ मतसहित तत्कालिन विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रलाई पराजित गरेका थिए । यिनै चर्चित अनुहारहरुको बिचमा मिसिएका खरेलले भने आफ्नो प्रचारशैलीलाई फरक ढंगमा प्रस्तुत गरिरहेका छन् ।

यद्यपि, उनलाई यो क्षेत्रमा जित निकाल्न भने कठिन नै देखिन्छ । एकातिर ‘हेभीवेट’ नेताहरु नै प्रतिस्पर्धामा रहनु र अर्कोतर्फ गठबन्धनका कारण पनि खरेललाई हम्मेहम्मे कै अवस्था छ ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्दा यहाँ कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाएको मत धेरै छ । जहाँ कांग्रेसले ९ हजार ८ सय ९५ मत प्राप्त गरेको थियो । त्यस्तै, दोस्रोमा एमालेका उम्मेदवाहरुले रले ९ हजार ५ सय ४१ मत ल्याएका थिए । यहाँ माओवादीको मत १ हजार १ सय ५९ छ ।

ध्रुवबहादुर प्रधान

नेपाल प्रहरीका पूर्व महानिरीक्षक ध्रुवबहादुर प्रधान पनि चुनावी दौडमा छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नवलपरासी २ मा प्रतिस्पर्धा गर्दैछन् । २०५३ सालमा महानिरीक्षक बनेका प्रधानको प्रतिस्पर्धीका रुपमा कांग्रेसबाट देवेन्द्रराज कँडेल र एमालेबाट दीपेन्द्र अधिकारी छन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट कँडेल विजयी भएका थिए । यसपाली उनलाई गठबन्धनको समेत साथ रहेकाले कँडेललाई थप सहज हुने अनुमान गरिएको छ । यद्यपि, यो क्षेत्र राप्रपाको पनि राम्रो मत रहेको क्षेत्र हो । त्यसैले प्रधानलाई पनि कम आँकल्न भने मिल्दैन ।

स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा यहाँ कांग्रेस नै पहिलो छ । जहाँ कांग्रेसका वडाध्यक्षले पाएको मत २५ हजार ६ सय ८६छ भने नेकपा एमालेले २३ हजार ३ सय ४२ मत ल्याएको थियो । त्यस्तै माओवादीले ९ हजार १ सय ५१ मत ल्याउँदा राप्रपाको मत ८ हजार ८ सय ७८ मत छ । प्रधानको चुनावी लडाइँ भने पहिलो होइन । उनी ०६४ र ०७० को संविधानसभा निर्वाचनमा राप्रपाको तर्फबाट नवलपरासी ४ मा उम्मेदवार बनेका थिए । तर, चुनाव जित्न भने सकेका छैनन् ।

डा. प्रणयशमशेर राणा

बर्दीबाट राजनीतिमा होमिएका अर्का पात्र हुन्– पूर्व सैनिक अधिकृत डा. प्रणय शमशेर राणा । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं– ५ बाट उम्मेद्वारी दिएका राणाले यहाँ कांग्रेसका युवा नेता प्रदीप पौडेल र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

माओवादी द्वन्द्वकालमा नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्ट भएर सात वर्ष काम गरेका राणाले अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा पिएचडी गरेका छन् । अमेरिकाको जनस्वास्थ्यसम्बन्धी काम गर्ने संस्था सिडिसीमा सल्लाहकार भएरसमेत उनले नीति निर्माणको तहमा काम गरिसकेका छन् । अब उनको त्यो अनुभवले काठमाडौं ५ मा कत्तिको प्रभाव पार्छ त्यो भने हेर्न बाँकी नै छ ।

डा. ठाकुरमोहन श्रेष्ठ

सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक डा. ठाकुरमोहन श्रेष्ठ पनि चुनावी मैदानमा छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं– ४ मा प्रतिनिधि सभातर्फ उम्मेदवार बनाएको हो । जहाँ उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका नेता राजन भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन् ।

०७० र ०७४को निर्वाचनमा कांग्रेसका थापाले जित निकालेको क्षेत्र हो,यो । यसपाली प्रत्यक्ष प्रतिस्पर्धामा ह्याट्रिक गर्ने थापाको रणनीति छ । त्यस्तै, एमालेका भट्टराई उनलाई जबर्जस्त रोक्ने योजनामा देखिन्छन् ।

बर्दीपछि राजनीतिमा होमिएका डा. श्रेष्ठ पनि यो क्षेत्रमा चर्चा गरिने नाम हो । यद्यपि, स्थानीय निर्वाचनको मतपरिणामका आधारमा हेर्ने हो भने यहाँ राप्रपाको मत निकै कम छ । यहाँ स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतका आधारमा एमाले थोरै अघि देखिन्छ । जहाँ एमालेका वडाध्यक्षले पाएको मत १६ हजार ५ सय ७ छ भने नेपाली कांग्रेसले १५ हजार ७ सय ६३ मत ल्याएको छ । साथै, राप्रपाको मत २ हजार २ सय ९३ छ भने उता एकीकृत समाजवादीले २ हजार ४ सय १४ मत ल्याउँदा माओवादीले ८ सय ४४ मत प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?