शहर ! म थाकेँ

(अफिसमा त्यस्तो घटना भएपछि परी रन्थनिदै आफ्नो कोठा पुगी । खाना खान मन लागेन । थकान र सुर्ताले घाँटीसम्म आउने गरी अघाएकी थिइ । तर आँखा निन्द्राका भोका थिए । ओछ्यानमा डङ्रङ्ग पल्टिइ । मोबाइलमा इयरफोन घोँची र ओसोको प्रवचन बजाइ । अक्सर राति निन्द्रा नपर्दा ऊ यसै गर्थी । प्रवचन शुरु हुँदा नहुँदै फोनको घण्टी बज्यो । घडी हेरी घण्टाको सुईं १० पारी पुगेको थियो, मिनेटको ४ र ५ को बीचमा अडिएको । स्क्रिनमा ‘बोस’ को नाम ‘फ्लास’ भइरहेको थियो । परी कन्फ्युजनमा परि । यति राति फोन गर्नुको कारण के होला भनेर । अन्तिम घण्टी बज्दानबज्दै फोन उठाइ ।)

‘हेलो सर, नमस्कार ।’

‘परी, तिमी ठीक छौ ?’

‘हजुर सर ।’

‘मसँग दुईवटा खबर छ । राम्रो, नराम्रो । भन पहिला के सुन्छौ ?’

‘खै । उ अल्मिलिइ । 

‘ल त्यसो भए पहिला नराम्रो खबर है ! तिम्रो फाइल कसरी हराएको रैछ सुन्छौ ? सोनियाले तिम्रो डेस्कबाट त्यो फाइल हटाइदिएकी रैछ ।’

उ झसङ्ग भइ ।  बोल्न सकिन । 

उताबाट आवाज आइरह्यो, ‘अब राम्रो..’

‘हँ ! सोनियाले ? लौ न के भन्नुभाको सर ?’ कुरा पूरा हुन नपाइ परी बोली । 

‘पहिला राम्रो खबर सुन न अनि बोल्नु । सोनिया सबैका अगाडि तिमीसँग माफी माग्न तयार छिन् ।’

प्रतिक्रिया दिन उसलाई बडो गाह्रो भयो । र पनि उसले मधुर आवाजमा दुई अक्षर बोली, ‘हस् ।’ 

फोन काटियो । 

‘सुनिता सम्झेर केही गाह्रो प–यो भने मलाई भन है ?’ अफिसको पहिलो दिन सोनियाले बोलेका यी फूलजस्ता शब्द परीलाई काँडासरि बिझाए । 

गाउँकी सोझी परीले ‘मुखमा रामराम बगलीमा छुरा’ भनेको सुनेकी मात्र थिइ । त्यस घटनाले ‘रियल’मा अनुभव पनि गराइदियो ।  

(त्यस रात ओसोले पनि उसका आँखामा निन्द्रा भर्न सकेनन् ।)

***
भोलिपल्ट परी अफिस गइ । 

अफिसका सोफाहरु त्यहीँ थिए जहाँ हिजोअस्ति हुन्थे । तर परीलाई यो सबै डेकुरेसन भद्दा लागिरहेको थियो । उ उकुसमुकुस थिइ । 

उसले टेबलमा फ्यात्त ‘रिजाइन लेटर’ राखी । अनि अस्तव्यस्त पाराले कुर्सीमा अडिइ ।

उसलाई न सोनियाको मुख हेर्नु थियो न त उसको माफी नै खानु थियो । आत्मसम्मानलाई आफ्नो गहना ठान्ने परीले अन्ततः जागिर दाउमा लगाएर आत्मसम्मान जोगाइ । 

तर, ‘सिद्धान्त’ले पेट भर्दैन भनेझैँ कलेज फि देखि आफ्ना लागि चाहिने खर्च आफै जुटाउनुपर्ने भएकाले परीको थाप्लोमा अब अर्को भार थपियो । जागिर खोज्ने प्रेसर । 

त्यस दिन उसका आँखा पत्रिकामा डुलिरहेका थिए, पढिरहेका थिएनन् । अनि हातले सोही अनुसार पृष्ठ पल्टाएका मात्र थिए । यही क्रममा उसका आँखा एउटा पृष्ठमा टक्क अडिए ।

अफिसबाट निस्केर ऊ आफ्नो कोठातिर फर्किंदै थिइ । फेरि कुन्नि के सोची कोठा नपुग्दै आफ्नो बाटो मोडी र रोकिइ ऊ नियमित जाने चिया पसलमा । 

शहर आएपछि यदि कुनै ठाउँ उसको प्रिय भएको थियो भने त्यो त्यही चिया पसल थियो । हरेक दिन चियाको चुस्कीसँगै केही बेर पत्रिका पढ्नु उसको ‘रुटिन’ भइसकेको थियो । 

तर, त्यस दिन उसका आँखा पत्रिकामा डुलिरहेका थिए, पढिरहेका थिएनन् । अनि हातले सोही अनुसार पृष्ठ पल्टाएका मात्र थिए । यही क्रममा उसका आँखा एउटा पृष्ठमा टक्क अडिए ।

जागिरको खोजीमा भौतारिरहेकी परीले ‘कर्मचारीको आवश्यकता’ भनेर विज्ञापन देखी । तलब पनि पहिलाको भन्दा धेरै । अनि कर्मचारीमा आवश्यक योग्यता पनि ठ्याक्कै आफैसँग मिल्ने । उसलाई ढुङ्गा खोज्दा देउता पाएजस्तो भयो । ढिलो गरेर ‘रिस्क’ लिनु थिएन त्यसैले दिइएको नम्बरमा फोन हानी । अन्तर्वार्ताका लागि भोलिपल्टै बोलाइयो । अँध्यारो बादल दगुरिरहेको उसको चेहरा एकाएक उघ्रियो ।

यत्तिकैमा उसको ‘स्पेशल मसाला चिया’ पनि टेबलमा आइपुग्यो । 

‘वाह !’ चियाको बास्ना लिँदै सुरुप्प पारी ।

‘अङ्कल चिया साह्रै मीठो भएछ ।’ ऊ मुस्कुराइ । 

***

भोलिपल्ट परी अन्तर्वार्ताका लागि लैनचौरस्थित अफिस पुगी । अन्तर्वार्ताका लागि खासै मान्छे आएका थिएनन् । २४ वर्ष जतिका एक युवक, ३० वर्ष जतिकी विवाहित महिला अनि ४७ वर्ष जतिको देखिने एक अँधबैसे अन्कल । यी सबैलाई ‘टप टु बटम’ नियाल्दा परीले आफूलाई सबैभन्दा ‘डिजर्भिङ’ देखी ।

मनमनै सोची ‘आहा ! यति थोरै जनामा त मै सेलेक्ट हुन्छु होला ।’

नभन्दै उसको अन्तर्वार्ता राम्रो गयो । फुरुङ्ग हुँदै कोठा पुगी । अनेक आरोह अवरुद्धका दौरान उसले पढाइलाई त भुसुक्कै भुलिसकेकी थिइ । परीक्षा पनि नजिकिँदै थियो । इक्जाममा ‘टप’ गरेर छात्रवृत्ति पाउने योजना बनाएकी परी जुर्मुराइ । 

‘यस्तो पाराले हुँदैन परी । ल पढ्न थाल् ।’ 

केही घण्टा पढेपछि उसका आँखामा टमक्क निन्द्रा भरियो । किताब पन्छाएर सुत्नै लाग्दा मोबाइलको घण्टी बज्यो । 

‘अरे यति राति अपरिचित नम्बरबाट फोन ? होस् उठाउँदिन ।’ तर, धेरै बेर घण्टी बजेपछि अन्ततः परीले फोन रिसिभ गरी ।

‘हेलो’

‘हेलो, प्रमिला शर्मा बोल्नुभाको हो ?’

‘हजुर हो त ।’

‘म तिम्रो नयाँ बोस । तिमी सेलेक्ट भएकी छौ । भोलिबाटै अफिस आउ है ?’

परीको मन ढकमक्क फूलेर आयो । खुसीको सीमा थिएन । यी तीन वाक्य उसका कानमा सुमधुर सङ्गीत झैं गुञ्जिरहे ।

छचल्किएको खुसी सम्हाल्दै भनी ‘ओके सर’ ।

त्यस रात उसले ‘ओसो’को प्रवचन स्कीप गरेर ‘जिन्दगीकी यही  रीत हे, हार के बाद हि जीत हे….  बजाइ ।

***

अर्को दिन, बिहानै कलेज भ्याएर ऊ अफिस पुगी ।

पहिलो दिन उसको मनमा नर्भसनेस, जिज्ञासा, डर सबैको ‘मिक्स्ड इमोसन’ कुस्ती खेलिरहेका थिए । ‘बोस’ को असिस्टेन्टका रुपमा काम गर्नुपर्ने भएकाले पनि ऊ सकेसम्म केही गल्ती नगर्ने कुरामा ध्यान पु-याइरहेकी थिइ । 

पहिलो दिन खासै काम भएन । सरले पनि उसलाई बडो ‘मीठो’ पाराले काम सिकाए ।

परीले सोची ‘सर कति राम्रो मान्छे ।’ उसलाई विस्तारै आफ्नो जीवन सही बाटातर्फ मोडिएको अनुभव भइरहेको थियो । 

अफिसमा काम गर्न थालेको करिब एक हप्ता भइसक्दा पनि अन्य कर्मचारीले उसलाई कर्के नजरले हेर्न छोडेका थिएनन् । मानौं उसले कुनै ठूलै अपराध गरेकी छे र ऊ सबैको शंकाको दायरामा छे ।

केही दिनदेखि परी औधी व्यस्त थिइ । बिहान सबेरै उठेर कलेज जानु, उतैबाट अफिस पुग्नु, दिनभरि अफिसमा काम, साँझमा कोठा फर्किनु, खाना बनाएर खानु, पढ्नु । यसरी नै उसका दिनले कोल्टे फेरिरहेका थिए ।

यद्यपी, यी सबैका बीचमा उसलाई एउटा कुराले ‘सोचमग्न’ बनाइरहेको थियो । अफिसमा काम गर्न थालेको करिब एक हप्ता भइसक्दा पनि अन्य कर्मचारीले उसलाई कर्के नजरले हेर्न छोडेका थिएनन् । मानौं उसले कुनै ठूलै अपराध गरेकी छे र ऊ सबैको शंकाको दायरामा छे ।

‘म नयाँ भएर होला केही दिनमा चिनजान बढ्न थालेपछि सबै ठीक भइहाल्छ नि !’ आफैले आफैलाई सान्त्वना दिइ ।   

परीको इक्जाम नजिकिदै थियो । यो कुरा थाहा पाएका उसका ‘बोस’ले उसलाई केही ढिलो अफिस आउने र अफिसबाट छिट्टै फर्कनेसम्मको छुट दिएका थिए ।

‘इक्जाम टप गरेपछि मलाई पार्टी चाहिन्छ नि ।’ आफ्नो हात परीको काँध वरिपरि राखेर सरले भने ।

परीलाई अलि अप्ठेरो महसुस भयो । यसअघि उसका ‘बोस’ले ढाड सुम्सुम्याउँदै स्याबासी दिने, नजिकै आएर बोल्ने जस्ता क्रियाकलाप ‘नर्मल्ली’ गर्ने भएतापनि काँधमा धाप मारेर राखिरहन चाहिँ भ्याएका थिएनन् । यद्यपी ‘बोस’ले गरेका अनगिन्ती उपकारलाई परीले यही सानो क्रियाकलापको आधारमा बिर्सन चाहिन । 

‘हस् ।’ केही हच्किँदै जवाफ दिइ अनि अफिसबाट बाहिरिइ ।

***

दिन बित्दै गयो तर, उसलाई शंकास्पद नजरले हेर्न भने छोडिएको थिएन । झन् ढिलो अफिस आएर छिट्टै निस्किन थालेपछि त ऊ सबैको ‘दुश्मन’ जतिकै भएकी थिइ । 

एकदिन बबिता दिदीले परीको कानमा सुटुक्क सोधिन्, ‘के पाक्दैछ आजकल बोस र तिम्रो बीचमा ?’ बबिता दिदी अफिसमा सरसफाइको काम गर्थिन् । चिया, कफी बनाउने जिम्मा पनि उनकै भएकाले अफिसमा परी कोहीसँग नजिक थिइ भने त्यो बबिता दिदी नै थिइन् ।

‘हँ ? के भन्न खोज्नु भा ?’ परी झस्किइ । 

‘नाटक किन गर्छौ ? सबैलाई थाहा छ ।’ एउटा आँखा झिम्काउँदै जिस्काएको भावमा बबिता दिदी बोलिन् ।

अफिसमा सबैको ‘शंकास्पद हेराइ’, ऊ हिँडे लगत्तै शुरु हुने कानेखुसी, यतिका दिनसम्म कोही उसको नजिक हुन नचाहनुको रहस्य बल्ल उसको अगाडि छताछुल्ल भयो । 

‘त्यस्तो केही होइन दिदी । आत्मसम्मानको लागि हुँदाखाँदाको जागिर छोडेकी मैले यस्तो हर्कत गर्छु होला ?’ निन्याउरो आवाजमा परीले आफ्नो वकालत गरी । 

अघिल्लो रहस्य खुल्दा त्यति तरङ्गित भएकी थिइन होला ऊ जति बबिता दिदीको यो कुराले भइ । कुरा बुझे जस्तो लाग्यो, फेरि बुझेको कुरा सत्य नहोला जस्तो पनि लाग्यो । वास्तविक कुरा खुट्याउन सकिन । हो–होइन को टसलमा परी चेप्टिइ ।

यो सुनेपछि बबिता दिदी केही बोलिनन्, मात्र यति भनिन्, ‘होसियार । धेरै आए तर, पछि आफैं पन्छिए । विस्तारै थाहा पाउँछौ । बोससँग अलि जोगिनु ।’ 

अघिल्लो रहस्य खुल्दा त्यति तरङ्गित भएकी थिइन होला ऊ जति बबिता दिदीको यो कुराले भइ । कुरा बुझे जस्तो लाग्यो, फेरि बुझेको कुरा सत्य नहोला जस्तो पनि लाग्यो । वास्तविक कुरा खुट्याउन सकिन । हो–होइन को टसलमा परी चेप्टिइ ।

‘बोससँग जोगिनु’ वाक्यले निकै बेर उसको मानसपटलमा ताण्डव गरिरह्यो । 

‘बोस’ले बेलाबेला अङ्कमाल गरिरहनु, कहिले हात, कहिले काँधतिर हात डुलाइरहनु, चाहिने भन्दा बढी आत्मीय र नजिक हुन खोज्नु अब परीलाई अस्वभाविक लाग्न थाल्यो । 

सेतोलाई सेतो, कालोलाई कालो देख्ने परीका इमान्दार आँखाले ‘बोस’को सेतो आवरणमा लुकेको कालो चरित्र पहिल्याउन सकेन । 

पत्रपत्रिका, टिभी, इन्टरनेटमा ‘#मीटू’ अभियानले ठूलै तहल्का मच्चाइरहँदा परीले पनि मीटू भन्न चाही तर, सकिन ।

***

यता परीको पहिलो त्रैमासिक परीक्षा शुरु भयो । त्रैमासिक परीक्षा ‘टप’ गर्नेलाई छात्रवृत्तिको व्यवस्था गरिएको थियो । परी हरहालतमा ‘छात्रवृत्ति’ चाहन्थी । कम्तीमा पढाइ खर्चको बोझ आफ्नो थाप्लोबाट बिसाउन चाहान्थी । 

जागिर खोज्ने क्रममा परीले धेरै दिन पढाइ छुटाउनु परेको थियो । छुटाएका कुरा सिकाउने सहृदयी मित्र पनि कमै थिए उसका । जान्ने विद्यार्थीको लिस्टमा उसको नाम पर्ने भएकाले पनि होला कक्षामा उसले गरेका राम्रा कामहरुमा ‘ताली’ बजाउनेको भन्दा ‘मुख बङ्ग्याउने’को सङ्ख्या बढी थियो ।

यसलाई धेरथोर अनुभव गरेकी थिइ उसले । यी सबैका बावजुत उसलाई परीक्षा ‘टप’ गर्नु थियो । 

त्यसैले मुखै फोडेर उसले सबैसँग ‘नोट्स’ मागी । कसैले दिएनन् । 

‘मैले पनि पढ्नु छ ।’

‘मेरो त नोट्स नै हरायो ।’

‘मैले आफै पूरा गरिसकेकै छैन । सरी ल ।’ सबैले उही ‘रेडिमेड’ बहाना पस्किए ।

के गरौं, कसो गरौं भनेर रन्थनिदै क्यान्टिनमा बसेकी परीलाई कसैले पछाडिबाट कोट्यायो ।

फर्केर हेर्दा हातमा ‘नोट्स’ बोकेर उभिएको थियो ‘पृथ्वी’ । 

‘लेउ तिम्रो समस्याको समाधान ।’ मुस्कुराउँदै पृथ्वीले परीको हातमा नोट्स राखिदियो । यसअघि परी र पृथ्वीले एक अर्कासँग ‘हेलो’ ‘हाइ’ र ‘गुड मर्निङ’ मात्र साटेका थिए । 

त्यसैले परीले पृथ्वीले दिएको समाधान स्वीकार्न आनाकानी गरी । 

‘तिमीले चाहिँ पढ्नुपर्दैन ?’ लिउँ कि नलिउँ हुँदै परीले सोधी ।

‘मैले पढिसकेँ । तिमी यो सबै सारेर फिर्ता गर न । अनि म पछि ‘रिभाइज’ गरौंला ।’ उसले सजिलै जवाफ दियो ।

यसरी पृथ्वीले परीलाई परीक्षाको तयारीमा ‘हेल्प’ ग-यो । परी पनि कलेजमा एउटा ‘असल साथी’ पाएर केही राहत महसुस गरिरहेकी थिइ । 

परीक्षा सकियो ।

एक सातामा रिजल्ट आयो । 

ओहो ! 

उडान भर्न पंख जोडेकी परी फेरी थचारिइ । 

डङ्रङ्ग । 

क्रमश….. 
(कथाको बाँकी अंश अर्को साता प्रकाशन हुनेछ ।) 

कथाको पहिलो भाग : ओ शहर, मलाई तँ सँग डर लाग्छ !

 

 

    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?