दियो बनाउने प्रजापति परिवारको कथा

भक्तपुर आफैमा एउटा आँगन हो जहाँ नेवारी संस्कृति ढकमक्क फूलेको छ । यस आँगनमा ‘संस्कृति’रुपी फूलको साखलाई ‘संस्कार’ रुपी मलले जोगाइरहेको छ । यही संस्कारलाई निरन्तरता दिइरहेका छन्, यमन प्रजापति ।

यमन १० वर्षका भए । उनको परिवार भक्तपुरमा माटोबाट बनेका सामाग्री बेच्छन् । ‘माटो’का भाँडा बेच्नु मात्र नभएर बनाउनु पनि उनीहरुको पारिवारिक पेशा हो । यमन पनि अहिले माटोका भाँडा बनाउन सिक्दैछन् जसरी उनका पिताले आफ्ना पिताबाट सानै उमेरमा सिकेका थिए ।

यमन मात्र होइन भक्तपुरको नेवार समुदायमा प्राय हरेक ‘यमन’ले आफ्ना बाबुको पाइला पछ्याउने गरेका छन् ।

हामी पुग्दा यमन आफ्ना साना हातले ‘दियो’लाई आकार दिइरहेका थिए । उनका आकार लिइनसकेका हातले दियोलाई मात्र होइन प्रजापति परिवारको सिंगो संस्कृतिलाई नै आकार दिइरहे जस्तो लाग्यो । 

यमनले पारम्परिक शैलीमा चक्र घुमाएर माटोको दियो बनाइरहँदा, नजिकै बसेका उनका पिता बिनोद प्रजापति बिजुलीबाट चल्ने आधुनिक यन्त्रमा धमाधम दियो बनाइरहेका थिए । बेलाबेला छोरालाई ‘यसो गर्’ भन्दै निर्देशन पनि दिइरहेका थिए । 

पारम्परिक शैलीमा एउटा दियो बनाइसक्दा आधुनिक यन्त्रमा ३ देखि ४ वटा बनाउन भ्याउने भएकाले पनि आफूले यो तरिका आत्मसाथ गरेको उनी बताउँछन् । यद्यपी, आफ्नो छोराले पनि संस्कृति सिकोस् र आफ्ना भावी पिढीलाई पनि सिकाओस् जसरी उनले गरिरहेका छन् र उनका पिताले गरेका थिए भन्ने बिनोदको इच्छा छ । 

बिनोदले यी सबै कुरा भनिरहँदा यमन दङ्ग पर्दै सुनिरहेका थिए । 

‘तिम्रो नाम के हो ?’ हामीले प्रश्न राख्यौं ।

‘जिगू नाम यमन खा ।’ उनले जवाफ फर्काए । नेवारी भाषामा ।

नेवारी भाषा नबुझ्ने सङ्केत गरेपछि उनले फेरि आफ्नो जवाफलाई नेपालीमा अनुवाद गरे ‘मेरो नाम, यमन ।’

बिहानदेखि दियो बनाउन ‘सिक्न’ बसेका उनले ठ्याक्कै १३ वटा दियो बनाउन भ्याएका रहेछन् । हरेक दियो बनाइसकेपछि आफ्नो गणना शुरु गरिहाल्थे । ‘एक, दुई, तीन,…….., तेह्र’ । त्यसो त उनले अघिल्लो वर्षको दशैँतिहारको छुट्टिमै दियो बनाउन ‘सिक्न’ शुरु गरिसकेका थिए । तर, उनको पहिलो प्रयासले राम्रो नतिजा दिन सकेन । स्वभाविक हो ।

‘यो वर्ष चाहिँ धेरै राम्रो बनाइरहेको छ । अर्को वर्ष झनै राम्रो बनाउँछ ।’ मुस्कुराउँदै उनका बुबा बिनोदले भने ।

बिनोदका अनुसार माटोको भाँडा बनाउनु प्रजापतिहरुको पुर्ख्यौली पेशा हो । ‘मैले त यसैलाई आफ्नो व्यवसाय बनाएँ । छोराको सपना अर्कै छ भनेपनि कम्तीमा आफ्नो संस्कार नबिर्सियोस् भन्ने मेरो चाहना हो ।’ बिनोद थप्छन् । 

‘तिमीलाई ठूलो भएर के बन्ने मन छ त ?’ प्रश्न यमनतिर मोडियो ।

‘म त इन्जिनियर बन्ने ।’ झटपट उत्तर आयो ।

यमनले इन्जिनियर बन्ने सपना देखेका छन् । ‘घर बनाउने होइन, कम्प्युटर इन्जिनियर ।’ उनले आफै भने । तर, दियो बनाउन भने उनलाई बडो रमाइलो लाग्छ । 

त्यसैले, होस्टेल बस्ने यमनले अघिल्लो वर्षदेखि दशैँतिहारको छुट्टिमा घर आएका बेला दियो बनाउन सिकिरहेका छन् । 

उनीहरु दियो मात्र नभएर माटोका भाँडा, सजावटका सामाग्री, भगवानका ससाना मूर्तिहरु समेत बनाउने गर्छन्् । बनाएको केही सामान त्यहीँ बेच्छन्, केही अन्य ठाउँमा ‘सप्लाइ’ हुन्छ ।

विदेशी ग्राहकहरुले तिनै बेच्न राखेका सामाग्रीहरुलाई नियालिरहँदा बिनोदले सोधे,‘डु यु वान्ट टु बाइ ? आइ मेड इट माइसेल्फ’ । पसलमै बसिरहेकी यमनकी मम्मीलाई श्रीमान्ले ‘ग्राहकलाई सम्हाल’ भनेको सङ्केत गरेपछि बाहिर आइन् र विदेशीहरुसँग ‘डिल’ गर्न थालिन् । बिनोद पुनः दियो बनाउने काममा फर्किए । 

तिहार नजिकिएकाले पनि उनीहरुलाई दियो बनाउने चटारो छ । ‘बिहानदखि बेलुकासम्म बनाउँदा पनि डिमान्ड पूरा गर्न गाह्रो छ ।’ बिनोदले आफ्नो व्यस्तता दर्साए । 

नपोलेको दियो २ रुपैयाँ र पोलेको दियो ३ रुपैयाँको दरले बेच्दै आएका प्रजापतिले दिनको ८ सयदेखि १ हजारवटा दियो बनाउँदा समेत तयार हुँदा नहुँदै सबै दियो बिकिसक्ने बताए ।

माटोका दियोको बिक्रीमा वृद्धि भएतापनि दियो बनाउने माटो जुटाउन हम्मेहम्मे परेको छ अहिले उनीहरुलाई । भक्तपुरमा मानव वस्तीको चाप र खाली जमिनलाई घडेरीमा परिवर्तन गर्ने क्रमको वृद्धि भएकाले नै माटोको ‘खडेरी’ लागेको बिनोदको गुनासो छ ।

‘अघिल्लो वर्ष ललितपुरबाट माटो ल्याको । यो वर्ष पनि ।’ उनले भने, ‘यही चाल हो भने कुन दिनदेखि ललितपुरमा पनि माटो पाइदैन ।’ 

यता बाबुले गुनासो पोखिरहँदा यमन भने आफ्ना १३ वटा दियोलाई तल, माथि, दायाँ, बायाँबाट बारबार गन्नमा व्यस्त थिए । आफूले बनाएको तेह्र वटा ‘पर्फेक्ट’ दियो हेरेर उनी दङ्ग छन् । उनलाई थाहा छ यसपालि उनले बनाएको दियोले कसै न कसैको घर उज्यालो बनाउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?