अङ्करा । साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्या साउदी अरबकै उच्च तहको संलग्नतामा भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आरोप लगाएका छन् ।
टर्कीस्थित साउदी वाणिज्य दूतावासमा गएका बेला साउदी अरबको उच्च नेतृत्वकै निर्देशनमा खशोग्गीको हत्या भएको उनको दाबी छ ।
टर्कीकी महिलासँग बिहेका लागि आवश्यक कागजात लिन खशोग्गी गत अक्टोबर २ मा वाणिज्य दूतावास जाउका थिए ।
राष्ट्रपति एर्दोगानले पहिलो पटक प्रत्यक्षरूपमा साउदी सरकारलाई खशोग्गीको हत्याको आरोप लगाएका हुन् ।
अमेरिकी पत्रिका द वाशिङटन पोस्टमा प्रकाशित उहाँको एउटा लेखमा भनिएको छ, “हामीलाई थाहा छ खशोग्गीको हत्या गर्ने आदेश साउदी सरकारको उच्च तहबाटै आएको हो ।”
राष्ट्रपति एर्दोगानले खशोग्गीको हत्यामा राजा सलमानको संलग्नता रहेको कुरामा भने आफुलाई विश्वास नलागेको बताएका छन् ।
उनले साउदी अरबसँगको टर्कीको मित्रवत् सम्बन्धमा यही घटनाका कारण असर पर्न नहुनेमा पनि जोड दिएका छन् ।
टर्कीका अनुसन्धानकर्ताले निर्वासित जीवन विताइरहेका पत्रकार खशोग्गी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास गएका बेला घाँटी अठ्याएर हत्या गरिएको दावी गरेका छन् ।
शुरूमा साउदी अरबले ढाकछोप गर्न खोजेको खशोग्गी हत्या प्रकरणले साउदी अरब र अन्य देशको सम्वन्धमा समेत असर पारेको छ ।
खशोग्जीले स्तम्भ लेख्ने गरेको वाशिङटन पोस्टमै लेख लेख्दै एर्दोगानले साउदी अरबमा पक्राउ परेका १८ सन्दिग्धमध्ये नै दोषी भएको दावी गरेका छन् ।
दशकौँसम्म साउदी राजपरिवारको निकट रहेर सरकारको सल्लाहकारका रूपमा पनि काम गरेका पत्रकार खशोग्गीको पछिल्लो समय राजपरिवारसँगको सम्बन्ध विग्रिएको थियो ।
राजपरिवारबाट टाढा भएपछि उहाँले अमेरिकामा निर्वासित जीवन विताउदै वाशिङ्टन पोष्टमा लेख लेख्दै आएका थिए ।
मासिकरुपमा स्तम्भ लेख्न थालेपछि उनले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिको आलोचना गर्ने गरेका थिए । त्यही आलोचक भएकैले उनको हत्या भएको कतिपयको आशंका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया