फूलको चाड तिहार, माला बेचेर डेढ लाख कमाउने बिमला

तिहार, उत्साह र उमंगको पर्व । झिलिमिलि बत्ति, सिंगारिएका घरहरु । 

यतिबेला देउसी भैलोको कुरा हुन्छ, सेलरोटिका कुरा हुन्छन् । दाजु र बहिनीको मायाको कुरा हुन्छ । यस्तै तिहारमा कुरा हुने अर्को विषय हो, फूलको व्यापार ।

विमला श्रेष्ठले पुष्प व्यवसाय शुरु गरेको २० वर्ष भयो । नागार्जुन नगरपालिकाको इचंगुनारायणमा फूलको खेती शुरु गर्दा आफ्नै सानो जग्गामा भएपनि पछिल्लो समय भने उनले जग्गा भाडा लिएर पनि फूलको खेती गर्दै आएकी छिन् । 

पहिलो वर्षबाटै फूल व्यवसायबाट राम्रो आम्दानी भएपछि अर्को वर्ष भने उनले विरुवा थपिन् । त्यसपछि उनले क्रमिक रुपले व्यावसायिक फूल खेती विस्तार गरिन् । यस वर्षको तिहारलाई लक्षित गर्दै उनले हजारौ बोट सयपत्री, मखमलि र थुङ्गेफूल लगाएकी छिन् । 

साउन भदौ तिर रोपेको विरुवा तिहार पछि भएकाले तिहार आउनुअघि नै अहिले बारीमा ढकमक्क फूल्यो, विमलाले भनिन् ।  

यस वर्षको तिहारमा फूल बिक्रिबाट यति नै आम्दानी हुन्छ भन्ने अड्कल त उनीसँग छैन तर बर्षमा उनको डेढ लाख भन्दा बढिको आम्दानी गर्न उनको लक्ष्य रहेको छ ।  

लाउरे, एकान्ते, पुतलि, तारा, असर्फी, सुपारी उनले लगाउने गरेको फूलको नाम हो । तिहारको बेलामा धेरै फूलहरु हुने भएकाले यस समयमा फूलहरुले बजार भाउ पाउछन् तर सस्तोमा उनको आफ्नै कथा छ ।  धेरै फूलहरु हुने भएकाले मालीहरु आफैँले भाउ निर्धारण गर्ने गरेका उनको भनाइ छ । 

“धेरै भएको बेलामा आफैले भाउ तोक्ने कुरा नै भएन । फेरी पछिको अफ सिजनमा हामीलाई फूल बिकाउन मर्का पर्छ  । उनीहरुले जति भन्छन् हामी त त्यती मा नै दिन्छौं ।” 

लाउरे फूल घाम लाग्ने बितिकै ओइलाउने भएकाले पनि बिहानै बेचिसक्नु पर्ने उनको बाध्यता छ । असार साउनको बेलामा धेरै फूलहरु कुहिने र फल्नु पर्ने भएकाले पनि त्यसबेला व्यापार खासै हुने नगरेको उनको भनाइ छ ।  

जरा भएको फूलको बिरुवा किन्दा ५० रुपैँया पर्छ भने कलमीको ३० रुपैँया पर्छ । तर धेरै बोटहरु रोप्नु पर्ने भएकाले पनि घरमा नै बिरुवा राख्न सक्यो भने फाईदा हुने उनी बताउँछिन् । 
पुष्प व्यवसायीको नेपालमा धेरै सम्भावना भएको उनको आँकलन छ  । फूलको लागि चाहिने अनुकुल वातावरण भएकालेपनि फूल व्यवसायबाट भविष्यमा राम्रो हुन उनको अनुमान छ ।  

फूल व्यवसाय गर्नु भन्दा अगाडि मौसमबारे ज्ञान हुनु आवश्यक छ । हुन त हरेक पेशा गाहे हुन्छ तर धैर्य टुट्नु हुदँैन । उनी थप्छिन्, तालीम भने पल्स पोइन्ट हुन्छ । 

“तिहारको बेलामा बढी फूल उत्पादन हुने गरेको छ । बिहानै बिक्री भयो भने भयो नत्र भने फल्नै पर्ने हुन्छ । महानगरपालिकाले राख्न नदिने भएकाले पनि बिकाउन सकिँदैन् ।” उनले गुनासो पोखिन् ।

बारीमा उत्पादन भएको फूलको प्रतिथुङ्गा पाँच र एउटा मालाको ५० देखि १०० सम्म बिक्री हुन्छ । महङ्गो बीउ, जनशक्ति अभाव र आवश्यकता अनुसारको प्राविधिक सहयोग प्राप्त हुन नसक्दा उत्पादनको लागत बढी हुने गरेको विमलाले बताइन् । 

सरकारले सर्वसुलभ रुपमा बीउ, मल र प्रविधि उपलब्ध गराएर यस पेशामा आबद्ध कृषकलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ ।

पुष्प व्यवसाय नेपालमा विस्तारै फस्टाउँदैछ । नेपालमा धेरैजसो कार्यक्रममा फूल नभई हुँदैन । चाहे सुख होस् वा दुख हरेक कार्यका लागि फूल चाहिन्छ । उद्घाटन होस्, खुसी व्यक्त गर्न होस् वा नयाँ जीवनको सुरुवात फूलको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले पनि फूल व्यवसायीहरुलाई प्रत्साहन गर्नु सरकारको दायित्व हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?